
कोशीटप्पु वन्यजन्तु आरक्षले आइतबारदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गँगेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले सुरु गरेको हो ।
सप्तकोशीमा सन् २०२२ देखि नियमित रूपमा डल्फिनको गणना हुँदै आएको कोशीटप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए ।
उनले यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौंस्थित हिमालयन नेचर संस्थालगायतको प्राविधिक सहकार्यमा सुरु गरिएको बताए । उनले चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन दुर्लभ मानिने जानकारी गराए ।
आरक्षका अनुसार गंगासागरबाट कोशी नदीसम्मको यात्रा गर्ने यी डल्फिन सफा र गहिरो पानीमा विचरण गर्न मन पराउँछन् । चार दिनसम्म चल्ने गणना दुई विधिबाट सम्पन्न हुने बताइएको छ ।
सन् २०१२ मा ११ र २०१७ मा १७ डल्फिन देखिएपछि डल्फिनको संरक्षणलाई आरक्षले प्राथमिकता दिएको थियो । त्यसयता वार्षिक गणनाको अभ्यास थालिएको हो । आरक्षको तथ्यांकअनुसार २०२२ मा १७, २०२३ र २०२४ मा समान रूपमा १९ डल्फिन गणना गरिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश संयोजक वीरेन्द्र गौतमले यस वर्ष डल्फिनको संख्या बढ्न सक्ने अनुमान व्यक्त गरे ।