१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o८:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अञ्जनले गरे हरि र नीराजनको सर्वाधिक गोल रेकर्ड बराबरी

सन् २००३ मा नीराजन रायमाझी र हरि खड्काले राखेको सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको रेकर्ड अञ्जन विष्टले गरे बराबर

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:४६:oo

११ हजार समर्थकमाझ दशरथ रंगशालामा ४९औँ मिनेटमा गोल गर्दै स्ट्राइकर अञ्जन विष्टले पूर्वकप्तान हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको १३ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका छन् । सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एसियन छनोटमा बिहीबार अञ्जनले लाओसविरुद्ध गोल गर्दै हरि र नीराजनका नाममा संयुक्त रूपमा रहेको कीर्तिमानी १३ अन्तर्राष्ट्रिय गोल बराबरी गरेका हुन् । उनकै गोलको सहयोगमा नेपालले घरेलु मैदानमा लाओससँग १–१ को बराबरी खेल्यो । नेपाली टोलीले मंगलबार लाओसको घरेलु मैदानमा खेल्नेछ ।

 एरिक विष्टको कर्नरमा अञ्जनले डिबक्सभित्र हेड गोल गरेका थिए । उनले लाओसका ६ रक्षकबीच चलाखीपूर्ण हेडिङ गोल गरेका हुन् । गोलसँगै अञ्जनले दुई दशकदेखिको नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरे । २५ वर्षीय अञ्जनले यात्रा लामो भएको बताए । ‘यो नै मेरो अन्त्य हैन, अझै लामो यात्रा गर्नुछ,’ रेकर्ड बराबरी गरेपछि अञ्जनले भने । सन् २०१४ मा उनले प्रशिक्षक ज्याक स्टेफानोस्कीको प्रशिक्षणमा फिलिपिन्सविरुद्ध डेब्यु गरेका थिए । उनले सन्दीप राईको स्थानमा ६१औँ मिनेटमा मैदानभित्र प्रवेश गरेका थिए । सन् २०१९ मा अञ्जनले चाइनिज ताइपेईविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरे ।

उनले बंगलादेशविरुद्ध ह्याट्रिकसँगै चार गोल र चाइनिज ताइपेईविरुद्ध तीन गोल गरेका छन् । इराक, भारत, श्रीलंका, पाकिस्तान, कुवेत र लाओससँगको खेलमा उनले समान एक गोल गरेका छन् । अञ्जन आफूले रेकर्डभन्दा पनि नेपालको जितका लागि खेलेको बताएका छन् । ‘मैले रेकर्डका लागि कहिल्यै पनि खेलिनँ र खेल्दिनँ पनि । अझै धेरै खेल्न बाँकी छ,’ उनले भने, ‘पहिलो खेल जित्नुपर्ने थियो, खेल जित्दै जानुपर्छ, एक दिन रेकर्ड बनिहाल्छ ।’ 

जुमानु राई, भरत खवास र अनिल गुरुङ सर्वाधिक १३ अन्तर्राष्ट्रिय गोलको नजिक पुगेका थिए । उनीहरूले त्यो रेकर्ड बराबरी गर्न सकेनन् । अञ्जनकै समकक्षी विमल घर्तीमगर अस्ट्रेलिया पलायन भएका छन् । लाओसविरुद्ध बराबरी भए पनि अञ्जनले आफू खुसी नभएको बताए । ‘१३ गोलको कीर्तिमान बराबर हुँदा पनि म खुसी छैन । हाम्रो लक्ष्य जित थियो,’ उनले भने । 

लाओसविरुद्ध निराशाजनक प्रदर्शन
नेपालले पाहुना टोली लाओसविरुद्ध निराशाजनक प्रदर्शन गर्‍यो । नेपालले पहिलो हाफमा राम्रो अवसर बनाउन सकेन । लाओसले निकै

आकर्षक खेल प्रस्तुत गर्दै नेपालमाथि दबाब बनाएको थियो । नेपाली खेलाडीमा आत्मविश्वासको कमी देखिन्थ्यो । घरेलु खेलाडी आक्रमणभन्दा पनि ब्याक पास खेल्नमै केन्द्रित भए । मध्यान्तरपछि प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले तीन खेलाडी परिवर्तन गरे । त्यसपछि नेपालको खेलमा सुधार आयो । 

आशिष चौधरीको स्थानमा एरिक विष्ट, आयुष घलानको स्थानमा दिनेश हेन्जन र आवास लामिछानेको स्थानमा उत्सव राई मध्यान्तरपछि मैदानमा छिरेका थिए । दोस्रो हाफको चौथो मिनेटमै नेपालले १–१ को बराबरी गोल फर्कायो । खेलको ३३औँ मिनेटमा लाओसका बौनफाचन बौनकोङले नेपाली रक्षकलाई जिल्याउँदै १–० का लागि गोल गरे । उनको प्रहार दोेस्रो बारमा लाग्दै गोल भएको थियो । नेपालका प्रशिक्षक एनेसले प्रतिस्पर्धामा खुसी हुने स्थान नभएको प्रतिक्रिया दिए । 
‘पहिलो हाफको सुरुमा राम्रो भयो । पछि हामी ब्याक पासमा केन्द्रित भयौँ । दोस्रो हाफमा राम्रो भयो,’ उनले भने, ‘तर, नतिजा स्तब्धपूर्ण नै रह्यो, अब अवे खेलमा जित्न प्रयास हुनेछ ।’ अञ्जनले बराबरीपछि समर्थकसँग माफी मागे ।

‘समर्थकसँग माफी माग्छु । हामी जित्न आएका थियौँ, तर सफल भएनौँ,’ उनले भने, ‘हामीले आफ्नै कमजोरीमा गोल खायौँ । दसैँको मुखमै खेल जितेर घरेलु समर्थकमाझ खुसी मनाउन चाहन्थ्यौँ ।’ उनले दोस्रो खेलमा गोर्खाली पाराले खेल्ने र दोस्रो चरणका लागि छनोट हुने बताए ।

 

ad
ad