Skip This
उपत्यकामा फैलिँदै डेंगु : आठ दिनमा १५७ जनामा संक्रमण, अस्पताल पुग्ने बिरामी दिनहुँ बढ्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २४ बुधबार
  • Saturday, 27 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o असोज २४ बुधबार o९:१३:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

उपत्यकामा फैलिँदै डेंगु : आठ दिनमा १५७ जनामा संक्रमण, अस्पताल पुग्ने बिरामी दिनहुँ बढ्दै

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २४ बुधबार o९:१३:oo

काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा जनवरी (पुस)देखि नै फैलिएको डेंगु संक्रमण नियन्त्रण नहुँदा जोखिमपूर्ण अवस्था सिर्जना भएको छ । सरकारी निकायबाटै डेंगु नियन्त्रणमा प्रभावकारी कदम नचाल्दा उपत्यकासहितका जिल्लामा नपत्याउँदो गरी संक्रमण फैलिरहेको छ ।

पछिल्ला आठ दिन (१ अक्टोबरयता)मा मात्रै उपत्यकाभित्र एक सय १५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यही गतिमा संक्रमण बढ्दै जाने हो भने अक्टोबर महिनामा मात्रै चार सय ५० भन्दा बढी व्यक्ति संक्रमित हुने तथ्यांकले देखाएको छ । यसअघि १ देखि ८ सेप्टेम्बरमा उपत्यकाका तीन जिल्लामा जम्मा ६० जनामा संक्रमण देखिएको थियो ।

तर, १ देखि ९ अक्टोबरमा एक सय ५७ जनामा संक्रमण देखिएको छ । जसमा सबैभन्दा कम भक्तपुरमा एकजना, ललितपुरमा ३० जना र काठमाडौंमा एक सय २६ जनामा संक्रमण देखिएको छ । यो तथ्यांकले काठमाडौंमा संक्रमण अस्वाभाविक रूपमा बढ्दै गइरहेको देखाउँछ । अघिल्लो महिना सेप्टेम्बरमा काठमाडौंमा दुई सय ३०, ललितपुरमा ४९ र भक्तपुरमा एक सय १० गरी तीन सय ८९ जनामा संक्रमण देखिएको थियो ।

तर, अक्टोबरमा यो संख्या थप उच्च हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाउँछ । महाशाखाका अनुसार १ जनवरीयतादेखि काठमाडौंमा सात सय ६४, भक्तपुरमा दुई सय ६३ र ललितपुरमा दुई सय ५२ जनामा संक्रमण देखिएको छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले केही दिनदेखि डेंगु संक्रमण बढ्दै गइरहेको बताए । ‘मनसुन सकिएलगत्तै डेंगु संक्रमण पनि बढ्दो क्रममा छ, तर यसको रोकथाम प्रयास निकै कमजोर भएको छ,’ उनले भने, ‘अस्पतालहरूमा उपचार गर्न आउने डेंगुका बिरामीको संख्या धेरै छ, तर सरकारी र नागरिक तहबाट यसको नियन्त्रणमा चासो देखिँदैन ।’ 

नेपालमा गत वर्ष भयावहको अवस्थामा फैलिएको डेंगु संक्रमणले जनवरी २०२३ मा पनि तीव्रता लिएको थियो । गत वर्ष काठमाडौंमा सबैभन्दा बढी फैलिएको डेंगु यस वर्ष सुनसरीमा फैलिएको छ । तर, डेंगु नियन्त्रणमा यो वर्ष पनि सरकारले प्रभावकारी कदम चाल्न सकेन । गत वर्ष पनि लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा चुकेको सरकार अहिले पनि त्यही स्थितिमा छ । अघिल्लो वर्षबाट पाठ सिकेर यस वर्ष रोकथाममा प्रभावकारी कदम चाल्नुपर्ने भए पनि सरकार डेंगु संक्रमणप्रति सचेत छैन । डेंगु नियन्त्रणमा सरकारले पर्याप्त जनशक्ति परिचालन गरेको छैन भने लामखुट्टेका लार्भा फैलने सडकमा पानी जम्ने खल्डा पुरिएको पनि छैन । मोटरसाइकल वर्कसपहरूले अव्यवस्थित रूपमा पुराना टायरमा पानी जम्ने गरी राखेका छन् भने नागरिकस्तरमा पनि यसको सचेतना सुरु भएको छैन ।

स्थानीय तहहरूले प्रचारबाजीका लागि ‘लामखुट्टेका लार्भा खोज र नष्ट गर’ अभियान चलाइरहे पनि त्यो प्रभावकारी छैन । स्वास्थ्य सेवा विभाग, उपचारात्मक महाशाखा प्रमुख डा. अनुप बाँस्तोलाले डेंगु संक्रमण अझै बढ्न सक्ने चेतावनी दिए । यसको नियन्त्रणबारे चासो नदिए जोखिम निम्तने उनको भनाइ छ । ‘जनप्रतिनिधिले डेंगु नियन्त्रणका लागि प्रचारबाजी मात्रै गर्नुभएको देखिन्छ, यसलाई राजनीतिक तह तथा स्थानीय तहले गम्भीर रूपमा लिएको पाइँदैन,’ उनले भने, ‘टायर, गमला र खाली भाँडामा पानी जम्न नदिन कम्तीमा साताको एकपटक लामखुट्टे तथा लार्भा नियन्त्रण अभियानलाई तीव्रता दिनुपर्छ ।’ महाशाखाका निर्देशक डा. रुद्र मरासिनी डेंगु रोकथामका लागि सरकारी निकाय र नागरिक समाज नै जागरुक हुनुपर्ने बताउँछन् । सरकार र नागरिकको बेवास्ताका कारण संक्रमण दर अझै नियन्त्रणउन्मुख अवस्थामा छैन । नेपालमा डेंगुको पहिलो केस ०६१ सालमा देखिएको थियो ।  

यस वर्ष जनवरीमा एक सय ३०, फेब्रुअरीमा दुई सय २८, मार्चमा दुई सय तीन, अप्रिलमा एक सय ५३, मेमा एक सय ५८, जुनमा एक हजार दुई, जुलाईमा ६ हजार ६९, अगस्टमा १३ हजार आठ सय ४६, सेप्टेम्बरमा ११ हजार पाँच सय ८० र अक्टोबर ९ तारिखसम्म तीन हजार नौ चार सय ७५ जनामा संक्रमण देखिएको छ । महाशाखाको तथ्यांकअनुसार उपत्यकाबाहेकका जिल्लाहरूमा पनि डेंगु संक्रमण नियन्त्रणउन्मुख छैन । हालसम्म सुनसरीमा डेंगु संक्रमित हुनेको संख्या १६ हजार ९५ पुगेको छ । त्यस्तै, झापामा तीन हजार पाँच सय ७१, धादिङमा तीन हजार एक सय २९, तनहुँमा तीन हजार सात सय दश, मोरङमा दुई हजार दुई सय ७३, कास्कीमा एक हजार चार सय आठ, संखुवासभामा पाँच सय २८, कैलालीमा चार सय ८१, धनकुटामा चार सय ४५ जनामा संक्रमण देखिएको छ । हालसम्म देशका ७६ वटा जिल्लामा डेंगु संक्रमण फैलिएको छ भने २० जनाले मृत्युवरण गरेका छन् ।