
सरकारले आइतबारदेखि ११ वटा दु्रतबस थप गर्ने भने पनि यातायात व्यवसायीले पाँचवटा मात्रै सञ्चालन गरेका छन् । ३ असोज (संविधान दिवस)देखि सञ्चालन हुँदै आएका २५ र थप पाँच गरी आइतबारदेखि ३० वटा द्रुतबस गुड्न थालेका छन् । हाल सूर्यविनायकदेखि रत्नपार्कसम्म दुईतर्फी रूपमा बिहान र साँझ पिक आवरमा द्रुतबस सञ्चालन भइरहेको छ ।
यसअघि यातायात व्यवस्था विभागले आइतबारदेखि ११ वटा थपेर ३६ वटा बसमार्फत नियमित सेवा दिने जनाएको थियो । तर, सरकारको योजनाअनुसार यातायात व्यवसायीले पर्याप्त बस सञ्चालन नगर्दा आइतबार थोरै बस गुडेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए । उनका अनुसार सोमबारदेखि व्यवसायीले ३६ वटै बस सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘यातायात व्यवसायीले मानेसम्म द्रुतबस संख्या बढाउँदै लैजान्छौँ,’ उनले भने, ‘आइतबार पनि सबै स्टेक होल्डरसँग छलफल गरेका छौँ, सोमबारदेखि थप व्यवस्थित हुन्छ ।’
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग समन्वय गरी आइतबारदेखि बस थप गर्न र समयसमेत परिवर्तन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको थियो । तर, विभागले व्यवसायीलाई अनुरोध गरे पनि पाँचवटा बस मात्रै थप गरेका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले व्यवसायीले सरकारले भनेअनुसारकै संख्यामा द्रुतबस सञ्चालन गर्न तयार रहेको बताउँदै ट्राफिक व्यवस्थापन र सडक पूर्वाधार सहज बनाउनुपर्ने बताए । ‘हामीसँग गाडी छन्, भनेअनुसार गाडी थप्छौँ पनि, तर ट्राफिक समस्या नहोस्,’ उनले भने, ‘द्रुतबस सेवालाई सहज बनाउन सरकारले आममानिसलाई सुसूचित गर्नुपर्छ, यसबारे बुझाउन सक्नुपर्छ ।’
सञ्चालन समय पनि परिवर्तन
आइतबार थपिएका सहित सबै दु्रतबसलाई बिहान ८:३० बजेदेखि नै गुड्न समय तोकिएको छ । अब बिहान ८:३० मै सूर्यविनायकबाट द्रुतबस छुटने्छन् । यसअघि बिहान ९ बजेदेखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुँदै आएका थिए । विभागले साँझको समयसमेत परिवर्तन गरी दिउँसो ३:३० देखि ५:३० सम्म दु्रतबस सञ्चालनको समय तोकेको छ । बिहान ९–११ र बेलुकी ४–६ बजेसम्मको समय व्यावहारिक नभएको र धेरै यात्रु दु्रतबस चढ्नबाट वञ्चित हुने अवस्था आएको भन्दै विभागले समय परिवर्तन गरेको हो । दसैँ, तिहार र छठजस्ता पर्वमा भने दु्रतबस सेवामा केही सुस्तता आएको थियो ।