१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

भूकम्पपीडितलाई बुटवलले २५, तिलोत्तमाले १० र सियारीले आठ लाख दिने

भूकम्प प्रभावित क्षेत्रमा बुटवलबाट एकीकृत रुपमा राहत सामग्री पठाइने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:३४:oo

भूकम्पपीडितलाई बुटवल उपमहानगरपालिकाले २५ लाख सहयोग गर्ने भएको छ। उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउन अपिलसमेत गरेको छ। 

गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयका बैठकहरूको निर्णयबमोजिम बुटवलभित्रका संघसंस्था तथा क्लबहरूलाई एकीकृत रूपमा राहत सामग्री पठाउनका लागि आह्वान गरेको हो।

बुटवल उपमहानगरपालिकामा आइतबार बसेको बैठकले बुटवलभित्रका सामाजिक संघसंस्था, व्यक्ति र क्लबहरूले पठाउने राहत सामग्री जाजरकोट र रुकुम पश्चिमसम्म पठाउन बुटवल उपमहानगरपालिकाले समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ।

जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री पठाउँदा अव्यवस्थित भएको र वितरणमा कठिनाइ भएकाले व्यवस्थित र एकीकृत रूपमा पठाउने र वितरण गर्ने संघीय सरकारको तयारीबमोजिम एकीकृत रूपमा राहत सामग्री पठाउने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

प्रमुख पाण्डेयका अनुसार बुटवल उपमहानगरपालिकाले राहत सामग्री र भौतिक संरचना निर्माणका लागि तत्काल २५ लाख रुपैयाँ सहयोग गर्ने र आवश्यकताअनुसार अन्य सहयोग गर्ने निर्णय भएको छ।

जसमा जनप्रतिनिधि र कर्मचारीको योगदान रहने उनले बताए। ‘विपतका समयमा चर्चा कमाउनकै लागि राहत पठाउने र प्रभावितले नपाउने विगतको भोगाइलाई ध्यानमा राखेर हामीले जाजरकोट र रुकुम पश्चिममा संघ र प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरेर भौतिक संरचना बनाइदिने योजना बनाएका छौँ,’ उनले भने, ‘यसले दीर्घकालीन रूपमा स्थानीयलाई पनि लाभ हुनेछ।’

बुटवल उपमहानगरपालिकाको आह्वानमा बसेको विपत् व्यवस्थापन समितिको बैठकमा बुटवल उद्योग वाणिज्य संघ बुटवल र रुपन्देही व्यापार संघले एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

यस्तै, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीले ५० हजार नगद र अन्य सहयोग गर्ने तथा पश्चिमाञ्चल ट्रक व्यवसायी प्रालि बुटवलले चारवटा ट्रकको भाडाबराबर चार लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। 

यस्तै, मासु व्यवसायी संघ, रेडक्रस सोसाइटीलगायतका संस्थाहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।बुटवलभित्रका संघसंस्थादेखि राहत दिन चाहनेहरूसँग समन्वय गर्नका लागि बुटवल उपमहानगरपालिकाले फोकल पर्सन तोकेको छ। 

विपत् शाखाका प्रमुख योगेश चापागाईंसँग सम्पर्क गरी राहत तथा नगद उपमहानगरपालिकामा जम्मा गर्न सकिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बताए।

उनले प्रभावितलाई पठाउने राहत प्रभावितसम्म पुग्ने व्यवस्था मिलाउन नगर प्रहरी र थप कर्मचारी खटाइने तथा आवश्यकताअनुसार संघसंस्थाहरूसँग समन्वय गर्ने बताए।

तिलोत्तमाको १० लाख सहयोग

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भूकम्प प्रभावित दुई जिल्लामा उद्धार, राहत र पुनर्स्थापनाका लागि पाँच–पाँच लाखका दरले १० लाख रुपैयाँ पठाएको छ।

नगरपालिकाले आर्थिक सहयोगसँगै घाइतेको उपचारका लागि स्वास्थ्यकर्मीको टिम, औषधसहितका सामग्री जाजरकोट र रुकुम पश्चिम पठाएको छ। नगर प्रमुख रामकृष्ण खाणले स्वास्थ्यकर्मीको टोलीलाई आफूले प्रयोग गर्दै आएको गाडी उद्धार कार्यका लागि पठाएका छन्।

सियारीले आठ लाखबराबर सामग्री सहयोग गर्ने

रुपन्देहीको सियारी गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा आठ लाखबराबरको खाद्यान्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको आइतबारको बैठकले दाल, चामल, सोयाविन, डसना, ब्ल्यांकेट र दुई वर्षदेखि १४ वर्षभित्रका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वीटरलगायतका सामग्री पठाउने निर्णय गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए।

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट पाँच लाख, गाउँपालिका अध्यक्षबाट एक महिनाको तलब, कार्यपालिका तथा गाउँसभा सदस्यबाट पाँच दिन र कर्मचारीबाट एक दिनको तलबबापतको रकमबाट उक्त सामग्री खरिद गरी पठाउन लागिएको पन्थीले जानकारी दिए। 

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले विपत्तिमा परेका आमनागरिकलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेको सबै सियारीवासी नागरिकलाई आग्रह गरेका छन्।

उनले सियारी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमार्फत भूकम्पपीडित परिवारलाई सहयोग गर्न आग्रहसमेत गरेका छन्।
 

ad
ad