
- देशभर वार्षिक दुई करोड टन अर्थात् ४० करोड बोराभन्दा बढी सिमेन्ट उत्पादन क्षमताका उद्योग छन्, तर दुईतिहाइ क्षमताको अझै उपयोग भएन
- भूकम्पपछि सिमेन्टमा ओइरियो लगानी, ०७२ यता दुई खर्बका ३९ उद्योग दर्ता
- कोभिडले निम्त्याएको मन्दीले केही उद्योग बन्द भए, केही नयाँ सुरु भए
पाँच वर्ष अघिसम्म नेपाल सिमेन्ट तथा क्लिंकरमा परनिर्भर थियो । ग्रान्डिङ उद्योगका लागि क्लिंकर भारतबाट आयात गरिन्थ्यो । ०७०/७१ देखि देशमै चुनढुंगा प्रशोधन गरी क्लिंकर उत्पादन गर्ने उद्योग खुल्न थाले । तैपनि ०७५/७६ सम्म सिमेन्ट र क्लिंकरका लागि भारतमै निर्भर पर्नुपर्थ्यो । ०७४/७५ मा हालसम्मकै उच्च ३१ अर्ब ३३ करोडको सिमेन्ट तथा क्लिंकर आयात भएको थियो । त्यसयता क्रमशः परनिर्भरता घट्दै गयो । अहिले त सिमेन्ट र क्लिंकर आयात होइन, भारततर्फ निर्यात हुन थालेको छ ।
०७१/७२ मा १० अर्ब ५१ करोडको, ०७२/७३ मा ११ अर्ब ७० करोडको र ०७३/७४ मा २६ अर्ब १० करोडको सिमेन्ट र क्लिंकर आयात भयो । देशमै ग्रान्डिङ र क्लिंकर उद्योगको संख्या बढ्दै गएपछि ०७५/७६ मा आयात घटेर १२ अर्ब ९७ करोडमा सीमित भयो । ०७६/७७ मा चार अर्ब ४१ करोडको क्लिंकर र ४५ करोडको सिमेन्ट आयात भएको थियो भने ०७७/७८ तीन अर्ब ६० करोडको क्लिंकर र पाँच करोड ६७ लाखको सिमेन्ट गरी तीन अर्ब ६६ करोडको आयात भएको तथ्यांक छ ।
०७८/७९ मा सिमेन्ट र क्लिंकरको आयात स्वाट्टै घटेको देखिन्छ । त्यस वर्ष ३२ करोडको क्लिंकर र ३७ करोडको सिमेन्ट गरी ६९ करोडको आयात मात्रै आयात भयो । गत आव ०७९/८० मा ७५ करोडको सिमेन्ट र क्लिंकर आयात भयो, जसमध्ये ४५ करोडको क्लिंकर र ३० करोडको सिमेन्ट रहेको छ । विदेशी ऋण र अनुदान सहयोगका कतिपय परियोजनाले भन्सार छुट सुविधामा सिमेन्ट आयात गर्ने भएकाले तथ्यांकमा सिमेन्ट आयात देखिएको हो । यस वर्षदेखि सरकारले भन्सार छुट सुविधा कटौती गरिदिएको छ । अहिले नेपाल सिमेन्टमा पूर्ण आत्मनिर्भर भई निर्यात गर्ने देश बनेको अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए ।
यसबीचमा अर्घाखाँची, जगदम्बा, सर्वोत्तम, होङ्सी शिवम्, पाल्पा सिमेन्ट, सौर्य, हुवासिन, सिजी पाल्पालगायत ठूलो लगानीमा क्लिंकरसहितका डेढ दर्जन निजी उद्योग सञ्चालनमा आएका छन् । जसका कारण देश सिमेन्टमा आत्मनिर्भर भई निर्यातको चरणमा प्रवेश गरेको उद्योगीहरूको भनाइ छ ।
भूकम्पपछि सिमेन्टमा ओइरियो लगानी, ०७२ यता दुई खर्बका ३९ उद्योग दर्ता
नेपालमा भूकम्पपछि सिमेन्ट उद्योगमा लगानीको बाढी आएको हो । खास गरेर सरकारले आयातित सिमेन्टमा उच्च कर लगाउनुका साथै चुनढुंगा खानीसम्म पहुँचमार्ग, बिजुली र खानेपानीजस्ता पूर्वाधार निर्माण गरिदिने व्यवस्था गरेपछि लगानीकर्ता प्रोत्साहित बनेको उद्योगीहरू बताउँछन् ।
०७२ यताका आठ वर्षमा मात्रै एक खर्ब ९८ करोड २१ करोड रुपैयाँ लगानीका ३९ सिमेन्ट उद्योग दर्ता भएका छन्, जसमध्ये अधिकांश नयाँ हुन् । कतिपय सञ्चालनमा रहेकै उद्योगले पनि थप लगानीका लागि उद्योग विभागबाट अनुमति लिएका थिए ।
भूकम्पपछि पुनर्निर्माण र विकास निर्माणले तीव्रता पाउने आशाले सिमेन्ट उद्योगमा लगानी ओइरिएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाको भनाइ छ । साथै, त्यही समयमा देशले नयाँ संविधान पाएपछि विकासले गति लिने उद्योगी–व्यवसायीको अपेक्षा रह्यो । यद्यपि, सञ्चालनमा आएका केही सिमेन्ट उद्योगलाई बजारमा टिक्न पनि धौ–धौ परेको छ । पुनर्निर्माण र विकासे कामले गति नलिएपछि लगानी स्वीकृत गरेका कतिपय उद्योग सञ्चालनमै आएनन् ।
उद्योगको दुईतिहाइ क्षमता उपयोग नै भएन
देशभित्र सञ्चालित सिमेन्ट उद्योगहरूको जडित उत्पादन क्षमता बजार मागभन्दा अत्यन्तै धेरै छ । अहिले देशभित्र १६ वटा निजी लगानी र दुईवटा सरकारी गरी १८ वटा क्लिंकरसहितका र करिब ४५ वटा ग्रान्डिङ युनिट मात्रै भएका सिमेन्ट उद्योग सञ्चालनमा छन्, जसको वार्षिक उत्पादन क्षमता दुई करोड टनभन्दा बढी रहेको छ । ‘१६ वटा निजी उद्योगको जडित क्षमता करिब एक करोड ८० लाख टन क्लिंकर उत्पादन छ, यिनै उद्योगले ग्रान्डिङ युनिटलाई क्लिंकर सप्लाइ गर्ने हुन्,’ अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले भने, ‘सञ्चालनमा रहेका उद्योगको जडित क्षमता वार्षिक दुई करोड टन अर्थात् ४० करोड बोराभन्दा बढी सिमेन्ट उत्पादन रहेको छ ।’ तर, अहिले बजारको माग भने एकतिहाइ मात्र हुँदा उद्योगको दुईतिहाइ क्षमता उपयोग हुन सकेको छैन । ‘यदि निर्यात बढाउन सकेनौँ भने धेरै सिमेन्ट उद्योग धराशायी हुन पनि बेर नलाग्न सक्छ,’ सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने ।
कोभिडपछिको अवस्था
बर्सेनि १०–१० प्रतिशतका दरले सिमेन्टको माग बढ्दै जानुपर्ने थियो । त्यसो हुँदा सिमेन्ट उद्योगको माग पनि बढ्दै जान्थ्यो । तर, कोभिडपछि बजार माग उल्टै घट्दै गएको मुरारका बताउँछन् । तर, यही समयमा सौर्य, सिजी पाल्पा, हुवासिनलगायत ठूला उद्योग सञ्चालनमा आएका छन् । कोभिडपछिको मन्दीले सबैभन्दा चर्को मारमा निर्माणजन्य सामग्री उत्पादन गर्ने उद्योग परेका छन् । बैंकमा तरलता अभाव, चर्को ब्याजदर, महँगीलगायतका कारणले विकास निर्माणका काम सुस्ताउँदा निर्माण सामग्रीको माग घटेको छ । यसबीचमा सिमेन्ट उद्योगले ७०–७५ प्रतिशतसम्म उत्पादन कटौती गरेका थिए । ३० प्रतिशतभन्दा तल झरेको सिमेन्टको माग बिस्तारै बढेर ४० प्रतिशत हाराहारी पुगेको मुरारकाले बताए । ‘कुनै उद्योग अलि बढी क्षमतामा चलेका होलान्, कुनै कम क्षमतामा चलेका छन्, औसत उत्पादन करिब ३५–४० प्रतिशत हाराहारी होला,’ उनले भने, ‘यसरी उद्योग चलाएर कतिञ्जेल थेग्न सकिन्छ, कतिपयले बैंकको ब्याजसम्म तिर्न सकेका छैनन्, नयाँ झन् धेरै प्रभावित छन् ।’ निर्यात गर्ने उद्योगहरूको अहिले नै देखिने गरी क्षमता उपयोग नबढेको भए पनि वार्षिक ६–७ अर्बको निर्यात पुग्दा पक्कै सुधार हुने अपेक्षा निर्यातकर्ताको छ ।
कोभिडले निम्त्याएको मन्दीले केही उद्योग बन्द भए, केही नयाँ सुरु भए
कोभिड महामारीपछि झापामा मात्रै मित्तल, मनसा र सनराइज सिमेन्ट उद्योग बन्द भएका छन् । यस्तै, वीरगन्जस्थित अम्बे र बुटवल सिमेन्टको ग्रान्डिङ युनिट पनि बन्द गरिएका छन् । खासगरी, ग्रान्डिङ युनिट मात्रै भएका साना सिमेन्ट उद्योग धमाधम बन्द भइरहेको देखिन्छ । सञ्चालनमा रहेका पनि जेनतेन टिकिरहेको बताउँछन् ।
तर, कोभिड महामारी र मन्दीकै बीच पनि ठूलो लगानीका सौर्य, पाल्पा, हुवासिनलगायतका नयाँ सिमेन्ट उद्योग सञ्चालनमा पनि आएका छन् । चौधरी ग्रुपले हालै पाल्पाको सर्देवामा करिब १५ अर्ब लगानी गरेर क्लिंकरसहितको सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । यो उद्योगको दैनिक उत्पादन क्षमता चार हजार मेट्रिकटन छ ।
तीन व्यावसायिक घरानाहरू शंकर ग्रुप, अम्बे ग्रुप र सिके गोल्छाको संयुक्त १५ अर्ब लगानीमा ०७७ माघदेखि सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको थियो, जसको दैनिक उत्पादन क्षमता तीन हजार मेट्रिकटन छ । ०७८ मा धादिङमा चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगबाट व्यावसायिक उत्पादन सुरु भएको थियो । दैनिक ६० हजार बोरा उत्पादन क्षमता रहेको उद्योगमा करिब १५ अर्ब लगानी छ ।
तुलनात्मक लाभ बढी
आफ्नै देशमा रहेको कच्चा पदार्थ (चुनढुंगा)मा आधारित हुनाले सिमेन्ट तुलनात्मक लाभ धेरै भएको वस्तु हो । उद्योगीका अनुसार सिमेन्ट उत्पादनमा ८० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुने गर्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर नेपालमा उत्पादन गरी निर्यात गरिने वस्तुमा त्यति धेरै लाभ हुँदैन । तर, सिमेन्ट स्वदेशी कच्चा पदार्थमा आधारित हुनाले निर्यातमा नेपाललाई धेरै फाइदा छ । यस्तै, सिमेन्ट उत्पादनका लागि धेरै बिजुली आवश्यक पर्छ, बिजुली पनि स्वदेशमै उत्पादन हुन्छ ।
मुरारकाका अनुसार एक बोरा सिमेन्ट उत्पादन गर्न करिब पाँच युनिट बिजुली लाग्छ । यदि अहिले उद्योग पूर्ण क्षमतामा सञ्चालन भए ४० करोड बोरा सिमेन्ट उत्पादन गर्दा दुई सय करोड युनिट बिजुली खपत हुने देखिन्छ । प्रतियुनिट १० रुपैयाँका दरले दुई सय करोड युनिट बिजुलीको मूल्य दुई हजार करोड (२० अर्ब) रुपैयाँ हुन आउँछ । अहिले नेपाल विद्युत् प्राधिकरण (एनइए) उत्पादित बिजुलीको बजार खोज्न भौँतारिइरहेको छ ।