
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटका भूकम्पपीडितको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ।
बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ। भूकम्पबाट प्रभावित सम्पूर्णप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि बैंकले व्यक्त गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा जनाएको छ।
सिटिजन्स बैंकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रूपमा कृषि, पशुपालन र जडीबुटीसम्बन्धी कर्जासमेत उपलब्ध गराउँदै आएको छ। जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको विश्वास बैंकले लिएको छ।