
डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य क्षेत्रमा विकृति निम्त्याएको आरोप लगाउँदै राजीनामा माग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले मन्त्री बस्नेत माफियाहरूका नाइके भएको आरोप लगाएका छन् । ऐनविपरीत सञ्चालित शिक्षालयहरूलाई दण्डित गर्नुको मन्त्रीले नै संरक्षण र सम्बन्धन दिएको केसीको विज्ञप्तिमा उल्लेख छ ।
‘स्वास्थ्यमन्त्रीको हैसियतले यी चुनौतीहरूको सम्बोधन गर्नु परम् कर्तव्य बन्थ्यो, तर मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टटा ऐनविपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो,’ उनले भनेका छन्, ‘पद सम्हालेयता स्वास्थ्यमन्त्रीले मर्यादाविपरीतका क्रियाकलाप गर्दै आइरहेका छन्, सुरुदेखि नै स्वास्थ्यमन्त्रीले माफियाहरूको पक्षमा नग्न रूपमा नै वकालत गर्दै आइरहेका छन् र सम्बन्धित सरकारी निकायहरूलाई खुला रूपमा दबाब र धम्की दिइरहेका छन् ।’
शनिबार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डा. केसीलाई केही गिरोहले चलाइरहेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा केसीले नर्सिङ तथा स्वास्थ्यसम्बन्धी विषयमा जनमानसमा गलत धारणा स्थापित गर्न मन्त्रीले माफियाको तर्फबाट नयाँ प्रयास गरेको दाबी गरेका छन् ।