टीका थापेर फर्किएको राति आमासहित तीन छोराछोरीको सामूहिक हत्या

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ ।

२८ वर्षीया श्रीदेवी बोहोरा, उनका  ११ वर्षीय छोरा मनोज, सात वर्षीया छोरी अप्सरा र एक वर्षीय छोरा रहरको हत्या भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । श्रीदेवीका श्रीमान् वैदेशिक रोजगारीमा छन् । 

आज बिहान ११ बजेतिर घटनाको खबर पाएपछि डिएसपी थापा टोली लिएर घटनास्थल गएका थिए । उनले चारैजनाको घाँटी रेटेर हत्या गरेको पाइएको बताए । स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । 

स्थानीयका अनुसार श्रीदेवी छोराछोरी लिएर मंगलबार विजयादशमीको टीका थाप्न सोही वडामा पर्ने कोटिल्लामा रहेको माइतीघर गएकी थिइन् । भोलिपल्ट बुधबार बेलुकातिर घर फर्किएका उनीहरूको सोही राति हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । 

बिहीबार बिहान घरमा चहलपहल नदेखेपछि छिमेकी श्रीदेवीको घर पुगेका थिए । तर, घरको मूलढोकामा ताला लगाएको देखेपछि केटाकेटीसहित खेतमा सिमी टिप्न गएको ठानेर फर्किएका थिए । 

तर, शुक्रबार बिहान पनि कुनै चहलपहल नभएपछि छिमेकी पुग्दा ढोकामा ताला झुन्डिरहेको थियो । त्यसपछि स्थानीयले ताला फोडेर भित्र हेर्दा घाँटी रेटेर हत्या गरेको अवस्थामा चारैजना भेटिएका थिए । 

स्थानीयले घटनाबारे जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय गमगढी र पिना प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलको मुचुल्कासहित अनुसन्धान अघि बढाइएको डिएसपी थापाले जानकारी दिए । उनले घटनाको सबै कोणबाट अनुसन्धान हुने बताए । अनुसन्धानका लागि तालिमप्राप्त कुकुर झिकाइने पनि उनले जानकारी दिए । घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीन घन्टा पैदल दक्षिणपूर्वमा रहेको छ ।

सुझावित समाचार