१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुनसम्बन्धी जाँचबुझ आयोगले सिआइबीसँग माग्यो सबै अनुसन्धान प्रतिवेदन

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o७:oo

सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी गठित जाँचबुझ आयोगले नेपाल प्रहरीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको सुनसम्बन्धी अनुसन्धान प्रतिवेदन मागेको छ । आयोगले मोटरसाइकल/स्कुटरको ब्रेकसुमार्फत भएको ६०.७१६ केजी र विद्युतीय चुरोट (भेप)मा लुकाई तस्करी गरिएको साढे नौ किलो सुनको अनुसन्धान प्रतिवेदन माग गरेको हो । 

आयोगले शुक्रबार नै प्रहरी प्रधान कार्यालयलाई घटनासँग सम्बन्धित प्रतिवेदन उपलब्ध गराउन पत्र पठाएको छ । प्रधान कार्यालयले आयोगको पत्र मातहतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा मंगलबार नै पठाइसकेको छ । सुन तस्करीसम्बन्धी दुवै घटनाको सिआइबीले अनुसन्धान गरिरहेको छ । 

सिआइबी अनुसन्धानमा अध्ययन गर्न आयोगले प्रतिवेदन मागेको जाँचबुझ आयोग सदस्य तथा नेपाल प्रहरीका पूर्वएआइजी सहकुल थापाले बताए । ‘आयोगले आफ्नो काम सुरु गरिसकेको छ । सोहीअनुसार घटनासँग सम्बन्धित यसअघि भएको अनुसन्धान अध्ययन गर्नुपर्ने भयो । सोही प्रयोजनका लागि नेपाल प्रहरीसँग सुन तस्करीसँग सम्बन्धित दुवै घटनाको अनुसन्धान प्रतिवेदन माग गरिएको हो,’ उनले भने । 

जाँचबुझ आयोग सदस्य तथा नेपाल प्रहरीका पूर्वएआइजी सहकुल थापा भन्छन्–
आयोगले आफ्नो काम सुरु गरिसकेको छ । सोहीअनुसार घटनासँग सम्बन्धित यसअघि भएको अनुसन्धान अध्ययन गर्नुपर्ने भयो । सोही प्रयोजनका लागि नेपाल प्रहरीसँग सुन तस्करीसँग सम्बन्धित दुवै घटनाको अनुसन्धान प्रतिवेदन माग गरिएको हो । 

भेप तथा मोटरसाइकल/स्कुटरको ब्रेकसुमार्फत गरिएको सुन तस्करी जाँचबुझ गर्न सरकारले गत १४ असोजमा आयोग गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गठित आयोगले सिंहदरबार पुरानो गृह मन्त्रालयस्थित भवनमा कार्यालय राखी कारबाही प्रक्रिया अघि बढाएको छ । गत बुधबार बसेको आयोगको पहिलो बैठकले सुन तस्करीसँग सम्बन्धित तथ्यगत सूचना एवं सुझाव प्राप्त गर्न सञ्चारमाध्यममार्फत सूचना सार्वजनिक गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार घटनासँग सम्बन्धित सूचना एवं सुझाव १६ कात्तिकसम्म पेस गर्न सकिनेछ । 

आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश डिल्लीराज आचार्यले भेप तथा ब्रेकसुमार्फत गरिएको सुन तस्करीसँग जोडिएको जोकोहीलाई पनि आयोगले पक्राउ गर्ने, हिरासतमा राख्ने र आवश्यक अनुसन्धान गरिने बताएका छन् । घटनासँग जोडिएका जोकोहीलाई पक्राउ गर्ने अधिकार आयोगलाई प्राप्त भएको हुँदा जाँचबुझ जरोसम्म पुगेर हुने उनको भनाइ छ । 

गत १० पुसमा फ्लाई दुबईको जहाज हुँदै अन्तर्राष्ट्रिय विमानस्थल झरेका चिनियाँ नागरिक ली हानसोङ ई–सिगरेटसहित पक्राउ परे । अनुसन्धानपछि भेपभित्र नौ किलो सुन रहेको खुलेका थियो । उक्त घटनामा माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा मुछिएका थिए । 

घटनाको अनुसन्धानका क्रममा सिआइबीले राहुललाई पक्राउ गरेको थियो । उनीसहित घटनामा संलग्न चारजनाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा चलाइसकेको छ । कृष्णबहादुरविरुद्ध भने मुद्दा चलाउन नपर्ने सिआइबीको निष्कर्ष छ । 

त्यस्तै, गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारको जाँचपास पार गरेर बाहिरिएको ६०.७१६ किलो सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । उक्त सुन मोटरसाइकल र स्कुटरको ‘बे्रकसु’मा लुकाएर हङकङबाट क्याथे प्यासिफिकको जहाज हुँदै नेपाल ल्याइएको थियो । जसको अनुसन्धान पछि सिआइबीले गरेको थियो । २९ जनलाई प्रतिवादी बनाइएको उक्त मुद्दामा अहिले जिल्ला अदालत काठमाडौंमा बहस जारी छ । 

सरकारबाट गठित आयोगले सिआइबीबाट भएको अनुसन्धानलाई पनि जाँचबुझ गर्ने र कैफियत देखिएको खण्डमा कारबाहीका लागि सिफारिस गर्नेछ । जाँचबुझका क्रममा नेपालसहित घटना जोडिएका अन्य मुलुकमा समेत जान सकिने आयोगका अध्यक्ष आचार्यले बताएका छन् । 

सिआइबीका अनुसार हङकङबाट नेपाल हुँदै भारतमा सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक वाङ डाओजिन हुन् । सिचुनाव प्रान्तका उनी कारोबारका लागि पटक–पटक नेपाल आउने–जाने गरेको देखिन्छ । ६०.७१६ किलो सुन बरामद हुनु केही दिनअघि मात्रै उनी नेपाल आएका थिए ।

कारोबारका लागि उनी हङकङ बस्ने गर्छन् । उनको कारोबारमा जेनपेङ योङछिन, झोङ जिङछुन, लिन र लीसहित अन्य तीनजना साझेदार छन् । उनीहरू हङकङमा नै बस्छन् । 

सुन कारोबारका लागि उनीहरूले हङकङमा ताल्मुड, डोङगुन सुता ट्रान्सपोर्टेसन, जिनमेन फेङटोन ट्रान्सपोर्टेसनलगायतका १० कम्पनी खडा गरेका छन् । तिनै कम्पनीमार्फत उनीहरूले तस्करीको सुन नेपाल पठाउँदै आएका छन् । घटना अनुसन्धानमा संलग्न एसपी कृष्ण पँगेनीले तस्करीको सुुन नेपाल पठाउन तस्करले हङकङमा विभिन्न १० कम्पनी खोलेको बताए ।

आठ अर्ब ५५ करोड बिगो दाबी गर्दै मुद्दा दायर
विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गरेको आरोपमा राहुल महरासहित चारजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । राहुलसहित सर्लाही बागमती नपा– ५ का लोकेन्द्रकुमार पौडेल, तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र बौद्ध बस्ने निमा गुरुङलाई मुद्दामा प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध संगठित अपराध, भन्सार छलीलगायत कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । दावाविरुद्ध बढीमा पाँच वर्ष कैद सजाय र आठ अर्ब ५५ करोड २८ लाख तीन सय ७४ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै, राहुल, लोकेन्द्रकुमार र निमाविरुद्ध डेड वर्ष कैद सजाय माग दाबी गरिएको छ । 

ad
ad