१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
लागुऔषधविरुद्धको महाअभियानका क्रममा खटिएको प्रहरी टोली ।
२o८१ बैशाख २२ शनिबार o७:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दार्चुलामा लागुऔषध समस्या विकराल : विद्यालय उमेरका बालबालिका नै लागुऔषधको कुलतमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:५१:oo

दार्चुलामा विद्यालय पढ्ने उमेरका अधिकांश बालबालिका लागुऔषध सेवन गर्ने गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले सुरु गरेको लागुऔषधविरुद्धको महाअभियानका क्रममा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययन गर्ने अधिकांश बालबालिकाले कुलतमा परी लागुऔषध सेवन गर्ने गरेको भेटिएको हो। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार दुई महिनाको अवधिमा तीन सय ४१ जना विद्यार्थी कुनै न कुनै रूपमा लागुऔषध सेवन गर्ने गरेको पाइएको छ। अधिकांश बालबालिका सानो मात्रामा चरेस सेवन गर्ने गरेको भेटिएका छन्। शंकास्पद बालबालिकाको पकेट चेकजाँच गर्दा उनीहरूको साथबाटै चरेस, चुरोटजस्ता लागुऔषध भेटिएको डिएसपी सिंहले जानकारी दिए। क्रममा प्रहरीले उनीहरूलाई पहिलो चरणमा सम्झाइबुझाइ छोडिदिएको छ। केहीले भारतीय बजार धार्चुलाबाट लागुऔषध ल्याएरसमेत सेवन गर्ने गरेको भेटिएको डिएसपी सिंहले बताए। अधिकांश बालिकासमेत लागुऔषध सेवन गर्ने, मदिरा, बियरजस्ता पेयपदार्थ सेवन गर्ने गरेको महाअभियानका क्रममा भेटिएको उनले बताए । ‘हाम्रा छोराछोरी लागुऔषधको कुलतमा फसिसकेका पाइएको छ,’ उनले भने, ‘सबैले साथ दिए लागुऔषध सेवनमा फसेका बालबालिका सुधार गर्न सकिन्छ।’ 

बालबालिकाको भविष्य संकटमा छ : डिएसपी शिवबहादुर सिंह जिल्ला प्रहरी कार्यालय, दार्चुला
दुई महिना चलेको अभियानका क्रममा ३४१ विद्यार्थी कुनै न कुनै रूपमा लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । अधिकांश बालबालिका सानो मात्रामा चरेस सेवन गर्ने गरेको भेटिएका छन् । शंकास्पद बालबालिकाको पकेट चेकजाँच गर्दा उनीहरूको साथबाटै चरेस, चुरोटजस्ता लागुऔषध भेटिएका छन् ।

सदरमुकाम खलंगाआसपासका क्षेत्रको मात्रै दुई महिनाको तथ्यांकले बालबालिका कुनै न कुनै रूपमा लागुऔषध सेवनमा फसिसकेका छन् । यस्तै, दुई सय ४७ जना युवा लागुऔषध सेवनकर्ताका रूपमा भेटिएका छन् । महाअभियान चलेपछि लागुऔषध सेवनकर्ता खोजी गर्दै जाँदा ठूलो संख्यामा युवाहरू लागुऔषध सेवनकर्ताका रूपमा फसेको पाइएका हुन् । ‘अहिले भारतबाट आउने लागुऔषध पूर्ण रूपमा बन्द गरिएको छ। बालबालिका, युवालाई वारपारमा विशेष निगरानी राखेका छौँ,’ डिएसपी सिंहले भने, ‘केही लागुऔषध सेवनकर्ताले जिल्ला छोड्नुपरेको छ । उनले अब जिल्लाका नौवटै स्थानीय तहसम्म अभियान पुर्‍याउने बताए ।

लागुऔषधको कुलतमा लागेका कारण थुप्रै विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशीले बताए । लागुऔषधका रूपमा गाँजा, अफिम, सुँघ्ने र उत्तेजना दिने पदार्थको प्रयोग हुने प्रहरीले जनाएको छ । सबैभन्दा बढी गाँजा र त्यसले बनेका लागुपदार्थको प्रयोग भइरहेको छ । साथीको दबाब, मनोरञ्जन, तनावजस्ता कारणले पनि लागुऔषध प्रयोगकर्ता बढेको डिएसपी सिंहले बताए । ‘बालबालिका गलत संगतका कारण बढी कुलतमा फसेको देखिन्छ । बालबालिकालाई जोगाउने बढी दायित्व अभिभावककै हुन्छ । किशोरावस्थाका नानीबाबुको आनीबानीको निगरानी आवश्यक छ,’ उनले भने । 

प्रहरीले माग्यो अभिभावकको साथ
प्रहरीले दुई महिनाको अवधिमा लागुऔषधलगायत १६ वटा विषयमा जिल्लाभरि पाँच सय ४३ वटा कार्यक्रम सम्पन्न गरेको छ । अझै यो अभियान सबै स्थानीय तहसम्म पुगेको छैन । लागुऔषध, बालविवाह, बहुविवाह, अपराधलगायत १६ विषयमा प्रहरीले निरन्तर अभियान सञ्चालन गर्ने डिएसपी सिंहको भनाइ छ । प्रहरीले सीमित स्रोत–साधनका बीच अब जिल्लामा ‘एक दिन–एक टोल– घरदैलो कार्यक्रम’ कार्यक्रम सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।

बालबालिका तथा किशोरकिशोरीलाई कुलतबाट जोगाउन प्रहरीसँग अब सबैले साथ दिनुपर्ने बताउँछन् मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी । ‘पहिलो चरणमा सुरक्षाकर्मी बोलाएर कार्यक्रमबारे जानकारी गराएका छौँ, यो अभियान सबै गाउँबस्तीसम्म आवश्यक छ,’ उनले भने । 

लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले स्थानीय तहले भौतिक विकासभन्दा पनि बालबालिकाको भविष्यको विकास गर्नतर्फ लगानी गर्नुपर्ने बताए । ‘बालबालिका युवा नै कुलतमा लागेर नरहे हामीले गर्ने भौतिक विकासले कुनै अर्थ राख्दैन,’ उनले भने, ‘यसका लागि बालबालिका युवालाई कुलतबाट जोगाउन प्रहरीसँग हातेमालो गरौँ ।’

व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी अभिभावकले बालबालिकालाई समय दिन नपाउँदा बालबालिका कुलतमा फसेको बताए । ‘अधिकांशले बालबालिकालाई राम्रो शिक्षा दिन भन्दै सदरमुकाम खलंगामा पढ्न पठाउँछन् । तर, बालबालिका विद्यालय जान्छन् कि जादैनन्, कस्तो संगत छ भने ख्याल नगर्दा अधिकांश सदरमुकाममै पढ्ने बालबालिका कुलत लागुऔषधमा फसेका छन्,’ उनले भने । कुलत सेवनको असर समाजमा हुने आपराधिक गतिविधिसँग समेत जोडिने भएकाले यसलाई रोक्न जिम्मेवार भएर लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी किरण जोशीको भनाइ छ । विद्यार्थीलाई लागुऔषध सेवनबाट बचाउन अहिले प्रहरी प्रशासनले विद्यालयवरपर रहेका मदिरा तथा सुर्तीजन्य पसल बन्द गर्ने तथा विद्यार्थीले देख्ने गरी सजिसजावटमा रोक लगाएको छ । 

ad
ad