Skip This
संखुवासभामा निर्मित २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ११ सोमबार १३:o९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

संखुवासभामा निर्मित २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार १३:o९:oo

कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ।

नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ। 

आयोजनाअन्तर्गत नै सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन्। सबस्टेसनहरू निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग २०७५ को असारमा दुई करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भयो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र गरिरहेका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रूपमा पूर्वाधार तयार भएको बताए। 

‘प्रसारणलाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजनाहरू निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनुपर्ने अवस्था छ,’ कार्यकारी निर्देशक घिसिङले भने।

वसन्तपुर सबस्टेसनमा तुम्लिङटार र ताप्लेजुङको ढुंगेसाँघु सबस्टेसनबाट विद्युत् आउनेछ। वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ।

वसन्तपुरबाट बानेश्वर हुँदै तुम्लिङटारसम्म करिब ३० किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइनको एउटा सर्किट निर्माण सम्पन्न भइसकेको छ। इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारणलाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ। डबल सर्किट टावर निर्माण गरिएको छ भने हाल सिंगल सर्किट तार मात्र तानी लाइन सञ्चालनमा ल्याइएको छ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारणलाइनको निर्माण गरिएको हो।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी  करिडोर २२० केभी प्रसारणलाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ। कोशी प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो।

कोशी करिडोरअन्तर्गत वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड प्रसारणलाइन र ढुंगेसाँघुमा १३२ केभी सबस्टेसन निर्माणाधीन छन्। करिब ३४ किलोमिटर डबल सर्किट प्रसारणलाइनमा पर्ने एक सय २८ वटा टावरमध्ये ६ वटाको मात्र निर्माण बाँकी छ। 

एउटा सर्किटको २६ किलोमिटर तार तानिएको प्रसारणलाइन आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ। वसन्तपुर–ढुंगेसाँघु २२० प्रसारण लाइनको अर्को सर्किट निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ। नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको उक्त काम आगामी फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

ढुंगेसाँघु सबस्टेसनको निर्माण ९५ प्रतिशत सकिएको छ। उक्त प्रसारणलाइनमा ताप्लेजुङमा निर्माणको अन्तिम चरणमा रहेका ७३–७३ मेगावाटका मध्यतमोर र मध्यमेवाखोला जलविद्युत् आयोजनाहरू जोडिनेछन्।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारणलाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंक दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो। एक्जिम बैंकबाट आयोजनाका लागि नाै करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ।

कोशी करिडोर प्रसारणलाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार  मेगावाट, ढुंगेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ। कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारणलाइन हो।