Skip This
अपराध अनुसन्धानमा नेपाल प्रहरीले विश्वस्तरमा ख्याति कमाएको छ : प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १ बुधबार o९:o८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अपराध अनुसन्धानमा नेपाल प्रहरीले विश्वस्तरमा ख्याति कमाएको छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १ बुधबार o९:o८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमित साधनस्रोत, जनशक्ति र अनेकौँ चुनौतीबीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याति नेपाल सरकारका लागि पुँजी भएको बताएका छन् । ६८औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल प्रहरीले आफू र आफ्नो सेवा प्रवाहलाई समयसापेक्ष आधुनिकीकरण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा समेत प्रभावशाली प्रहरी संगठनको रूपमा स्थापित हुन सफल भएको भन्दै प्रशंसा गरेका हुन् । 

आमनागरिकको सरोकार र राज्यका समस्यामा नेपाल प्रहरीले प्रथम पंक्तिमा रहेर समस्या सम्बोधन र समाधान गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘आमनागरिकले दुःखमा सम्झिने पहिलो राज्य संयन्त्र नेपाल प्रहरी हुने गरेको छ, यो आफैँमा महत्वपूर्ण कुरा हो ।’ 

गौरवशाली इतिहास कायम गरेको प्रहरी संगठनले धेरै बाधा, अवरोध र चुनौतीहरूको सामना र परास्त गरेर आजको अवस्थामा आइपुगेको यस अवसरमा आफ्नो इतिहास र परम्परालाई कायम राख्दै थप जिम्मेवारीबोध र कार्यसम्पादनका निम्ति सिंगो प्रहरी संगठन परिवारमा प्रधानमन्त्रीले अनुरोध गरे । नेपाल प्रहरीको छविमाथि प्रश्न उठ्ने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम रहेको उनले विश्वास व्यक्त गरे । 

सीमित साधनस्रोत, जनशक्ति र अनेकौँ चुनौतीबीच पनि अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याति नेपाल सरकारका लागि पुँजी भएको उल्लेख गरे । समाजमा बदलिँदो आपराधिक परिवेश, विश्वव्यापीकरणसँगै फैलिएको अन्तर्राष्ट्रिय अपराधको सञ्जाल, सूचना प्रविधिले ल्याएको विकास र यसले निम्त्याएको विनाश, अनुशासनहीनतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले आफ्नो स्वरूप र सेवा प्रवाहमा सोहीअनुरूप विकास र परिवर्तन गर्दै गएको देख्दा गर्व र खुसी लागेको उल्लेख गर्दै उनले सूचना–प्रविधिको विकाससँगै अपराधका नयाँ–नयाँ आयाम विकसित भइरहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीले आगामी दिनमा प्रविधिमैत्री संयन्त्र र विधिको भरपूर उपयोग गर्नुपर्ने बताए । 

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनीयता, गुणस्तरीयता एवं जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिष्कृत, परिमार्जित र सुदृढ गर्दै लगेको बताए । समय, परिवेश र विकासको गतिसँगै संगठनको विकास र विस्तार गर्दै आइरहेको चर्चा गर्दै नेपाल प्रहरीको सेवामा प्रभावकारिता वृद्धि गर्न आन्तरिक सुदृढीकरण र शुद्धीकरण गर्ने उद्देश्यसहित नेपाल प्रहरी कार्ययोजना, २०८० कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । 

थापालाई लाइफटाइम, गुरुङलाई प्रहरी ब्याटन 
 अवकाशप्राप्त प्रहरी निरीक्षक कोमलबहादुर थापालाई नेपाल प्रहरीले यस वर्षको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ । प्रधानमन्त्री दाहालले मंगलबार उक्त अवार्ड प्रदान गरेका हुन् । करिब तीन दशक थापाले प्रहरीमा प्रशिक्षकका रूपमा योगदान दिएका थिए । 

अन्तरप्रदेश प्रहरी कार्यदक्षता मूल्यांकन (प्रहरी ब्याटन) २०८० तर्फ सर्वोत्कृष्ट भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङलाई प्रहरी ब्याटन २०८० गरिएको छ । 

नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी नेपाल र नेपाल प्रहरी संगठनको गरिमा विश्वमाझ उच्च राख्न निर्वाह गरेको साहसिक तथा जोखिमपूर्ण कार्यको उच्च मूल्यांकन गर्दै प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोतम नेपालीलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’ प्रदान गरिएको छ । विशेष ब्युरोका प्रहरी निरीक्षक मोहम्मद कलिम अञ्जुमलाई ‘पूर्ण शान्ति पुरस्कार’ र नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी वरिष्ठ नायब निरीक्षक दुर्गाकुमार योञ्जनलाई ‘मोतीलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ प्रदान गरिएको छ । साथै हालै चीनमा सम्पन्न एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरीका खेलाडीहरू एरिका गुरुङ, नितु गुरुङ, मानमती विष्ट, अर्पणा चौधरी, दीपेन्द्रसिंह ऐरीलाई प्रधानमन्त्रीले नगद तथा सम्मानपत्र प्रदान गरेका छन् ।