१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार o७:२४:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बाइडेन–सी शिखर वार्ता र चीन–अमेरिका सम्बन्ध

विश्वका दुई शक्तिशाली राष्ट्रले एक–अर्कासँग सञ्चार गर्नैपर्छ र दुई देशबीच टुटेको संवादका च्यानल पुनः स्थापना गर्नुपर्छ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o७:२४:oo

चिनियाँ उपराष्ट्रपति हान झेङले सिंगापुरमा ब्लुमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै चीन अमेरिकासँग सम्बन्ध सुधार गर्न तयार रहेको बताएका छन् । स्थिर र बलियो सम्बन्ध दुवै पक्षका जनताको साझा चाहना रहेकाले चीन अमेरिकासँग सबै तहमा सञ्चार र संवादलाई सुदृढ गर्न, पारस्परिक लाभकारी सहयोगलाई प्रवद्र्धन गर्न, भिन्नतालाई उचित रूपमा व्यवस्थापन गर्न र विश्वव्यापी चुनौतीलाई संयुक्त रूपमा सम्बोधन गर्न तयार रहेको झेङले बताएका छन् ।

चीन–अमेरिका सम्बन्ध वास्तवमा भयावह र तनावपूर्ण रहँदै आएको छ । अमेरिकाले संवेदनशील प्रविधि र रणनीतिक कच्चा पदार्थमा चीनको पहुँचलाई प्रतिबन्ध लगाउने नीतिलाई तीव्र र व्यापक रूपमा अघि सारेको छ । आर्थिक सुरक्षा सुनिश्चित गर्न अमेरिकी नीति निर्माताले अघि सारेको ‘सानो यार्ड, उच्च बार’ को रणनीतिलाई चीनले अमेरिकाको चीनको उदयलाई नियन्त्रण गर्ने र रोक्ने मनसायले उत्प्रेरित रहेको बताउँदै आएको छ ।

अर्कातर्फ, आगामी ०२४ को चुनावमा दोस्रो कार्यकालको खोजी गरिरहेको बाइडेन प्रशासन चीनसामु कुनै पनि कोणबाट कमजोर देखिन चाहँदैन । तर, दुवै देशका नेतृत्व चाहँदैनन् कि उनीहरूबीचको सम्बन्ध पूर्णतया युद्ध या शीतयुद्धको मार्गमा जाओस् । कुनै पनि प्रकारको युद्ध दुवै राष्ट्रको हितमा नहुने आमसहमतिका बाबजुद भूरणनीतिक, आर्थिक, औद्योगिक र सैन्य क्षमता निर्माणसहित धेरै क्षेत्रमा रणनीतिक प्रतिस्पर्धालाई लिएर दुवै देशमा एक–अर्कासँग मतभेद छ र आउने दिनमा यो मतभेद थप बढ्ने सम्भावना छ । तैपनि, सम्बन्धलाई ‘ट्र्याक’भन्दा बाहिर जानबाट रोक्नुपर्छ भन्नेमा दुवैतर्फ एउटा स्पष्ट बुझाइ भने रहेको छ ।

बाइडेन–सी सानफ्रान्सिस्को शिखर वार्ता दुवै नेताका लागि सम्बन्ध सुधार्न, वर्तमान तनावग्रस्त अन्तर्राष्ट्रिय वातावरणलाई गम्भीरतापूर्वक विश्लेषण गर्न र शान्ति स्थापनाको दिशामा आपसी कदम बढाउन अति आवश्यक दोस्रो मौका हुन सक्छ

राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा वाङ यीलाई भेट्दा अमेरिका र चीन दुवैले प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र विश्वव्यापी चुनौतीको सम्बोधन गर्न मिलेर काम गर्न अति आवश्यक रहेकाले दुई देशबीच सञ्चारका लाइनहरू कायम गर्न आवश्यक रहेको बताएका थिए । त्यस्तै चाल्र्स सुमरको नेतृत्वमा अमेरिकी सिनेटको प्रतिनिधिमण्डललाई स्वागत गर्दा राष्ट्रपति सी चिनफिङले चीन–अमेरिका सम्बन्ध संसारमा सबैभन्दा महत्वपूर्ण रहेको र यसले मानव जातिको भविष्य र भाग्य निर्धारण गर्ने बताएका थिए । चीन–अमेरिका सम्बन्धहरू वास्तवमै महत्वपूर्ण छन् र यी दुई राष्ट्रबीचको स्थिर सम्बन्धको अतुलनीय विश्वव्यापी महत्व छ भन्ने तर्कलाई सायद धेरै कमले खण्डन गर्छन् ।

यही सन्दर्भमा विश्वको नजर आगामी १४ देखि १७ नोभेम्बरसम्म अमेरिकाको सान फ्रान्सिस्कोमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को बैठकमा  केन्द्रित हुनेछ, जहाँ अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिंग ठीक एक वर्षपछि भेट्दै छन् । बाइडेन र सीले नोभेम्बर ०२२ को बाली जी–२० शिखर सम्मेलनको साइडलाइनमा तीन घण्टा वार्ता गरेका थिए । सो भेटमा बिग्रिँदै गएको चीन–अमेरिकी सम्बन्ध सहज बनाउन वातावरण सिर्जना गर्ने सहमति भए पनि त्यसअनुरूप उपलब्धि हासिल हुन भने सकेको देखिएन । 

बाली शिखर सम्मेलनको केही समयमै अमेरिकी भूमिमा देखिएका चिनियाँ बेलुनलाई लिएर दुई देशबीचको कूटनीतिक सम्बन्ध जटिल बनेको थियो, जसलाई चिनियाँ टेक्नोलोजीमा अमेरिकाले लगाएको थप प्रतिबन्ध र ताइबानको मुद्दाले थप पेचिलो बनायो । हालैका महिनामा दुई देशबीच उच्च स्तरको आदानप्रदानको लहरपछि सम्बन्ध केही न्यानो भएको छ । वासिंगटनले जुनदेखि बेइजिङमा चार क्याबिनेट अधिकारीहरू पठाएको छ, जसमा विदेशमन्त्री एन्टोनी ब्लिंकेन, ट्रेजरी सेक्रेटरी जेनेट येलेन, जलवायु दूत जोन केरी र वाणिज्य सचिव जिना रेमन्डो समावेश छन् ।

बाइडेन र सीबीचको आगामी शिखर सम्मेलनले दुई देशबीच विद्यमान सबै समस्या समाधान नगरे पनि वर्तमान अशान्त अन्तर्राष्ट्रिय वातावरण र बढ्दो विश्वव्यापी विकास चुनौती न्यूनीकरणमा यो महत्वपूर्ण साबित हुन सक्छ 

त्यस्तै, सिनेट नेता चाल्र्स सुमरको नेतृत्वमा गत महिना द्विदलीय सिनेटरीय प्रतिनिधिमण्डलले बेइजिङ भ्रमण गरेको थियो र क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजम अक्टोबरको अन्त्यमा बेइजिङ पुगेका थिए । त्यस्तै, चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले मे महिनामा अमेरिकाको भ्रमण गरेका थिए भने चिनियाँ विदेशमन्त्री वाङ यीले अक्टोबर २७ र २८ मा वासिंटनको औपचारिक भ्रमणका क्रममा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान, विदेशमन्त्री एन्टोनी ब्लिंकेन र राष्ट्रपति बाइडेनसँग भेट गरेका थिए ।

यी उच्च प्रोफाइल भ्रमणका क्रममा दुई देशले विभिन्न कार्य समूह स्थापना गरेका छन्, जसमा अमेरिकी ट्रेजरी र चिनियाँ अर्थ मन्त्रालयअन्तर्गत अर्थतन्त्रका विषय, युएस ट्रेजरी र पिपुल्स बैंक अफ चाइनाअन्तर्गत वित्त, अमेरिकी वाणिज्य विभाग र चिनियाँ वाणिज्य मन्त्रालयअन्तर्गत निर्यात नियन्त्रण र अमेरिकी राज्य विभाग र चिनियाँ विदेश मन्त्रालयअन्तर्गतका एसियाली मामिला रहेका छन् । विश्वका दुई शक्तिशाली राष्ट्रले एक–अर्कासँग सञ्चार गर्नैपर्छ भन्दै चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सले दुई देशबीच टुटेको संवादका च्यानल पुनः स्थापना गर्न केही प्रगति भएको बताएका छन् ।

बाइडन र सीबीचको आगामी शिखर सम्मेलनले दुई देशबीच रहेका सबै समस्या समाधान गर्नेछ भन्ने होइन । तर, वर्तमान अशान्त अन्तर्राष्ट्रिय वातावरण र बढ्दो विश्वव्यापी विकास चुनौतीलाई ध्यानमा राख्दै चीन र अमेरिकाबीचको प्रभावकारी समन्वय र सहयोग इतिहासको कुनै पनि समयभन्दा अहिले बढी आवश्यक छ ।

कोभिड महामारीपछिको आर्थिक रिकभरी, जलवायु परिवर्तन र विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय द्वन्द्व र हटस्पटहरू सबैले विश्व शान्ति र सुरक्षामा चुनौती खडा गरेका छन् । यस्ता समस्यालाई दुई प्रमुख शक्तिका रूपमा चीन र अमेरिकाले जिम्मेवारीको भावनाका साथ मिलेर सम्बोधन गर्नैपर्छ । गम्भीर समस्यामा रहेको अमेरिका–चीन सम्बन्धका संकटलाई कम गर्ने र शान्ति स्थापना गर्न यी दुई राष्ट्रले संयन्त्र र व्यवस्थालाई संस्थागत गर्न हरसम्भव प्रयास गर्न जरुरी छ ।

अर्कातर्फ युद्धग्रस्त संसारलाई नेतृत्वको तत्काल आवश्यकता रहेका वेला यी दुई राष्ट्रले कुनै पनि अवसर बर्बाद गर्नु हुँदैन । यस अर्थमा बाली बैठकको विपरीत यही साता हुने बाइडेन–सी सान फ्रान्सिस्को शिखर वार्ता दुवै नेताका लागि सम्बन्ध सुधार्न र वर्तमान तनावग्रस्त अन्तर्राष्ट्रिय वतावरणलाई गम्भीरतापूर्वक विश्लेषण गर्न र कदम बढाउन अति आवश्यक दोस्रो मौका हुन सक्छ ।

निकट भविष्यमा यी दुई राष्ट्रले एक–अर्काको कदमलाई ध्यानपूर्वक हेर्ने कुरामा कुनै दुई मत छैन । तर, यी दुई देशले कसरी टकराव व्यवस्थापन गर्छन् र आपसमा रहेका गलत धारणा कम गर्छन् भन्ने नै बढ्ता महत्वपूर्ण छ । त्यसले मात्र विद्यमान मुद्दालाई नियन्त्रणबाहिर लैजान सक्छ । महान् शक्ति सम्बन्ध आपसी सहयोग, सम्मान र संवादमा आधारित रहन जरुरी छ । हेनरी किसिन्जरले ठीकै भनेका छन्– अमेरिका–चीन सम्बन्धमा द्वन्द्व एक विकल्प हो, आवश्यकता होइन ।

ad
ad