मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १० बिहीबार
  • Thursday, 22 February, 2024
नयाँ पत्रिका म्याग्दी
२०८० कार्तिक १२ आइतबार १३:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युवाकाे पहलमा झाडी फाँडेर सामूहिक सुन्तला खेती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
२०८० कार्तिक १२ आइतबार १३:०७:००

म्याग्दीको रघुगंगा गाउँपालिका– १ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोवास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो। 

०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो। पहिरोपछि कल्लेरीको पाखो उत्तीस, ऐंसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो। 

बादुकमा जन्मिएर हाल बेलायतमा बसोवास गर्ने अर्जुन तिलिजालगायतले ०७८ मा कल्लेरी पाखोलाई पुरानै अवस्थामा फर्काउने योजना गाउँलेलाई सुनाए। बादुकवासी र जनप्रतिनिधिलाई बाँझिएर बनेको झाडी फाँडेर खनजोत गरी सुन्तला र एभोकाडो खेती गर्ने योजना मन पर्‍याे।

गाउँले, प्रवासी र विवाह गरेर अन्यत्र गएका चेलीबेटीले रु. ५० हजारदेखि एक लाख संकलन गरेर बादुक सामूहिक कृषि फार्म स्थापना मात्र गरेनन् झाडी फाँडेर सुन्तलाको हराभरा बगैँचा बनाएका छन्। 

‘पहिरोपछि हामीले खेती गर्न छाडेर झाडीमा परिणत भएको कल्लेरीको पाखो यस्तो हराभरा सुन्तलाबारीमा रूपान्तरण गर्न सकिएला भनेर सोचेका पनि थिएनौँ,’ बादुकका बासिन्दासमेत रहेका वडासदस्य भक्तबहादुर शेरपुञ्जाले भने, ‘सबै गाउँले, विदेशी र छोरीचेली मिलेर झाडी फाँडेर सुन्तला बगैँचा बनाउन सफल भएका छौँ।’

एक सय ३० रोपनी पाखोबारीमा एक हजार पाँच सय बोट सुन्तलाका बिरुवा हुर्किरहेका छन्। सुन्तलासँगै चार सय बोट एभोकाडो लगाएकामा पहिरोले क्षति गरेर अहिले एक सय बोट मात्र छन्। पहिरोले तीन सय बोट एभोकाडोमा क्षति गरेको छ। सुन्तला बगैँचाभित्र तोरीखेती र मौरीपालन गरेका छन्। 

‘पूर्व फर्किएको कल्लेरीको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त भएकाले व्यावसायिक हिसाबले सामूहिक खेती गरेका हौँ,’ स्थानीय बेगबहादुर पुर्जाले भने, ‘झाडी फाँड्न, खनजोत गर्न र सुन्तला लगाउन एउटा घरले दुई महिनासम्म श्रमदान गरेका छौँ। अहिलेसम्म सोचेभन्दा राम्रो भएको छ।’

उनका अनुसार ५५ जनाले रु. एक–एक लाख र पाँचजनाले रु. पचास–पचास हजार सेयर लगानी गरेका छन्। फार्म स्थापना गर्न हालसम्म करिब रु. ४० लाख खर्च भएको छ। फार्म रेखदेख गर्न बादुकका नरकाजी फगामी र लोकेन्द्र गर्बुजालाई कर्मचारी राखिएको छ।

रोजगारी सिर्जना र गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक सुन्तला खेती गरेको फार्मका सञ्चालकहरूको भनाइ छ। जग्गाधनीले सुन्तलाबाट आम्दानी नहुँदासम्म जग्गाको भाडा नलिने सहमति गरेका छन्। सुन्तला खेतीमा आवश्यक पर्ने मलका लागि तीनवटा जर्सी जातका गाई र एक साँढे पालिएको छ। गाईको दूध बेचेर एकजनाको तलब व्यवस्थापन गरिएको छ। 

सेयर लगानी गरेकाहरूबाट सुन्तलाले उत्पादन नदिँदासम्म वार्षिक रु. दुई हजार पाँच सयका दरले नगद अथवा पाँच दिनबराबर श्रमदान गर्नुपर्ने नियम बनाएका छन्। बगैँचा गोडमेल, मलजल गर्न श्रमदान र सेयर सदस्यबाट संकलन गरेको रकम परिचालन गरिएको छ। रु. २० लाखको कोषबाट अर्का एकजना कर्मचारीको तलब व्यवस्थापन गरिएको छ।

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र म्याग्दीले बादुकको सामूहिक सुन्तला खेतीलाई सहयोग गरेको छ। कल्लेरीमा सिँचाइ योजना निर्माण गर्न चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट रु. २० लाख बजेट विनियोजन भएको गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले बताए। रासस