हाम्रो समाजमा तीर्थयात्राको निकै ठूलो महत्व छ । पहिले–पहिले यस्तो यात्रामा जान निकै कठिन थियो । अधिकांश तीर्थयात्रा पैदलै गर्नुपर्ने बाध्यता थियो । थोरै–थोरै यात्रापछि नै विश्राम गर्नुपर्ने हुन्थ्यो । अनेक प्रकारका मानिससित भेटघाट हुन्थ्यो । अनेक भाषा, विविध रीतिरिवाजको अनुभव लिन पाइन्थ्यो । विविधतामय समाज देख्न पाइन्थ्यो । अनेकौँ कठिनाइसित पनि जुध्नुपर्ने हुन्थ्यो ।
धेरैअघि तीर्थयात्रामा निस्कन लागेका केही मानिस आफ्नो सहरका एक विख्यात सन्तकहाँ पुगे । उनीहरूले सन्तलाई पनि आफूहरूसँगै तीर्थयात्रामा जान अनुरोध गरे । सन्तले आफ्नो असमर्थता देखाउँदै उनीहरूलाई एउटा तीतो स्वादको फर्सी दिँदै भने– माफ गर्नुहोला, कामविशेषले गर्दा म हजुरहरूसँग यो तीर्थयात्रामा सरिक हुन सकिनँ । तपाईंहरू यो फर्सी लिएर जानुहोस् र जहाँ–जहाँ स्नान गर्नुहुनेछ, त्यहाँ–त्यहाँ यसलाई पनि स्नान गराइदिनुहोस् । तीर्थस्थलमा ईश्वरको दर्शन पनि गराइदिनुहोस् । र, फर्किँदा साथमै ल्याउनुहोस् । तीर्थयात्रीले सन्तको अनुरोध स्विकारेर फर्सी साथमा लिएर तीर्थयात्रामा निस्किए । उनीहरूले आफूले जहाँ–जहाँ स्नान गरे, त्यहाँ–त्यहाँ फर्सीलाई पनि स्नान गराइदिए । मन्दिरमा पनि दर्शन गराए ।
यस्तो गर्दागर्दै उनीहरूको तीर्थयात्रा पूरा भयो । सबै घर फर्किए । उनीहरूले सन्तको फर्सी सकुशल फिर्ता गरे । सन्तले सबै तीर्थयात्रीलाई धन्यवाद दिँदै अर्को दिन आफ्नो आश्रममा प्रीतिभोजका लागि सबैलाई आमन्त्रित गरे । सन्तको आमन्त्रण स्विकार्दै तीर्थयात्री भोलिपल्ट निर्धारित समयमा प्रीतिभोजका लागि सन्तको आश्रममा पुगे । सबैलाई श्रद्धापूर्वक भोजन अर्पण गरियो । भोजमा अन्य परिकारका साथमा तीर्थयात्रामा लगिएको फर्सीको तरकारी पनि सामेल थियो । सबै तीर्थयात्रीले भोजन सुरु गरे । फर्सीको तरकारी मुखमा हाल्नासाथ सबैले एकै स्वरमा भने– ओहो ! फर्सीको तरकारी त कस्तो तीतो रहेछ ।
सन्तले अचम्म मानेजस्तो गर्दै भने– हँ, फर्सीको तरकारी तीतो छ रे ! यो त त्यही तीर्थ स्नान र दर्शन गरेर आएको फर्सीको तरकारी हो । तीर्थाटनपूर्व त यो साँच्चै तीतो थियो । तर के तीर्थाटनपछि त्यो तीतो हराएनछ ? सन्तको प्रश्नले सबै तीर्थयात्रीका आँखा खुले । उनीहरूले मनको मैलो तथा विकार सफा नगरी तीर्थयात्रा गर्नुको कुनै अर्थ रहेनछ भन्ने बुझे ।