१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० मङ्सिर ७ बिहीबार ११:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लमजुङमा उत्पादित आलुको बजार निश्चित

Read Time : < 1 मिनेट
२०८० मङ्सिर ७ बिहीबार ११:३९:००

लमजुङमा उत्पादन भएको आलुले बजार पाउने निश्चित भएको छ । जिल्लामा उत्पादन भएको आलु सीधै उद्योगमा बेच्नका लागि सम्झौता गरिएपछि कृषकलाई बजार समस्या नहुने भएको हो ।कृषि ज्ञान केन्द्र लमजुङले आलु उत्पादन गर्ने किसान र आलुचिप्स उत्पादन गर्ने कम्पनी भैरहवाको फस्र्ट च्वाइस फुड प्रालिबीच किनबेचको सम्झौता गरेको छ ।

आलु उत्पादन गरी सीधै बिक्री हुने भएपछि किसानहरू खुसी भएका छन् । हिउँदयाममा आलु धेरै उत्पादन हुने हुँदा किसानलाई बजारको समस्या हुने र बजारमा बिक्री भए पनि कम मूल्य पाउने समस्या भएकाले उत्पादित आलु सीधै कम्पनीमा बेच्नका लागि पहल गरेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले बताए ।

सम्झौतामा हिउँदे आलु उत्पादन भएपश्चात् कम्पनी आफैँले गाडी ल्याएर लैजाने र प्रतिकिलो न्यूनतम २० रुपैयाँ दिने सम्झौता भएको छ । उक्त समयमा बजारमूल्य बढी भएमा केही रकम थप गर्ने पनि उल्लेख गरिएको प्रमुख खतिवडाले बताए । लमजुङको राइनास नगरपालिका वडा नम्बर ३, ४ र ६ , मध्य नेपाल नगरपालिकाको वडा नम्बर १० र ४ र सुन्दरबजारको १० वडाका आठवटा कृषक समूहसगँ सम्झौता भएको छ ।

गण्डकी प्रदेश सरकारको समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत यो वर्ष लमजुङ जिल्लाको ५० हेक्टर अर्थात् एक हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिनेछ । जसका लागि एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्रका प्रमुख खतिवडाको भनाइ छ ।

ज्ञान केन्द्रले बिउ खरिद र यन्त्र उपकरणका लागि ७५–७५ प्रतिशत, सिँचाइ पूर्वाधार र बजारीकरणका लागि ८५–८५ प्रतिशत र ढुवानीका लागि ५० प्रतिशत गरी जम्मा ५० देखि ८५ प्रतिशतसम्म सहयोग गर्ने भएको छ । समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत यो वर्ष जिल्लामा वार्षिक आठ सय मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको छ ।