जाजरकोटमा त्रिपालमुनि बसेका चार दीर्घरोगीको मृत्यु, बालबालिका, गर्भवती, सुत्केरी र वृद्धवृद्धा पनि समस्यामा
जाजरकोटको भेरी नगरपालिका– १ घुयलनेटामा भूकम्पबाट घर भत्किएपछि त्रिपालमुनि बसेका बालबालिका । तस्बिर : हेमन्त केसी/रासस
१७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका अधिकांश नागरिक घरबाहिर छन् । भूकम्पले घर भत्काएपछि पालको सहारामा बसिरहेका भूकम्प प्रभावितलाई चिसोले समस्या बनाउन थालेको छ । राम्ररी राहतसमेत पाउन नसकेका भूकम्प प्रभावितलाई चिसोबाट बच्न मुस्किल बन्दै गएको छ । बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती र दीर्घरोगीलाई समस्या भएको छ । जाजरकोटमा भूकम्पछि चाजनाको मृत्यु भएको छ । दीर्घरोगबाट ग्रसित नलगाड नगरपालिका र कुशे गाउँपालिकामा दुई–दुईजनाको मृत्यु भएको हो । उनीहरूको चिसोकै कारण ज्यान गएको हुनसक्ने जिल्ला अस्पताल जाजरकोटका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए । पालिकहरूसँग समन्वय भइरहेको उनले बताए । जिल्लामा चिसोबाट ठूलो समस्या हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हाई अलर्टमा रहेको उनले बताए । ‘चिसो बढ्दै छ, विशेष गरी बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा र दीर्घरोगी उच्च जोखिममा छन्, हामी तिहारमा पनि बिदा नबसेर सचेतता बढाइरहेका छौँ, पालिकाहरूसँग निरन्तर छलफल चलाइरहेका छौँ, छिट्टै समन्वय बैठक गर्ने योजनामा छौँ, समग्रमा हामी हाई हलर्टमा छौँ,’ उनले भने ।’
नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले वडा नम्बर ४ का ७७ वर्षीय गोपाल रावल र ४० वर्षीया पम्फा रावलको मृत्यु भएको जानकारी रहेको बताए । ‘उहाँहरू दमको रोगी हो भन्ने सुनेको छु, बाँकी विषयमा बुझ्ने काम भइरहेको छ,’ उनले भने । कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आफ्नो गाउँपालिकामा दुईजनाको मृत्यु भएको पुष्टि गरे । ‘वडा नम्बर ५ मा ६५ वर्षकी देवी मल्ल र वडा नम्बर ६ मा ५५ वर्षका गथु शाहीको मृत्यु भएको छ,’ उनले भने । उनीहरू केही दिनदेखि रुघाखोकी र ज्वरोबाट ग्रसित भएको र भूकम्पका कारण घरबाहिर बस्नुपर्दा ज्यान गएको हुन सक्ने अध्यक्ष बस्नेतले बताए । दुवैजनाको शुक्रबार पालमै मृत्यु भएको हो । ‘बिरामी रहेको अवस्थामा भूकम्प आएको र घरबाहिर बस्नुपर्दा त्रासको वातावरण पनि रह्यो, चिसोसमेत बढेका कारण उनीहरूको मृत्यु भएको देखिन्छ,’ अध्यक्ष बस्नेत बताउँछन् ।’ चिसोका कारण अझै समस्या हुने उनले बताए । कुशे गाउँपालिका ११ देखि ४८ सय मिटरको उचाइसम्ममा रहेकाले अब यहाँ अध्यधिक चिसो हुने उनको भनाइ छ । चिसोलाई मध्यनजर गरेर पालिकाका युवाहरूलाई भूकम्प प्रभावितका लागि सानासाना गोठ निर्माणमा लगाएको उनले जानकारी गराए । पालिकामा ४ हजार ६ सय २ घरपरिवार रहेकामा अहिले लगभग सबै पालको सहारामा रहेको उनले बताए ।
जिल्ला अस्पतालका सूचना अधिकारी खत्रीले जिल्लाभरमै चिसोका कारण समस्या बढ्न थालेको बताए । जिल्लाका भूकम्प प्रभावित ठाउँमा बुझ्दा चिसोका कारण समस्या बढ्न थालेको र स्वास्थ्य संस्थामा आउनेको संख्यामा वृद्धि भइरहेको देखिएको उनले बताए । चिसो अझै बढ्दो क्रममा रहेको र शनिबार बिहानदेखि वर्षासमेत भइरहेका कारण थप समस्या हुने उनको भनाइ छ । स्वास्थ्य समस्यालाई ध्यानमा राखेर जिल्लाभरमा २६ वटा टोली बनाएर एक सय ४४ जना स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए । यसमा केही जिल्लाबाहिरबाट आएका चिकित्सकसहितका स्वास्थ्यकर्मी छन् भने बाँकी जिल्ला अस्पताल तथा स्थानीय तहका स्वास्थ्यकर्मी छन् । नगर प्रमुख बस्नेतले पनि चिसोबाट भूकम्प प्रभावितलाई जोगाउन स्वास्थ्यकर्मीलाई अलर्ट राखिएको बताए । पालिकाभरमा डाक्टरसहित ७० देखि ७५ जनासम्म स्वास्थ्यकर्मी परिचालन गरिएको उनको भनाइ छ । नगर अस्पताललाई समेत व्यवस्थित गर्ने काम भएको उनले बताए ।
त्यसैगरी, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ मा रहेको चाइनाबगर स्वास्थ्य चौकी भूकम्पले ध्वस्त बनाएपछि यतिवेला पालबाट सञ्चालित छ । स्वास्थ्य चौकीलाई पालबाटै सेवा दिन भ्याइनभ्याई छ । यो क्षेत्र भूकम्पबाट प्रभावित क्षेत्र भएकाले स्वास्थ्य सेवा कार्यालयले डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । यहाँ डाक्टर शिवजी कार्की खटिएका छन् । चिसोका कारण बिरामी बढ्न थालेको उनले जानकारी दिए । अहिले दैनिक ४० भन्दा बढी चिसोका बिरामी उपचारका लागि आउने गरेका छन् । यी सबै भूकम्प प्रभावित हुन् । पालमुनिको वासले भूकम्प प्रभावितलाई ज्वरो, निमोनिया, रुघाखोकीलगायत समस्या देखिन सुरु गरिसकेको डाक्टर कार्कीको भनाइ छ । केही सुन्निएका बिरामीसमेत छन् । केही भने भूकम्पका कारण चोटपटक लागेका बिरामी छन् । अहिले नै उच्च जोखिम नरहे पनि लक्षण भने राम्रो नरहेको उनी बताउँछन् । अब चिसो झन् बढ्ने भएकाले समस्या बढ्ने उनको अनुमान छ ।
जिल्लामा सबैभन्दा बढी प्रभावित आठबिसकोट नगरपालिकामा पनि चिसोका कारण बिरामी बढ्न थालेका छन् । नगरको घेत्मा स्वास्थ्य चौकी पनि भूकम्पका कारण पूर्ण रूपमा ध्वस्त छ । त्यहाँ पनि पाल राखेर सेवा प्रवाह भइरहेको छ । यो स्वास्थ्य चौकीमा पनि बिरामी चाप दिनदिनै बढ्दै गइरहेको डाक्टर अविनाश धरालाले बताए । भूकम्प प्रभावितको स्वास्थ्यलाई ध्यानमा राखेर यहाँ डाक्टर धराला नेतृत्वको टोली परिचालित छ । चिसोले समस्या बनाउन थालिसकेको डाक्टर धरालाले बताए । बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरी महिला दैनिक सेवा लिन आइरहेका छन् । भूकम्प प्रभावितलाई मुख्य गरी चिसोले नै सताउन थालेको र बिरामी पर्न थालेको उनको भनाइ छ । यसरी नै बिरामीको संख्या बढ्दै जाने हो भने ठूलो समस्या आउनबाट कसैले रोक्न नसक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।
त्यस्तै, सरकारले जाजरकोट भूकम्पबाट प्रभावित १२ जिल्लामा तत्काल अस्थायी आवास बनाउन आज (आइतबार) कार्यविधि पारित गर्दै छ । ०७२ पछिका भूकम्पबाट घरबार गुमाएकालाई स्थायी र अस्थायी आवासका लागि अनुदान दिन छुट्टै व्यवस्था नरहेकाले सरकारले भूकम्पपीडित अस्थायी आवास निर्माणसम्बन्धी कार्यविधि पारित गर्न लागेको हो । कार्यविधि उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय विपत् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आइतबार दिउँसो साढे १२ बजे बस्ने कार्यकारी समितिले गर्नेछ । कार्यविधि पारितसँगै भूकम्पबाट घर पूर्ण र आंशिक क्षति भएका कारण घरबाहिर पुगेका जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लामा अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार निकासा गर्नेदेखि भूकम्पपीडितका सन्दर्भमा अन्य निर्णय हुनेछन् ।
न्यानो कपडातिर जोड गर्दै छौँ : डम्बरबहादुर रावत, मेयर, नलगाड नगरपालिका जाजरकोट
भूकम्प गएको एक साता बितिसकेको छ । पीडितले अझै पनि राहत पाउन नसकेको गुनासो गरिरहेका छन् ? राहत वितरणमा किन ढिलाइ ?
दिनरात राहतको व्यवस्थापनमै लागेका छौँ । नलगाड नगरपालिकामा १३ वटै वडा प्रभावित छन् । लगभग सबै घरमा क्षति पुगेको छ र अहिले एकाधबाहेक सबै घरबाहिरै छन् । कुल ६ हजार पाँच सय घरधुरीमध्ये ६ हजार घरमा क्षति पुगेको छ । नगरभरमा ५५ जनाको मृत्यु भएको छ । जसमा एक नम्बर वडाका मात्र २३ जना छन् । वडा नम्बर १ देखि ७ मा धेरै प्रभावित छन् । ८ देखि १३ सम्म तुलनात्मक रूपमा कम क्षति भएको छ । राहत वितरणमा पनि १ देखि ७ नम्बर वडालाई विशेष प्राथमिकता दियौँ । यी वडाका सबै प्रभावितले एकसरो राहत पाइसकेका छन् । यी वडामा चार–पाँच सयदेखि १४ सयसम्म पाल पठाएका छौँ । खाद्यान्न पनि सोहीअनुसार पठाएका छौँ । मलाई लाग्छ यी वडामा कोही पनि प्रभावित छुट्नुभएको छैन । यदि कतै छुट्नुभएको रैछ भने तत्कालै राहत दिन्छौँ । अलि कम प्रभावित वडा नम्बर ८ देखि १३ मा पनि राहत सामग्री पठाएका छौँ । वडा नम्बर ८ मा दुई सय ५०, ९ मा ५०, १० मा सय, ११ मा ९०, १२ मा २० र १३ मा २५ थान पाल पठाएका छौँ । खाद्यान्न पनि पुगेको छ । समग्रमा तीन हजार चामलका बोरा, सात हजार ब्लांकेट र साढे पाँच हजार थान त्रिपाल वितरण गरिसकेका छौँ । राहत वितरण जारी नै छ ।
दीर्घरोगी र वृद्धवृद्धालाई चिसोले धेरै नै असर गरेको छ भने केहीको मृत्युसमेत भएको खबर छ नि ?
हो, चिसोले असर गर्न थालिसक्यो । हाम्रै पालिकामा दुईजनाको मृत्यु भएको छ । वडा नम्बर ४ का ७७ वर्षीय गोपाल रावल र सोही वडाकै ४० वर्षीया पम्फा रावलको मृत्यु भएको छ । उहाँहरू दीर्घरोगी हुनुहुन्थ्यो । यस्तो समस्या अझै बढ्न सक्नेतर्फ सचेत छौँ । अब भूकम्प प्रभावितलाई कसरी न्यानोमा राख्ने भनेर केन्द्रित भएका छौँ । यसका लागि सरोकारवाला निकायसमक्ष राहत बढाउन मागसमेत गरिरहेका छौँ । अहिले वितरण भएका पाल पर्याप्त छैनन् । नहुनुभन्दा त छन्, तर एउटा पालले पूरै परिवारलाई ढाक्न सक्दैन । हामीले चाहेर मात्र पनि केही गर्न सकिने अवस्था छैन, तर हार मानेका छैनौँ । हामी फेरि उठ्ने गरी चिसोविरुद्धको लडाइँमा छौँ । सबै भूकम्प प्रभावितलाई न्यानो कपडाका लागि पहल भइरहेको छ । अस्थायी वासको व्यवस्थापन नहुन्जेलसम्म धेरै नै समस्या हुनेवाला छ । ७०–७५ जनाको संख्यामा स्वास्थ्यकर्मी खटिएका छन् । त्यसमा डाक्टरसमेत छन् । सबै पालिकावासीलाई मेरो अनुरोध छु– केही समय धैर्य गरौँ, यो विपत्तिको घडीलाई सामना गरौँ, एक दिन अवश्य विजयी हुनेछौँ ।
अस्थायी आवासको कुरा निकाल्नुभयो । भूकम्प प्रभावितले कहिलेदेखि अस्थायी आवासमा बस्न पाउँछन् ?
अहिलेको हाम्रो प्रमुख प्राथमिकता राहत वितरण नै हो । भूकम्प जानेबित्तिकै उद्धार र उपचार तथा मृतकको व्यवस्थापनमा केन्द्रित भयौँ । अब भने राहतसँगसँगै अस्थायी वास व्यवस्थापनमा केन्द्रित हुँदै छौँ । तिहारलगत्तै अस्थायी वास व्यवस्थापनमा लाग्छौँ । ६ महिनाका लागि हुन सक्छ, एक वर्ष वा त्योभन्दा बढी समयसम्मका लागि पनि हुन सक्छ, हामीलाई अस्थायी आवासको टड्कारो आवश्यकता छ । तिहारलगत्तै अस्थायी आवास निर्माणमा लाग्छौँ । हामी भूकम्प प्रभावितलाई शीतबाट जोगाउन लागिपरेका छौँ ।
बालबच्चा, सुत्केरी, गर्भवती र वृद्धवृद्धा बढी प्रभावित छन् : रवि केसी, मेयर, आठबिसकोट नगरपालिका, रुकुम पश्चिम
आठबिसकोट नगरपालिकामा अहिलेसम्म कति राहत वितरण भयो ?
हाम्रो नगरपालिकाका सबै वडा प्रभावित छन् । क्षतिका हिसाबले ११, १२, १३ र १४ नम्बर सबैभन्दा बढी, त्यसपछि वडा नम्बर ७, ८, ९ र १० तथा त्यसपछि १ देखि ६ सम्मका वडा रहेका छन् । ४४ हजार जनसंख्या र नौ हजार सात सय घरधुरी रहेकामा लगभग सबै प्रभावित छन् । अहिले बाहिर नबस्ने परिवार नै छैनन् । पक्की घरका समेत त्रसित भएर खुला आकाशमुनि छन् । परकम्पले समेत त्रास थपिरहेको छ । नगरका ४२ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी प्रभावित वडाबाट राहत वितरणलाई जारी राखेका छौँ । अहिलेसम्म सात हजार थान त्रिपाल वितरण भएको छ । अझै तीन हजार थानजति अपुग छ ।
चिसोले समस्या बनाएको छ, यसका लागि के गर्दै हुनुहुन्छ ?
हो हाम्रो अहिलेको प्रमुख चुनौती भनेकै चिसो हो । बालबच्चा, गर्भवती, सुत्केरी र वृद्धवृद्धा सबैभन्दा बढी पीडामा छन् । हामीले उनीहरूलाई विशेष प्राथमिकता दिएका छौँ । बालबच्चा, सुत्केरी र गर्भवतीका लागि न्यानो कपडासमेत वितरण गरिरहेका छौँ । अन्यका लागि भने त्रिपाल मात्र भएको छ । चिसोबाट समस्या नहोस् भनेर स्वास्थ्यकर्मी पनि परिचालन गरिरहेका छौँ । अहिले भूकम्प प्रभावित क्षेत्रमा ७०–८० जनाको संख्यामा डाक्टरसहितका स्वास्थ्यकर्मी परिचालन गरेका छौँ । स्वास्थ्य जाँचसहित मानसिक स्वास्थ्यलाई समेत ध्यानमा राखेका छौँ । धेरै प्रभावित अहिले पनि मानसिक त्रासमा रहेका छन् । उनीहरूलाई परामर्श गरिरहेका छौँ ।
अस्थायी आवास निर्माणको काम कहिले थाल्नुहुन्छ ?
तिहारको भोलिपल्टैबाट अस्थायी अवासको काम गर्ने गरी तयारीमा छौँ । पालमुनि जतिसुकै न्यानो कपडा दिए पनि चिसो छेक्न सकिने अवस्था छैन । अबको हाम्रो ध्यान अस्थायी आवासमै हुन्छ । कम्तीमा घरभित्र राख्ने प्रबन्ध मिलाउँदै छौँ । अस्थायी आवास सम्बन्धमा छलफल र निर्णयका लागि आइतबार सर्वदलीय बैठक डाकेका छौँ । त्यसले स्पष्ट निर्णय गर्नेछ र सोहीअनुसार अस्थायी आवास निर्माणमा केन्द्रित हुनेछौँ । नगरपालिकामा सात हजार ११८ घर पूर्ण क्षति भएको छ । यीबाहेक आंशिक क्षति भएका परिवारका लागि पनि अस्थायी आवासको आवश्यकता छ । नगरभरमा आठ हजारभन्दा बढी अस्थायी आवासको आवश्यकता छ ।
गोठ निर्माण गरेर भूकम्प प्रभावितको व्यवस्थापन गर्छौँ : हरिचन्द्र बस्नेत, अध्यक्ष, कुशे गाउँपालिका, जाजरकोट
तपाईंको पालिकामा कति नागरिक प्रभावित छन् र राहत वितरणको अवस्था कस्तो छ ?
हाम्रो पालिकाभरमा चार हजार ६०२ घर छन् । यसमा ३५० घर पूर्ण रूपमा ध्वस्त भएका छन् । भूकम्पको केन्द्रबिन्दु रहेको रामीडाँडाको सिमानामा रहेका धनराशि र समाइलामा भूकम्पका कारण सातजनाको मृत्यु भयो भने १० जना घाइते भए । गाउँपालिकाको पूर्वी क्षेत्रमा भूकम्पले बढी क्षति गरेको छ । तर, यतिवेला गाउँपालिकाका सबै घरपरिवार पालमुनि छन् । लगातार आइरहेको परकम्पले एकदमै त्रसित बनाइरहेको छ । अहिलेसम्म २८ सय थान त्रिपाल वितरण गरेका छौँ । ४६ सय घरमै त्रिपाल पुर्याउने लक्ष्यमा छौँ । आठ सय बोरा चामल दिएका छौँ भने पाँच–सात सय कम्बल वितरण गरेका छौँ । यसका अलावा चाउचाउ, बिस्कुटलगायत खानेकुरा पनि बाँडेका छौँ ।
कुशेमा पनि चिसोबाट दुईजनाको मृत्यु भएको भनिएको छ । चिसो झन् बढ्दै छ । भूकम्प प्रभावितलाई चिसोबाट जोगाउन के गर्दै हुनुहुन्छ ?
हाम्रोमा शुक्रबार मात्र दुईजनाको मृत्यु भएको छ । वडा नम्बर ५ र ६ मा एक–एकजनाको पालमै मृत्यु भएको छ । उहाँहरूलाई विभिन्न स्वास्थ्य समस्या रहेको र पालको चिसोमा बस्नुपर्दा उहाँहरूको ज्यान गएको ठानेका छौँ । यो समस्या अब झ्न बढ्नेछ भन्ने विश्लेषण छ । त्यसकारण हामी सचेत र गम्भीर हुनुको विकल्प छैन । सकेसम्म पाल र कम्बलको व्यवस्था त गरेका छौँ, तर यतिले चिसो छेक्ने सम्भावना छैन ।