१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
कैलालीको त्रिनगर भन्सार नाका
२o८१ बैशाख १८ मंगलबार o६:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कैलालीको त्रिनगर नाकाबाट खाद्यान्न र तरकारीको आयात तीन महिनादेखि ठप्प

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:o४:oo

प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्दको असर

नेपालगन्ज नाकाको भर पर्दा लागत बढ्यो, बजारमा भाउ पनि बढ्दाे

कैलालीको त्रिनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी, फलफूल, कुखुराको दानालगायत वस्तुको आयात तीन महिनादेखि ठप्प भएको छ । सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान, गहुँ, मकै, दलहनलगायत खाद्यान्न, फलफूल, तरकारी, पशुपन्छी तथा दुग्धजन्य वस्तुको आयात २८ साउनदेखि रोकिएको हो । 

प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालयले यी वस्तुको आयात–निर्यातका लागि अनुमतिपत्र जारी गर्नेसँगै परीक्षणको कार्य गर्दै आएको थियो । तर, क्वारेन्टिन सेवा बन्द हुँदा खाद्यान्न, फलफूल, तरकारीलगायत वस्तुको आयात पूर्ण रूपमा रोकिएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए ।

कञ्चनपुरको गड्डाचौकीमा रहेको प्लान्ट क्वारेन्टाइन मातहत त्रिनगर नाकामा प्लान्ट क्वारेन्टाइनको टुर मुकाम कार्यालयले बिरुवा तथा बिरुवाजन्य उपजको आयात–निर्यातको अनुमति दिनुका साथै परीक्षण गर्ने गरेको थियो । कतिपय उपजको परीक्षण खाद्यले गथ्र्यो । केन्द्रको परिपत्रअनुसार त्रिनगर नाकाको टुर मुकाम कार्यालयबाट सेवा बन्द गरिएको प्लान्ट क्वारेन्टाइन गड्डाचौकीका प्रमुख प्रमोद ठगुन्नाले बताए । 

प्लान्ट, खाद्य र पशु क्वारेन्टाइनलाई एकीकृत रूपमा सञ्चालन गर्न सरकारले देशभरका चारवटा टुर मुकाम कार्यालयमा सेवा बन्द गरेको थियो । ठगुन्नाका अनुसार त्रिनगर नाकाबाट वार्षिक सवा दुई अर्बभन्दा बढी मूल्यको खाद्यान्न, तरकारी तथा फलफूल भारतबाट आयात हुने गर्छ भने करिब तीन करोडको तेजपत्ता र पिना भारत निर्यात हुन्छ ।

नेपालगन्ज नाकाको भर पर्दा लागत बढ्यो, बजारमा भाउ पनि बढ्दाे
त्रिनगर नाकाबाट खाद्यान्न, तरकारी, फलफूल आयात रोकिएपछि सुदूरपश्चिममा लागत महँगिएको छ ।धनगढीको राजश्री फुड इन्डस्ट्रिजका सञ्चालक मनोज अग्रवालले उद्योगका लागि आवश्यक कच्चा पदार्थ नेपालगन्ज नाका भएर आयात गर्नुपर्दा लागत बढेको बताए । ‘कच्चा पदार्थको आयातका लागि नेपालगन्जको भर पर्नुपरेको छ । त्रिनगरबाट ल्याउन पाइँदैन,’ उनले भने, ‘आयातको लागत बढ्दा खाद्य तथा कुखुराको दाना उत्पादन गर्ने उद्योगबाट उत्पादित वस्तुको मूल्य पनि बढेको छ ।’ मूल्य बढाउनुपर्दा पूर्वतिरका उद्योगसँग वस्तुको मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको उनले बताए । आयात सहज नभएको भन्दै व्यवसायीले तरकारी र फलफूलको मूल्य पनि बढाएका छन् । मूल्य वृद्धिको मार उपभोक्तालाई परेको छ । कञ्चनपुरको गड्डाचौकी नाकामा प्लान्ट क्वारेन्टाइन छ । तर, गड्डाचौकी नाकाबाट ठूला सवारीसाधन आउन नसक्ने भएकाले नेपालगन्ज नाकाबाट वस्तु आयात गर्नुपरिरहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

बनबासा पुलको सीमित भारबहन क्षमताका कारण भारतले मालबाहक ट्रक ल्याउन नदिने र नेपालगन्ज नाकाबाट ल्याउँदा ढुवानी मूल्य बढ्ने भएकाले खाद्यान्न, तरकारी र फलफूलको आयातमा व्यवसायीले समस्या भोग्नुपरिरहेको उनले बताए । ‘क्वारेन्टाइन बन्द भएपछि कच्चा पदार्थको आयातमा समस्या भएको छ । व्यवसायी मारमा परेका छन् । उद्योगको उत्पादन प्रभावित भएको छ,’ अध्यक्ष कुँवरले भने, ‘खाद्यान्न, तरकारी, फलफूलको मूल्य बढ्दा उपभोक्ता पनि मारमा छन् ।’  

क्वारेन्टाइन पुनर्स्थापनागरिदिन प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको आग्रह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले त्रिनगर नाकामा प्लान्ट क्वारेन्टाइन पुनर्स्थापनागर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । मुख्यमन्त्री शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत सोमबार पत्र पठाउँदै त्रिनगर नाकामा स्थायी रूपमा प्लान्ट क्वारेन्टाइन स्थापनाको निर्णय गरिदिन आग्रह गरेका हुन् ।

क्वारेन्टाइन सेवा बन्द हुँदा उद्योगहरू प्रभावित भएका र वस्तुको मूल्य बढ्दा त्यसको मार जनताले भोग्नुपरिरहेको मुख्यमन्त्री शाहले बताए । क्वारेन्टाइन सेवा सञ्चालनका लागि प्रदेश सरकारले यसअघि प्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको मुख्यमन्त्री शाहको गुनासो छ ।

‘सुदूरपश्चिम प्रदेशको मुख्य नाकाको रूपमा रहेको कैलाली भन्सारमा प्लान्ट क्वारेन्टाइन बन्द हुँदा एकातिर सुदूरपश्चिम प्रदेशका खाद्य, मैदा, तेल, बेकरीसँग सम्बन्धित उद्योग प्रभावित भएका छन् भने अर्कोतिर कृषिजन्य वस्तुसँगै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष मार आमनागरिकमा परेको छ,’ मुख्यमन्त्री शाहले प्रधानमन्त्रीलाई पत्र पठाउँदै भनेका छन् । 

कैलालीका उद्योगी, व्यवसायीले पनि क्वारेन्टाइन स्थापनाको माग गर्दै मंगलबार मात्र प्रधानमन्त्री कार्यालयसँगै कृषि मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।


     
    
    
 

ad
ad