१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तीन चार्टर उडानमार्फत भित्रिए दुई सय २५ भियतनामी पर्यटक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:५९:oo

काठमाडौंबाट भियतनाममा गरिएको सीधा चार्टर उडानमार्फत दुई सय २५ भियतनामी पर्यटक नेपाल भित्रिएका छन् । ट्राभल कम्पनी रुप्से होलिडेजले हिमालय एयरलाइन्सको एयरबस–३२० जहाज चार्टर गरेर २१, २५ र २९ अक्टोबरमा भियतनामको हानोइमा सीधा उडान गरेको थियो । सोही एयरलाइन्समार्फत तीन सय २८ नेपालीले भियतनाम भ्रमण गरेका छन् ।

नेपाल र भियतनामबीच पहिलोपटक यति धेरै संख्यामा पर्यटक आदान–प्रदान भएको रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए । ‘कुनै पनि ट्राभल एजेन्सीले एकैपटक तीन–तीनवटा जहाज चार्टर गरेर भियतनामका लागि उडान गरेको पहिलोपटक हो,’ उनले भने, ‘भियतनाम र नेपालबीच पर्यटकीय सम्भाव्यताको यो सफल परीक्षण पनि थियो ।’

तीन घन्टाको सीधा उडान रहेको भियतनाम–नेपाल हवाई यात्राले नयाँ पर्यटकीय गन्तव्यमा आकर्षण देखिएको छ । नयाँ वर्ष सुरु भएपछि २०२४ जनवरी ५ र जनवरी १० मा थप दुई चार्टर उडान गर्ने पराजुलीले बताए । जनवरीमा नेपालीले ९९ हजार नौ सय ९९ रुपैयाँमा भियतनाम घुम्न पाउनेछन् । यसमा दुईतर्फ हवाई टिकट, पाँच रात होटेल र हलोङ्ग बेमा डे क्रुजसहितको टुर प्याकेज रहेको उनको भनाइ छ । 

अक्टोबरमा भएको उडानमा नेपालीले प्रतिव्यक्ति एक लाख २० हजार खर्चिएर भियतनामको पाँचदिने भ्रमण गरेका हुन् । यस्तै, भियतनामबाट आएका पर्यटकले काठमाडौं, लुम्बिनी र सौराहा घुमफिर गरे । चार्टर उडानमार्फत भियतनाम घुम्न पुगेकी ‘आई एम द वल्र्ड ट्राभलर’का रूपमा चिनिएकी न्हेन्सु गौतमले भनिन्, ‘चार्टर उडानबाट भियतनाम घुम्नुको मज्जा बेग्लै रह्यो, हरेक ठाउँमा आफूलाई भिआइपी भएको महसुस भयो । यदि यो उडान नहुँदो हो त भियतनाम घुम्न जान पैसा पनि धेरै लाग्ने र झन्झट पनि धेरै हुने थियो । यो टुर मैले अपेक्षा गरेभन्दा राम्रो भयो ।’ 

आर्थिक रूपमा यी चार्टर उडानहरू खासै मुनाफायोग्य नरहे पनि देशको पर्यटन विकासका लागि जोखिम उठाएको रुप्सेका प्रबन्ध निर्देशक पराजुलीले बताए । उनले भने, ‘१५ प्रतिशतभन्दा बढी बुद्ध धर्मावलम्बीहरू रहेको देशमा हामीले बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्ने सन्देश प्रवाह गर्दै धार्मिक पर्यटक वृद्धि गर्ने योजना बुनेका छौँ ।’  

ad
ad