१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कृषियन्त्र खरिदमा एक करोड  ३१ लाख हिनामिना

प्रदेश सचिव र ठेकेदारसहित चारविरुद्ध मुद्दा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:१८:oo

कृषियन्त्र खरिदमा एक करोड ३१ लाख हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिव र ठेकेदारसहित चारजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सम्झौताविपरीत न्यून गुणस्तरको मिनिटिलरलगायत कृषियन्त्र खरिद गरी रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको हो । 

लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष ०७५/७६ मा किसानलाई कृषियन्त्र आपूर्ति गर्दा रकम हिनामिना गरेको आरोपमा अख्तियारले आइतबार मुद्दा दायर गरेको हो । ठेकेदार कम्पनीले एउटा ब्रान्डको यन्त्र उपकरण उपलब्ध गराउने भनी फारम भराई रकम लिएको तर अनुदानमा वितरण भएको मिनिटिलरलगायत उपकरण स्पेसिफिकेसन र सम्झौताविपरीत कम क्षमता र गुणस्तरको पाइएको अख्यिारले जनाएको छ । 

हिनामिनामा अख्तियारले तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीको भूमिका प्रमुख ठहर्‍याएको छ । उनले सम्झौताबमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमनसमेत नगरी भुक्तानीसम्बन्धी टिप्पणी सदर गरेको पाइएको छ । सम्झौताबमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्रान्डको मिनिटिलर खरिद र आपूर्तिकर्तालाई भुक्तानी गरी सचिव अधिकारीले प्रदेश सरकारलाई एक करोड ३१ लाख ६० हजार बदनियतपूर्वक हानि पुर्‍याएको ठहर अख्तियारको छ । त्यही रकमलाई बिगो कायम गरिएको छ । 

त्यस्तै, सम्झौताबमोजिम खरिदसम्बन्धी कागजात संलग्न भए/नभएको एवं सम्झौताबमोजिम गुणस्तर र ब्रान्डको यन्त्र उपकरण रहे÷नरहेको अध्ययन नगरी सम्झौतामा उल्लेख भएबमोजिम गुणस्तर र ब्रान्डभन्दा कम गुणस्तर र फरक ब्रान्डको यन्त्र उपकरण आपूर्तिकर्तालाई भुक्तानीका लागि टिप्पणी सिफारिस गरेको आरोपमा मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख (उपसचिव) श्रीधर ज्ञवालीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । फरक ब्रान्ड र कम गुणस्तरको यन्त्र उपकरण आपूर्तिकर्ताले पेस गरेको कागजात जस्ताको तस्तै भुक्तानीका लागि टिप्पणी पेस गरेको भन्दै कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीविरुद्ध पनि उत्ति नै बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ । 

सम्झौतामा उल्लेख भएबमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने मिनिटिलर खरिद नगरी कम गुणस्तर र ब्रान्डको मिनिटिलर वितरण गरी भुक्तानी माग गरी प्रदेश सरकारलाई बदनियतपूर्वक एक करोड ३१ लाख ६० हजार हानि–नोक्सानी पुर्‍याएको आरोपमा अख्तियारले ठेकेदार कम्पनी आधुनिक कृषि किसान संसार र त्यसका प्रबन्ध निर्देशक राजाराम तिवारीविरुद्ध त्यति नै बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । यसअघि गत वर्ष ६ वैशाख ०७९ मा पनि अख्तियारले हाल प्रतिवादी बनाइएका सबैविरुद्ध यही हिनामिनामा मुद्दा दायर गरेको थियो । न्यून गुणस्तरको मिनिटिलर खरिद गरी प्रदेश सरकारलाई ३७ लाख १५ हजार रुपैयाँ हानि पुर्‍याएको आरोपमा अख्तियारले उनीहरूविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । 

ad
ad