१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o कार्तिक १६ बिहीबार ११:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेका चार पालिका भौतिक र पर्यटनको विकासमा एकजुट भएर लाग्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार ११:२९:oo

काभ्रेका चार पालिका रोशी, महाभारत, खानीखोला र बेथानचोक गाउँपालिकाले भौतिक र पर्यटन विकासमा एकजुट भएर लाग्ने निर्णय भएका छन् । सिमाना जोडिएको यी चार पालिकाको सीमा क्षेत्रमा पर्यटकीय स्थलहरू रहेकाले त्यसको विकासका लागि चारै पालिकाले संयुक्त पहलकदमी गर्ने भएका हुन् ।

बुधबार रोशी गाउँपालिकाको सभाहलमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा अन्तरपालिका बैठक बसी सो निर्णय गरेका हुन्। बैठकले पर्यटन पूर्वाधार, भौतिक पूर्वाधार, विपत् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, साझा प्राकृतिक स्रोतको उपयोग र व्यवस्थापनको विषयमा चार पालिकाबीच साझेदारी रूपमा के गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको थियो । 

बैठकले जनमुक्ति मार्गको गोकुले-तालढुंगा-भोर्लेनी सडकखण्ड र पिन्थली-रजवास-भूमेचुली सडकखण्ड निर्माण कार्यका लागि र महाभारत ट्रेल (पर्यटन पदमार्ग)को बेथानचोक-ताराखसे लेकसम्मको ठेक्का प्रक्रियाका लागि आवश्यक विशेष पहल गर्ने निर्णय गरेको छ ।

सो बैठकमा रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकाभित्रका जनताको आयस्तरमा वृद्धि गरी समृद्ध पालिका निर्माणका लागि पर्यटकीय गन्तव्यको पहिचान र संरक्षण गरी एकीकृत पर्यटन पूर्वाधार विकासका संयुक्त प्रयास गर्ने बैठकमा निर्णय भएको छ ।

महाभारत ट्रेल (पर्यटन पदमार्ग), बेथानचोक नारायणस्थान, तिनतले झरना, शिव–पार्वती गुफा, कपेर महाँकाल, तिलेश्वर पर्यटन क्षेत्र, ताराखसे लेक, घ्याङलेक, चैतेपानी तथा भूमेचुली पर्यटन क्षेत्रको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रवर्द्धनमा संयुक्त लगानी गर्न एकीकृत कार्ययोजना निर्माण गरी कार्यान्वयनमा प्रभावकारी पहल गर्ने निर्णय भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उक्त पर्यटकीय क्षेत्रको विकासका लागि बागमती प्रदेश र संघीय सरकारसमक्ष बजेट व्यवस्थापनका लागि संयक्त पहल गर्ने निर्णय भएको उनको भनाइ छ ।

त्यस्तै, भौतिक पूर्वाधार विकासका लागि चारै गाउँपालिकालाई समेट्ने गरी जनमुक्ति मार्ग निर्माणका लागि संयुक्त पहल गर्ने र चारवटै गाउँपालिकाभित्र पर्ने विभिन्न सडक, पुल, सिँचाइ तथा भवनलगायतका भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाहरू कार्यान्वयन गर्दा अन्तरपालिकाहरूबीच आवश्यक समन्वय, सहकार्य र समझदारी कायम गरी संयुक्त रूपमा बजेट विनियोजन गर्ने र थप बजेट व्यवस्थाका लागि प्रदेश तथा संघीय सरकारसमक्ष संयुक्त पहल गर्ने निर्णय भएको छ । चौकीडाँडा–सिपाली–महाभारत सडक सञ्जाल, खोपासी–च्याम्राङबेँसी–तालढुंगा सडक, खोपासी–च्याम्राङबेँसी–सुकुमफेदी–फापरबारी सडक, फलामेसाँघु–ताराखसेलेक–महाभारत सडक, फलामेसाँघु–तिनधारे झरना–खानीखोला सडक र फलामेसाँघु–महाँकाल भुग्देउ–कामीडाँडा सडक स्तारोन्नतिका लागि चारै पालिकाले बजेट छुट्याउने र थप बजेटका लागि बागमती प्रदेश र संघ सरकारलाई संयुक्त रूपमा पहल गर्ने निर्णय निर्णय भएको छ ।

मानव स्वास्थ्य तथा पशुजन्य विपत् तथा अन्य प्रकारका प्रकोपहरूको पहिचान गरी सोको न्यूनीकरण तथा व्यवस्थापनका लागि चारवटै पालिकाले एकीकृत कार्ययोजना बनाई अगाडि बढ्ने, चारवटै पालिकाको भौगोलिक साँध–सिमानाका सम्बन्धमा उत्पन्न असमझदारीहरुको पहिचान गरी सहअस्तित्वको भावनाअनुरूप एक–आपसमा समन्वय, सहकार्य र समझदारीपूर्वक समाधानका लागि पहल गर्नेजस्ता निर्णय भएको लामाले बताए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको अन्तरपालिका समन्वय बैठकमा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपाकिाका उपाध्यक्ष मिमबहादुर वाइबा ज्वाला, खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा, महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तान, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, प्रवक्ता वसन्तकुमार तामाङ, बेथानचोक गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिना, बेथानचोक– २ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिना, रोशी गाउँपालिकाका योजना शाखा प्रमुख राम लामालगायतको उपस्थिति रहेकाे थियाे ।