
सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन अनुदानको घोषणा गरे पनि काम सुरु भएको छैन । तर, १७ कात्तिकको भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा भने स्वयंसेवी रूपमा अस्थायी एवं भूकम्पप्रतिरोधी नमुना घर बनाउन सुरु गरिएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका पूर्वमेयर विशाल शर्माको अगुवाइमा वडा नम्बर ६ फारुलामा कालो कामी, कमल विक, चन्द्री बोहोरा र चन्दबहादुर बुढाथोकीका चारवटा घर निर्माण गर्ने गरी काम सुरु भएको छ । घर बनाउन सिमेन्ट, बालुवा, माटो, ढुंगा, छड, जस्तापाताको प्रयोग गरिएको छ भने ५० जना स्वयंसेवक परिचालित छन् । तिहारमा निर्माणको काम रोकिए पनि शुक्रबारदेखि पुनः सुरु हुने शर्माले बताए । ‘यो काम स्वयंसेवाका रूपमा हो, निर्माण सामग्री मेरो नेतृत्वमा खटिएको टिमले नै व्यवस्थापन गरिरहेको छ, काम पनि निःशुल्क रूपमा गरिरहेको छ,’ शर्माले भने, ‘एक सातामा निर्माण सकिन्छ । त्यसपछि थप घर बनाइनेछ ।’
जाजरकोट केन्द्रबिन्दु भएर १७ कात्तिकको मध्यरात गएको भूकम्पमा परी चौरजहारीमा एकजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । चौरजहारीमा मात्र नौ सय ३२ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको नगरपालिकाको प्रारम्भिक तथ्यांक छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार पाँच हजार दुई सय ९६ वटा घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनेका छन् । भूकम्पपछिको पुनर्निर्माणमा जनपरिचालनलाई मुख्य प्राथमिकता दिइने उनले बताए । ‘सबै काम सरकारले मात्र गरेर पनि सम्भव हुन्न, सरकारबाट आर्थिक स्रोतको व्यवस्थापन गर्ने र भौतिक निर्माणमा स्थानीयलाई प्रयोग गर्ने गरी सोचिएको छ,’ उनले भने, ‘अहिले स्वेच्छिक रूपमा काम भइरहेको छ । भोलि सरकारको मापदण्डअनुसार अस्थायी घर होस् वा पुनर्निर्माण होस् । स्थानीय नागरिक तथा संघसंस्थासमेतको समन्वयमा काम हुन्छ ।’
भूकम्पबाट सबैभन्दा बढी प्रभावित जाजरकोटमा पनि नमुना अस्थायी आवास निर्माण भइरहेका छन् । एक साताअघि भूकम्प प्रभावित जाजरकोट पुगेका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दुईवटा नमुना अस्थायी आवास निर्माण गरिदिए । उनीहरूसहितको टोलीले भूकम्पमा परी मृत्यु भएकी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको परिवारका लागि र नलगाड– १ च्युरेका एक स्थानीयका लागि अस्थायी नमुना आवास बनाएको थियो ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द नेतृत्वको टिमले पनि जाजरकोटको नलगाडका कले विकका लागि घर निर्माण गरिदिएको छ । उनको पार्टीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारेका विजय विकको परिवारका लागि घर बनाइदिएको छ । करिब ६० हजार खर्च गरेर जस्तापाताले छाएको घर निर्माण गरिदिएको पार्टीका सदस्य चन्द्र बुढाले बताए ।
त्यस्तै, आठबिसकोट– ११ मा ८ वटा छहरासमेत निर्माण गरेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले आठबिसकोट नगरपालिका– १४ को ज्यामिरकोटमा नमुना आवासको व्यवस्था गरेको छ ।
इच्छुक धेरै हुनुहुन्छ, मापदण्ड बनेपछि धमाधम काम हुन्छ : सहायक प्रजिअ शर्मा
जाजरकोटमा अस्थायी र नमुना आवास निर्माणका लागि संघसंस्था, राजनीतिक दल तथा व्यक्ति इच्छुक देखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । ‘धेरै इच्छुक देखिनुभएको छ, तर सरकारी मापदण्ड बनिनसकेकाले अहिले नै काममा लाग्नुहोस् भनेर भन्न सकिएको छैन, मापदण्ड बन्नेबित्तिकै धमाधम काम सुरु हुन्छ,’ उनले भने ।
अहिले जिल्लाभरमा वल्लोपल्लो घर मिलेर बस्ने ठाउँ बनाइरहेको र केही अस्थायी नमुना घर पनि निर्माण भएको उनले बताए । अब तिहार बिदा सकिएपछि यो कार्यले जिल्लाभरमा तीव्रता पाउने उनी बताउँछन् ।
भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहित १२ जिल्लामा झन्डै ६२ हजार घर क्षतिग्रस्त बनेका छन् । रुकुम पश्चिममा १६ हजार पाँच सय ७० घर पूर्ण र नौ हजार नौ सय ६१ घरमा आंशिक गरी २६ हजार पाँच सय ३१ घर क्षतिग्रस्त भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले बताए ।
जाजरकोटमा पूर्ण रूपमा क्षतिग्रस्त नौ हजार सात सय ९४ र आंशिक क्षति भएका २४ हजार सात सय सात घर छन् । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले प्रारम्भिक तथ्यांकअनुसार कुल ३४ हजार चार सय ९८ घर क्षतिग्रस्त बनेको बताए ।