Skip This
त्रिदेशीय सडकखण्डको महाबु क्षेत्र अस्तव्यस्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर ११ सोमबार ११:१३:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

त्रिदेशीय सडकखण्डको महाबु क्षेत्र अस्तव्यस्त

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार ११:१३:oo

त्रिदेशीय सडकअन्तर्गत दैलेख–महाबु ४० किलोमिटर सडकखण्डको काम समयमै नसकिएपछि महाबुखण्ड अस्तव्यस्त बनेको छ । सडक निर्माणको जिम्मेवारी लिएका सातवटा निर्माण कम्पनीमध्ये एउटाले मात्रै प्रभावकारी काम गरेको छ । अन्य चार कम्पनीले ४५ प्रतिशत र दुई कम्पनीले कामै नगरेपछि रणनीतिक महत्वको सडक अस्तव्यस्त बनेको हो । सडक अस्तव्यस्त भएपछि महत्वपूर्ण धार्मिकस्थल महाबुधाम जाने पर्यटकलाई समेत समस्या उत्पन्न भएको छ । 

पहिलो खण्डका रूपमा रहेको काँडाचौरदेखि भैँसेखोरसम्मको सडक विस्तारका लागि तीन वर्षअघि निवर्तमान सांसद रवीन्द्रराज शर्माले आफ्नो निर्वाचन क्षेत्र विकासको ६ करोड रकम सडक निर्माणमा लगाए, नारायण नगरपालिकाले ठेक्का खोल्यो, तर निर्माण कम्पनीले काम नगरेपछि रकम फ्रिज भयो । नगरपालिकाले ठेक्का तोड्न नसकेका कारण नयाँ ठेक्का लगाउने बाटो पनि रोकिएको छ । सडकमा निर्माण भएका संरचनासमेत बिग्रको अवस्थामा छन् । 

अहिले खुर्सानीबारीदेखि माथि एक किमि र भैँसीखोरअगाडिको एक किलोमिटर खण्डमा कालोपत्रेका लागि आजीवन जिटिपिएस् जेबी सुर्खेतले जिम्मेवारी पाएका छन् । ४० प्रतिशत काम सम्पन्न भएको सडक विभाग सुर्खेतले जानकारी दिएको छ । बाँकी कामको एक किमि कालोपत्रेका लागि ६ करोड ५३ लाखमा सम्झौता भई काम सुरु भएको छ । 

भैँसीखोरदेखि भवानी गेटसम्म पाँच किलोमिटर क्षेत्र कालोपत्रेको जिम्मा लिएको कश्यप निर्माण एन्ड सप्लायर्सले भने काम अस्तव्यस्त बनाएको छ । ०७९ चैतसम्म कालोपत्रे सक्नुपर्ने गरी पाँच करोड ५८ लाखमा उक्त ठेक्का सम्झौता भएको थियो । समयमै काम नहुँदा सडकमा थुपारिएका ढुंगा र गिटीसमेत यत्रतत्र छन् भने ग्राभेल पनि उप्किने अवस्थामा पुगेको छ । 

निर्माण कम्पनीले विभिन्न बहाना बनाएर काम नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले लगातार पत्राचार गरेको र अटेर गरेका कारण बैंकको धरौटी रकम सडक विभागको खातामा तान्ने र ठेक्का तोड्ने तयारीमा पुगेको सडक डिभिजन सुर्खेतका इन्जिनियर सुरेन्द्र सिंहले जानकारी दिए । भवानी गेटदेखि ओखरवाससम्मका विभिन्न तीन खण्डमा तिरुपाते लालशुभम मेनरो जेभीले काम लिएको छ ।

सम्झौताअनुसार सडक स्तरोन्नति, नाली, ग्राभेल, वाललगायतका काम प्रभावकारी रूपमा अगाडि बढाउन विभागले लगातार अनुगमन र ताकेता गरिरहेको छ । एउटा खण्डमा ७८ प्रतिशत र अरू खण्डमा ४५ प्रतिशत काम सम्पन्न भएको विभागले जनाएको छ । तीनवटा खण्डको १५ करोडको ठेक्का ५० प्रतिशत घटेर निर्माण कम्पनीले जिम्मा लिएको थियो । पहिलो प्याकेजको काम सम्पन्न गरेको कम्पनीलाई दोस्रो र तेस्रो प्याकेज सम्पन्न गर्न असार मसान्तसम्म म्याद थप गरिएको थियो । तर, मंसिर लागिसक्दा पनि काम पूरा हुन सकेको छैन । निकै कडा चट्टानहरू, केही स्थानमा स्थानीयको अवरोधलगायत समस्याले काममा ढिलाइ भएको कम्पनीको भनाइ छ । 

ओखरवासदेखि उनपाटासम्म सडकको जिम्मा लिएको काष्ठमण्डप एनएस बिल्डर्स जेबीले तोकिएको समयमा काम सकेको छैन । हालसम्म १० प्रतिशत मात्र काम भएको सडक डिभिजनले जानकारी दिएको छ । पाँच करोडको ठेक्का लागत अनुमान गरिए पनि निर्माण कम्पनीले दुई करोड ५३ लाखमा घटेर काम लिएको थियो । उनीपाटादेखि महाबुसम्म कामको जिम्मा लिएको आजीवन जिटिएनएस जेभी सुर्खेतले लिएको कामको जिम्मा पनि सन्तोषजनक हुन सकेको छैन ।

७ करोड ९६ लाखमा ठेक्का सम्झौता गरिएको भए पनि भनेबमोजिम काम हुन नसकेपछि सडक डिभिजन सुर्खेतले ताकेता गरिरहेको छ । महाबु खण्डका धेरैजसो स्थानमा कडा चट्टान र वन क्षेत्रमा स्थानीयको अवरोधले काम गर्न नसकिएको निर्माण कम्पनीले जानकारी दिएको छ । 

सडक डिभिजन सुर्खेतका निमित्त प्रमुख खुमबहादुर भण्डारीले कतिपय सडकखण्डमा बजार र बस्ती परेको, कतिपय स्थानहरूमा खानेपानीको पाइप व्यवस्थापनमा चुनौती देखिएको, केही वन क्षेत्रमा समस्या भएको भन्दै निर्माण कम्पनीहरूले निवेदन दिएको बताउँदै रणनीतिक महत्वको सडकको काममा सहजीकरण गरिदिन स्थानीय प्रशासन, पालिका प्रमुखहरूले महत्वपूर्ण भूमिका खेल्न सके छिटो–छरितो काम हुने बताएका छन् । कार्यालयको तर्फबाट बारम्बार ताकेता गरेका छौँ, काम नगरेका निर्माण कम्पनीलाई कालोसूचीमा राख्नेसम्मको चेतावनी दिएर पत्राचार गरेको भण्डारीले जानकारी दिएका छन् ।