१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

लुम्बिनी प्रादेशिक महोत्सवको तयारी पूरा

विमानस्थल नियमित संचालनका लागि दबाब दिन विमानको झल्को दिने प्रवेशद्वार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o५:oo

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा मंसिर ६ देखि भैरहवामा हुन लागेको छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव– २०८० (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन)को तयारी पूरा भएको छ।

‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्द्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बचाऔँ’ भन्ने नाराका साथ सिद्धार्थनगर– ८ स्थित अञ्चलपुरमा महोत्सव हुँदै छ।

महोत्सवको करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए। महोत्सव अवलोकन गर्न आउने दर्शकलाई प्रवेश शुल्कबापत ८० रुपैयाँ, विद्यार्थीलाई ५० रुपैयाँ र समूहमा आउने विद्यार्थीलाई ३० रुपैयाँ तोकिएको अध्यक्ष श्रेष्ठले जनाए।

शनिबार र सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था रहेको उनको भनाइ छ। त्यस्तै, परिचयपत्रको आधारमा ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तहरूका लागि महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ।

उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक अनिलकुमार ज्ञवालीले उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए।

सरकारलाई दबाब दिन  विमानको झल्को दिने प्रवेशद्वार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि दबाब दिन महोत्सवमा  विमानको झल्को दिने प्रवेशद्वार निर्माण गरिएको छ।

सरकारले अर्बाैँ खर्च गरेर बनाएको गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल उद्घाटन भएको लामो सयम बितिसक्दा पनि नियमित सञ्चालनमा आउन नसकेपछि भैरहवाका उद्योगी–व्यवसायीले महोत्सवस्थलको प्रवेशद्वार नै  विमानको झल्को दिने गरी बनाएको संगठनका पूर्वअध्यक्ष नारायण भण्डारीले बताए। ‘हामीले सरकारलाई दबाब दिन भद्र आन्दोलन गरेका हौँ,’ भण्डारीले भने। 

आयोजकले करिब पाँच लाख रुपैयाँ खर्च गरेर विमानकोस्वरूप भएको गेट निर्माण गरेको हो। महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ।

स्थायी संरचना नहुँदा हरेक वर्ष अस्थायी संरचनामा लाखौँ खर्च
जिल्लामा हरेक वर्षहरूमा लाग्ने मेला–महोत्सवमा लाखौँ खर्च गरेर अस्थायी संरचनाहरू निर्माण गरिँदा ठूलो नोक्सान हुने गरेको व्यवसायीको भनाइ छ।

स्थायी मण्डप नभएकै कारण महोत्सवका लागि अस्थायी संरचना निर्माण गर्नुपरेको संगठनका पूर्वअध्यक्ष नारायण भण्डारीले बताए। सरकारले मेला–महोत्सवका लागि जग्गा उपलब्ध नगराउँदा निजी जग्गामा अस्थायी संरचना निर्माणमा मात्रै ३५ लाखभन्दा बढी रकम खर्चिनुपरेको भण्डारीले बताए। भैरहवामा हुने मेला–महोत्सवका लागि भैलोभुज परियोजनाका जग्गाहरू भए पनि सरकारले चासो नदिँदा व्यक्तिको निजी जग्गामा मेला–महोत्सव गर्न बाध्य हुनुपरेको उनले बताए।

अहिले देशमा आर्थिक मन्दी हुँदा केही भए पनि आर्थिक चलायमान होस् भन्ने उद्देश्यले मेला–महोत्सव आयोजना गर्न लागेको संगठनका निवर्तमान अध्यक्ष अनिल ज्ञवालीले बताए। ‘महोत्सव लगाउनुको उद्देश्य स्थानीय उत्पादनलाई बजारीकरण गर्नु र उपभोक्तासम्म पुर्‍याउनु हो। जसकाे एउटै उपाय मेला–महोत्सव भए पनि स्थायी मण्डपका लागि केन्द्रदेखि स्थानीय निकायसम्म धेरै पहल गर्दा पनि टुंगो लागेको छैन,’ ज्ञवालीले भने।

खेलकुदको प्रवर्द्धनका लागि महोत्सवमा भलिबल, कुस्तीलगायतका खेल प्रतियोगितासमेत सञ्चालन गरिनेछ। तराईमा धेरै रुचाइएको कुस्ती प्रतियोगितामा महिला पहलमानको समेत सहभागिता रहने आयोजकको भनाइ छ।

महोत्सवको करिब पाँच लाख दर्शकले अवलोकन गर्ने ज्ञवालीले बताए। मेलामा तीन सय ३५० सम्म स्टल रहेको बताइएको छ।

ad
ad