१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Sunday, 11 May, 2025
धर्नामा बसेका विष्णुपुर गाउँपालिकाका कर्मचारी
२o८o कार्तिक १८ शनिबार o५:२९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बजेट नल्याउँदा सिराहाको विष्णुपुर गाउँपालिकामा कर्मचारीको तलब रोकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार o५:२९:oo

स्वास्थ्य संस्थामा औषधि अभाव, विद्यार्थीको दिवा खाजा ठप्प

चालू आर्थिक वर्ष ०८०/८१ को साढे तीन महिना बित्दा पनि बजेट नल्याउँदा सिराहाको विष्णुपुर गाउँपालिकामा कर्मचारीको तलब रोकिएको छ । असारमा गाउँ सभामार्फत बजेट ल्याउनुपर्ने भए विष्णुपुरले अझै सभा गरेको छैन । कार्यसमितिबाट निर्णय गराएर खर्च गर्ने बाटो पनि नखोल्दा समस्या भएको हो । 

विष्णुपुरका कर्मचारीको तलबभत्ता तीन महिनादेखि रोकिएको छ । स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । बजेट निकासा नहुँदा १४ सामुदायिक विद्यालयका बालबालिकाको दिवा खाजा कार्यक्रम रोकिएको विष्णुपुर गाउँपालिकाका शिक्षा संयोजक दीपकुमार यादवले बताए ।  

गर्भवती र सुत्केरीलाई निःशुल्क दिँदै आएको क्याल्सियम, आइरन चक्कीलगायत अत्यावश्यक औषधि अभाव भएको स्वास्थ्य शाखा प्रमुख रामसेवक रायले बताए । औषधि खरिद गर्न चालू आवमा १६ लाख बजेट भए पनि पालिकाले खरिद प्रक्रिया सुरु गर्नसकेको छैन ।  

बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता पनि वितरण हुन सकेको छैन । विष्णपुर गाउँपालिकाले एक करोडभन्दा बढी सामाजिक सुरक्षाअन्तर्गत रकम वितरण गर्दै आएको छ । चालू आवमा चार हजार एकजनालाई वितरण गर्नुपर्ने सामाजिक सुरक्षाको रकम गाउँ सभा हुन नसक्दा निकासा नै रोकिन पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश यादवले बताए ।

धर्नामा कर्मचारी, सेवामा फर्कन अध्यक्षको आग्रह
प्रशासन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका कर्मचारीले गाउँपालिकाले चाडपर्वका वेला पनि तलब उपलब्ध नपाएको भन्दै बुधबारदेखि धर्ना सुरु गरेका छन् । धर्ना २१ कात्तिकसम्म रहने नगर शिक्षा संयोजक दीपकुमार यादवले बताए । ‘गाउँपालिकाले गाउँ सभा गर्न नसक्दा कर्मचारीले तलबभत्ता पाउन सकेका छैनन्,’ यादवले भने, ‘गाउँ सभा नहुँदा कर्मचारीको तलबभत्ता मात्र नभएर विकास निर्माण नै रोकिन पुगेको छ ।’

विष्णपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले बिहीबार पत्रकार सम्मेलन गरेर कर्मचारीलाई धर्ना रोकेर काममा फर्किन आह्वान गरे ।  ‘सबैसँग संवादको ढोका खुला छ,’ उनले भने, ‘सबै जनप्रतिनिधि, कर्मचारी मिलेर गाउँ सभा गरी गाउँपालिकालाई नमुना बनाउनुपर्छ । यसमा सबैले सहयोग गर्नुपर्छ ।’

बजेट बाँडफाँटमा विवाद
विष्णुपुर गाउँपालिका जनप्रतिनिधिबीच बजेट बाँडफाँटमा विवाद हुँदा गाउँ सभा हुन सकेको छैन । गत १० असारमा गाउँ सभाको उद्घाटन सत्र भए पनि बजेट पेस हुन सकेन । वडाध्यक्षहरूले समयमा योजना पेस नगर्दा बजेट ल्याउन नसकेको गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले बताए ।  ‘प्रत्येक वडालाई ७५/७५ लाख बजेट दिने गरी टुंगिएको थियो,’ यादवले भने, ‘अहिलेसम्म वडा १ का अध्यक्षले योजना बुझाउनुभएको छैन ।’ 

दसैँअगावै बजेट ल्याउने प्रयास गर्दा पनि सम्भव नभएको भन्दै अध्यक्ष यादवले गाउँ सभा गराउने प्रयासमा रहेको र चाँडै गाउँ सभा गरी निकास निकाल्ने बताए  । विष्णुपुरमा अध्यक्ष यादव एमालेबाट निर्वाचित एक्लो जनप्रतिनिधि हुन् । उपाध्यक्ष गीताकुमारी सिंह र दुई वडाध्यक्ष जसपाका छन् । तीनजना वडाध्यक्ष कांग्रेसका छन् ।

बजेट नल्याउने तीन पालिकाले पाएनन् अनुदान

सिराहाका १७ पालिकाध्ये तीनले तोकिएको समय घर्किएको साढे तीन महिना बित्दा पनि चालू आव ०८०/८१ को बजेट ल्याउन सकेका छैनन् । असारमा गाउँ/नगर सभामार्फत बजेट ल्याउनुपर्ने भए बरियारपट्टी, विष्णुपुर र सखुवानन्कारकट्टी गाउँपालिकाले अझै सभा गरेका छैनन् । जसकारण यी पालिकाले संघ र प्रदेशबाट प्राप्त हुने अनुदान रकम पनि पाउन सकेका छैनन् । संघ र प्रदेश सरकारबाट प्राप्त हुने सर्सत, विशेष, समानीकरण र समपूरक अनुदानको किस्ताका लागि पालिकाले बजेटको रातोकिताबसहित माग गर्नुपर्छ । तर, बजेट नै नल्याएकाले यी पालिकाले अनुदान प्राप्तिको प्रक्रिया अगाडि बढाउन नसकेका हुन् । कोष तथा लेखानियन्त्रक कार्यालय सिराहाका प्रमुख ध्यानकुमार राईले तीनवटै पालिकाले रेडबुकसहित रकम माग गर्न नआएकाले निकासा दिन नसकिएको बताए ।