
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य घटेको लाभ लिने गरी नेपाल आयल निगमले नेपाली बजारमा उपभोक्ता मूल्य समायोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको दरअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले आइतबार दिउँसो मूल्य पठाएपछि निगमले आइतबार रातिबाट लागू हुने गरी पेट्रोलमा ११ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान पाँच–पाँच रुपैयाँ प्रतिलिटर मूल्य घटाएको हो ।
सोमबारबाट काठमाडौंमा पेट्रोल एक सय ७२ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यस्तै, तराईमा प्रतिलिटर २.५० रुपैयाँ सस्तो हुने गरी पेट्रोल एक सय ६९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेल समान एक सय ६५ रुपैयाँ ५० पैसा कायम गरिएको छ भने छोटो ढुवानी दूरी भएका कारण सुर्खेत र दाङका उपभोक्ताले काठमाडौंमा भन्दा प्रतिलिटर एक रुपैयाँ सस्तो हुने पेट्रोल एक सय ७१ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ६७ रुपैयाँ कायम गरिएको छ ।
आयल निगमका प्रवक्ता मनोज ठाकुरले आइतबार आइओसीबाट प्रतिलिटर पेट्रोल ११.१८ रुपैयाँ डिजेल ५.०३ रुपैयाँ घटेर आएकाले नेपाली बजारमा सोहीअनुसार समायोजन गरिएको जानकारी दिए । ‘चाडपर्वको समयमा आमउपभोक्ताको हितलाई मध्यनजर गर्दै स्वचालित मूल्य प्रणालीसम्बन्धी कार्यविधिलाई यथावत् राखी मूल्य समायोजन गरिएको छ,’ उनले भने ।
कार्यविधिमा मूल्य समायोजन गर्दा खरिद लागतमा प्रतिलिटर पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा जोडेर बिक्री मूल्य निर्धारण गर्ने व्यवस्था गरिएको छ । यसपटक मूल्य समायोजन गर्दा नाफा नराखिएको प्रवक्ता ठाकुरले जानकारी दिए । निगमले यसपटक नाफा नराखे पनि विगतमा भने स्वचालित कार्यविधि देखाएर ठूलो नाफा राख्दै आएको थियो । जसकारण चालू आवको तीन महिना (साउन, भदौ र असोज) मा मात्रै निगमले करिब पौने दुई अर्ब नाफा आर्जन गरिसकेको छ ।
यसअघि १३ असोजमा समेत निगमले ठूलो दरले मूल्यवृद्धिको निर्णय गरेको थियो । तर, त्यतिवेला चर्को विरोध भएपछि प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरी मूल्यवृद्धि फिर्ता गराएका थिए ।
चाडपर्वका मुखमा निगमलाई नाफा नराखी उपभोक्तालाई राहत दिएका छौँ
मनोज ठाकुर प्रवक्ता, आयल निगम लिमिटेड
३१ असारदेखि ‘पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, ०८०’ अनुसार मूल्य समायोजन हुने गरेको विदितै छ । तर, यसपटक सो कार्यविधिले निर्दिष्ट गरेको पेट्रोल र डिजेलको नाफा नराखी उपभोक्ता मूल्य निर्धारण गरेका छौँ । चाडपर्वका वेला आमसर्वसाधारणको हितलाई ध्यानमा राखेर जति मूल्य घटेर आएको छ, त्यति नै घटाएर बिक्री गरेका छौँ ।
विगतमा भएको घाटापूर्ति तथा ऋण भुक्तानीका लागि केही दायित्व बाँकी नै भएको अवस्थामा पनि हामीले नाफालाई महत्व नदिई उपभोक्ताहितलाई उच्च प्राथमिकता दिएर यसपटक मूल्य समायोजन गरेका छौँ । तसर्थ, घटेको पेट्रोलियम पदार्थको मूल्यबाट अन्य क्षेत्रमा भएका खर्चका शीर्षकमा समेत कमी आई आमउपभोक्ताले लाभ लिनुहुनेछ भन्ने विश्वाससमेत राखेका छौँ ।