१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o६:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सिक्किममा मजदुरी गर्ने इलामका पाँचजना एक सातादेखि सम्पर्कविहीन, टिस्टाको बाढीमा फसेको आकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:३२:oo

रोजगारीका लागि भारतको सिक्किमको लाचेन उपत्यकामा रहेका इलामको इलाम नगरपालिका– ९ गोलार्खका चार मजदुर र एक बालिकासहित पाँचजना एक सातादेखि सम्पर्कविहीन भएका छन् । उनीहरू टिस्टा नदीमा आएको बाढीमा फसेको आशंका गरिएको छ । श्रीमान्, श्रीमती, छोरी र थप दुईजना गरी पाँचजना टिस्टामा बाढी आएकै दिन अर्थात् १७ असोजदेखि नेपालमा परिवारसँग सम्पर्कविहीन भएका हुन् । उत्तरी सिक्किमको ल्योनाक हिमताल विस्फोटपछि १७ असोजमा टिस्टा नदीमा आएको बाढीमा परी हालसम्म ५५ जनाको मृत्यु भइसकेको र एक सय ४१ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सम्पर्कविहीन हुनेमा इलाम नगरपालिका– ९ गोलार्खका २९ वर्षीय कुमार बस्नेत, उनकी श्रीमती नरमाया बस्नेत र नौ वर्षीया छोरी खुसी बस्नेत रहेका छन् । त्यस्तै, सोही गाउँका ४० वर्षीय सेनबहादुर कार्की र ३० वर्षीय लाक्पा शेर्पा पनि सम्पर्कविहीन छन् । उनीहरू सिक्किमको लाचेन क्षेत्रमा निर्माण मजदुरको रूपमा कार्यरत थिए । ‘भारतीय सुरक्षाकर्मीले सम्पर्कको पहुँच स्थापित गर्न नसकेको जानकारी पाएका छौँ,’ उनले भने । भारतीय सुरक्षाकर्मीले पनि लाचेन क्षेत्रमा सम्पर्कको पहुँच स्थापित गर्न नसकेका कारण अवस्था थाहा हुन सकेको छैन । 

हिमा क्षत्रीले ३ अक्टोबर अर्थात् १६ असोज राति बहिनी नरमायासँग इमोमा कुराकानी गरेकी थिइन् । त्यसयता सम्पर्क हुन नसकेको र मोबाइल पनि स्विच्ड अफ रहेको उनले बताइन् । ‘बहिनीसँग कुरा भएको थियो, पानी ठूलो आउँदै छ । बिजुली छैन भन्दै थिइन्,’ हिमाले भनिन्, ‘त्यहाँदेखि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । सरकारले उनीहरूको अवस्था पत्ता लगाई उद्धारमा सहयोग गरोस् ।’ 

प्रजिअ पोखरेलले पनि चार मजदुर र बालिका बाढीमा फसेको हुन सक्ने आकलन गरे । ‘बाढी आउनु अघिसम्म उहाँहरू (हाल सम्पर्कविहीन रहेका) परिवारको सम्पर्कमा रहनुभएको रहेछ, तर बाढी आएपछि सम्पर्कमा हुनुहुन्न,’ पोखरेलले भने । 

जिल्ला प्रशासन कार्यालयले उद्धार र खोजीका लागि सीमा सुरक्षा बलमार्फत सिक्किम राज्य सरकारलाई पत्र लेखेको छ । ‘हामीले सिक्किमको सुरक्षा बलमार्फत विवरण पठाएर सम्पर्कमा छैनन् । उनीहरूको खोज तथा उद्धार गरेर सम्पर्कमा ल्याउने वातावरण तयार गर्नुपर्‍यो भनेर पत्र लेखेका छौँ,’ उनले भने, ‘सुरक्षा निकायले हामी प्रयास गरिरहेका छौँ भनेको छ ।’ बाढीका कारण एक हजार तीन सय ८१ घर पूर्ण रूपमा विस्थापित भएका छन् । बाढीका कारण सिक्किका विभिन्न जिल्लाका १४ वटा पुल टिस्टा नदीले बगाएको छ । हालसम्म दुई हजार पाँच सय ६३ जनाको उद्धार भएको सिक्किम राज्य सरकारले जनाएको छ । २५ हजार जनसंख्या प्रभावित भएको छ ।

ad
ad