2023-07-20-01-13-30.jpeg)
स्थानीय समस्याले केही समय अवरुद्ध बनेको नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण कार्य पुनः सुरु गरिएको छ । सुरुङमार्गको पूर्वी पोर्टलको ८३ मिटरमाथि खाडल परेको थियो भने नौवटा घर चर्किएका थिए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खाडल परेको ठाउँको विज्ञद्वारा अनुसन्धान गराउने र चर्किएका घरलाई अस्थायी स्थानान्तरण गर्ने निर्णय गरेपछि अवरुद्ध सुरुङमार्गको काम पुनः सञ्चालनमा आएको मन्त्रालयको भनाइ छ ।
सुरुङमार्ग निर्माणका क्रममा भएका समस्या समाधान गर्न सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीको नेतृत्वमा एक समिति गठन गरिएको छ । सुरुङमार्ग निर्माणस्थलमा कसरी खाडल पर्यो ? कति घर चर्केका छन्, त्यसको कारण पत्ता लगाउन र पीडितलाई स्थानान्तरणको व्यवस्था गर्न समिति बनेको हो ।
आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा र क्षतिपूर्तिको समस्या तत्काल सुल्झाउने निर्णय पनि भएको छ । मुआब्जा र क्षतिपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरेर तत्काल समस्या समाधान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।