
कप्तान रोहित शर्माको विस्फोटक ब्याटिङको मद्यतमा भारतले अफगानिस्तानविरुद्ध आइसिसी एकदिवसीय विश्वकपको आफ्नो दोस्रो खेलमा रवाफिलो जित हासिल गरेको छ ।
दुई सय ७३ रनको लक्ष्य पछ्याएको भारतले ३५ ओभरभित्रै लक्ष्य पूरा गर्यो । रोहितले केवल ८४ बलमा एक सय ३१ रन बनाए । यसक्रममा उनले पाँच छक्का र १६ चौका प्रहार गरे ।
यस्तै, विराट कोहलीले ५६ बलमा ५५ रन बनाए । उनी अविजित रहे । रोहितसँगै ओपनिङ गरेका इशन किसनले ४७ रनको योगदान गरे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ७२ रन बनाएको थियो ।
अफगानिस्तानको ब्याटिङ इनिङमा कप्तान हस्मतुल्लाह सहिदीले सर्वाधिक ८० रनको योगदान गरे। ८८ बल खेलका उनले आठ चौका र एक छक्क प्रहार गरे। यस्तै, अजमतुल्लाह ओमारजाईले ६२ रन बनाएर अफगानिस्तानलाई भारतसामु फाइटिङ टोटलका लागि योगदान दिए। उनले ६९ बलमा दुई चौका र चार छक्का प्रहार गरेका थिए।
३५ ओभरमा चौथो विकेट गुमाउनुअघि एक सय ८४ रन बनाइसकेको अफगानिस्तानले बाँकी १५ ओभरमा उल्लेख्य रन बनाउन सकेन।
भारतका स्ट्राइक बलर जसप्रित बुमराहले चार विकेट लिएपछि अफगानिस्तानको रन गतिमा लगाम लाग्यो।
आजको जितपछि भारतले दुई खेलबाट चार अंक जोडेको छ । अफगानिस्तान भने दुवै खेलमा पराजित भएको छ ।