१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Friday, 09 May, 2025
२o८o मङ्सिर १० आइतबार २१:४४:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

हमासका ब्रिगेड कमान्डरसहित अन्य तीन सैनिक नेताको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार २१:४४:oo

हमासको सैन्य शाखाले इस्लामिक आन्दोलनविरुद्ध इजरायलले गरेको आक्रमणका क्रममा उत्तरी ब्रिगेडका कमान्डर अहमद अल–घान्डोर र अन्य तीन वरिष्ठ नेताको मृत्यु भएको आइतबार जनाएको छ।

इजेदिन अल–कासम ब्रिगेडले एक विज्ञप्ति जारी गर्दै आफ्नो सैन्य परिषद्का सदस्य घान्डोर, अयमान सियाम र अन्य एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ। घान्डोर हमासका शीर्ष कमान्डर थिए, जसले उत्तरी गाजा ब्रिगेडको नेतृत्व गरेका थिए र उनी यसको सैन्य परिषद्को हिस्सा थिए।

विज्ञप्तिमा भनिएको छ, ‘हामी अल्लाहसँग प्रतिज्ञा गर्दछौँ, हामी मृतक नेताहरूको अभियानलाई निरन्तरता दिनेछौँ। उनीहरूको रगत मुजाहिदिनका लागि ज्योति र कब्जा गर्नेहरूका लागि आगो हुनेछ।’

गत साता इजरायली सेनाका एक वरिष्ठ अधिकारीले सेनाले हमासका ‘५० भन्दा बढी’ कमान्डरलाई मारेको र यसले सैन्य शाखाको क्षमतामा ‘महत्त्वपूर्ण’ क्षति पुर्‍याएको बताएका थिए।

घान्डोर दुईपटकसम्म इजरायली जेलमा कैदी जीवन बिताएका थिए भने वर्तमान युद्धको समयमा इजरायली हवाई आक्रमणमा परी उनले आफ्ना दुई छोरालाई गुमाएका थिए। 

सन् २०१४ को युद्धका क्रममा इजरायलमा रकेट प्रहार गरेको आरोपमा सेनाले उनको घर भत्काएको थियो र त्यसको एक वर्षपछि इजरायलको एक गैरसरकारी संस्थाले उक्त द्वन्द्वका क्रममा युद्ध अपराध गरेको अभियोगमा उनको नाममा मुद्दा दायर गरेको थियो।

सन् २०१७ मा अमेरिकी आर्थिक प्रतिबन्धको कालोसूचीमा रहेका घान्डोरलाई ‘विश्वव्यापी आतंकवादी’को सूचीमा राखिएको थियो।

अमेरिकी विदेश मन्त्रालयले त्यति वेला उनी हमासको राजनीतिक ब्युरोको सदस्य हुनुका साथै गाजा, वेस्ट बैंक र विदेशका आफ्ना नेताहरूलाई समूहबद्ध गर्ने लडाकु समूहको ‘सुरा काउन्सिल’मा रहेको बताएको थियो।

सन् २००६ मा केरेम सालोम सीमा क्षेत्रमा रहेको इजरायली सैन्य चौकीमा भएको आक्रमणमा दुई सैनिकको मृत्यु हुनुका साथै अन्य चारजना घाइते भएका थिए। 

उक्त आक्रमणको परिणामस्वरूप इजरायली सैनिक गिलाद सालितको अपहरण भयो, जसलाई हमासले पाँच वर्षसम्म हिरासतमा राखेको थियो र सन् २०११ मा एक हजार २७ प्यालेस्टिनी कैदीहरूको बदलामा रिहा गरिएको थियो।

अक्टोबर ७ मा सुरु भएको गाजा युद्ध हमास लडाकुहरूले दक्षिणी इजरायलमा एक्कासि आक्रमण गरेपछि सुरु भएको थियो। यस युद्धमा एक हजार २०० मानिसहरूको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण मानिस थिए। 

गाजाका हमास शासकहरूले हालैको इजरायली आक्रमणमा करिब १५ हजार मानिसहरूको ज्यान लिएको र त्यसमा अधिकांश सर्वसाधारणको मृत्यु भएको बताएका छन्। (एजेन्सीकाे सहयाेगमा)