१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
उद्धारको व्यग्र प्रतीक्षामा इजरायलमा रहेका नेपाली
२o८१ बैशाख २१ शुक्रबार o६:o८:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

हवाई रुट अनुमति लिनुपर्ने असहजताले उद्धारमा ढिलाइ, इजरायलकै जहाजमा ल्याउने सरकारको प्रयास

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o८:oo

दूतावासको अनलाइन प्रणालीमा मंगलबार साँझसम्म स्वदेश फर्कन चाहनेको संख्या २८८

उद्धार, घाइतेको उपचार तथा मृतकको शव नेपाल फर्काउन पूर्ण रूपमा सहयोग गर्ने इजरायली विदेशमन्त्रीको आश्वासन

विभिन्न मुलुकबाट हवाई रुट अनुमति लिनुपर्ने असहजताका कारण इजरायलकै जहाजमा नेपालीलाई ल्याउन सरकारले प्रयास गरेको छ । त्यसो हुन नसके नेपालबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको चार्टर उडान भरेर मृतकको शव तथा त्यहाँ रहेकालाई उद्धार गर्ने सरकारी तयारी छ । 

मंगलबार रातिसम्म इजरायलमा रहेका नेपालीमध्ये दुई सय ८८ जनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन् । नेपाली राजदूतावासको अनलाइन दर्ता प्रणालीमा मंगलबार साँझसम्म तीन सय २४ जना नेपालीले विवरण टिपाएकोमा ३६ जनाले इजरायलमै अर्को ठाउँमा स्थानान्तरण हुन चाहेको उल्लेख गरेका छन् ।

नेपाली राजदूतावासद्वारा मंगलबार राति जारी विज्ञप्तिअनुसार इजरायलको उत्तरी सिमानाआसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई अझ सुरक्षित ठाउँमा सारिएको छ । हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका चारजनाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको पनि दूतावासले जनाएको छ । दूतावासले भनेको छ, ‘हराइरहेका एकजना नेपाली विद्यार्थीको खोजी कार्य प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तीव्र पारिएको छ ।’

परराष्ट्रले मंगलबार साँझसम्म ५५ जना नेपाली विद्यार्थी सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् । उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वनविज्ञान विश्वविद्यालयका २३ छन् । 

सुदूरपश्चिम विश्वविद्यालयका दुईजना राजधानी तेलअभिभ पुगिसकेका छन्, चारजनाको उपचार भइरहेको छ भने एकजना हराइरहेका छन् । त्यही विश्वविद्यालयका १० जना विद्यार्थीको हमास समूहको आक्रमणमा मृत्यु भएको छ । उनीहरू इजरायल र गाजाको सीमा क्षेत्रमा बंकरभित्र आश्रय लिई बसेका थिए । 
इजरायलको उत्तरी सिमानामा अवस्थित किन्नेरेट कलेजमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको परराष्ट्रले जनाएको छ । ‘सम्पर्कविहीन अवस्थामा रहेका विपिन जोशीको खोजी कार्य तीव्र रूपमा भइरहेको छ,’ परराष्ट्रले भनेको छ । 

संसद्को अन्तर्राष्ट्रिय समिति पुगेका परराष्ट्रमन्त्री एनपी साउदले मृतकको शव ल्याउन, घाइतेको उपचार, सम्पर्कविहीनको तत्काल खोजी, असहज परिस्थितिमा परेका नेपालीको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा स्वदेश फिर्तीको चाहना राख्ने नेपालीलाई तत्काल फिर्तीको प्रबन्धका लागि इजरायल सरकारसँग समन्वय भइरहेको उनको भनाइ छ । उनले १० जना नेपालीको शव नेपाल ल्याउन इजरायल सरकारका विधिविज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउने गरी कार्य प्रक्रिया सुरु भइसकेको बताए ।

इजरायलले नेपालीको उद्धार, घाइतेको उपचार तथा मृतकको शव नेपाल फर्काउन पूर्ण रूपमा सहयोग गर्ने बताएको छ । बुधबार परराष्ट्रमन्त्री एनपी साउदसँग टेलिफोन संवादमा इजरायलका विदेशमन्त्री एली कोहेनले १० जना नेपालीको शव नेपाल ल्याउन, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम सहयोग गर्ने आश्वासन दिएका छन् । इजरायल अहिले कठिन मोडमा रहेको भन्दै उनले हमास समूहको आक्रमणमा १० जना नेपालीको निधन भएको घटनाबाट इजरायल स्तब्ध भएको पनि बताए । 

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका थिए । ‘महामहिमज्यू, मृतकहरूको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ । थोरै ढिलाइले पनि घरपरिवारका सदस्यहरूमा झन् पीडा थप्नेछ,’ परराष्ट्रमन्त्री साउदले समकक्षीलाई भने, ‘नेपाली विद्यार्थीको शव स्वदेश ल्याउनका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु । त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्नेछ ।’ 

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चारजना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गर्न पनि आग्रह गरेका छन् । बेपत्ता एकजनाको खोजी कार्य गरिदिन पनि मन्त्रीले आग्रह गरेका थिए । परराष्ट्रमन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यबद्ध रहेको पनि बताएका थिए । 

अन्तर्राष्ट्रिय समितिले इजरायलमा मृत्यु भएका दशजना विद्यार्थीको शव यथाशीघ्र स्वदेश ल्याउन, बेपत्ताको खोजी गर्न र अप्ठ्यारोमा परेकाको उद्धार र सुरक्षित स्थानान्तरणलाई तीव्रता दिन निर्देशन दिएको छ । समितिले स्वदेश आउन चाहनेलाई फिर्तीका लागि तत्कालै बन्दोबस्त गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले भविष्यमा हुन सक्ने घटनाको पूर्वआकलन गर्न र विदेशमा नेपालीको विवरण अद्यावधिक गर्न पनि सरकारलाई निर्देशन दिएको छ । सभापति राजकिशोर यादवका अनुसार भविष्यमा हुन सक्ने घटनाको पूर्वआकलन गरी विदेशस्थित नेपाली दूतावास नियोगलाई नेपालीको विवरण अद्यावधिक गर्न, सम्भावित परिस्थितिको पूर्ण तयारी गर्न, ती निकायलाई स्रोत–साधनसहित सक्षम र सबल बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिको बैठकमा सांसदहरू प्रकाशमान सिंह, उदयशमशेर राणा, एकनाथ ढकाल, सुनिता बराल, दामोदर पौडेल, धवलशमशेर जबरा, शिशिर खनाल, देवीप्रकाश भट्टचन, भीम आचार्य, प्रभु साहलगायतले बोलेका थिए । उनीहरूले इजरायलस्थित नेपाली राजदूतावासालाई थप प्रभावकारी बनाउन माग गरेका थिए । 

राष्ट्रसंघीय महासचिवको नेपाल भ्रमण स्थगित
हमासले इजरायलमा गरेको हमलाबाट विकसित घटनाक्रमका कारण पश्चिम एसियामा बढ्दो तनावको स्थिति मध्यनजर राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ । महासचिवको भ्रमण शनिबारदेखि सोमबारका लागि तय भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा उनी नेपाल आएर चीन भ्रमणमा जाँदै थिए । उनले चीन भ्रमण पनि स्थगित गरेका छन् । राष्ट्रसंघले परराष्ट्र मन्त्रालयलाई यही सूचना पठाएको छ । 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले महासचिव गुटेरेसको भ्रमण स्थगित भएको जानकारी दिइन् । उनले भनिन्, ‘पश्चिम एसियामा विकसित घटनाक्रमका कारण अहिले भ्रमण हुन नसक्ने जानकारी आएको छ । हामी अर्को मितिका लागि गृहकार्य गर्दै छौँ । आवश्यक समयमा जानकारी दिन्छौँ ।’ स्रोतका अनुसार उनको भ्रमण अर्को महिना (नोभेम्बर)मा हुन सक्ने सम्भावना छ ।

ad
ad