
सांसदहरूले तत्काल चार्टर जहाज इजरायल पठाएर फसेका नेपालीको उद्धार गरी स्वदेश ल्याउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले हमासको आक्रमणबाट इजरायलमा मृत्युवरण गरेका १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरे । उनीहरूले सम्पर्कविहीनको खोजी, घाइतेको उपचार र उद्धारको माग गरे भने मृतकको शव तुरुन्त नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । केही सांसदले परराष्ट्रमन्त्रीलाई चार्टर जहाजसँगै इजरायल पठाउनुपर्ने धारणासमेत राखेका थिए ।
सांसदहरूले पश्चिमी इजरायलमा अलपत्र नेपालीको उद्धारमा सरकारले ढिलाइ गरेको भन्दै विरोध जनाए । उनीहरूले घटना भएको तीन दिनसम्म पनि उद्धारका लागि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना गरे । छिमेकी देशहरूले विशेष विमान पठाएर आफ्ना नागरिकको उद्धार गरिसकेको भन्दै नेपालले पनि यस्तै प्रकृतिको पहल गर्न सुझाव दिएका हुन् ।
कांग्रेस सांसद अर्जुननरसिंह केसीले हमास आक्रमणमा मारिएका १० जना नेपालीको शव तुरुन्त काठमाडौं ल्याउन माग गरे । स्वदेश फर्काउन नेपालीहरूले गुहार गरिरहेको भन्दै केसीले इजरायलमा रहेका नेपालीको यकिन गरी घाइते भएकालाई उपचारको व्यवस्था र नेपाल फर्काउनको निम्ति सरकारले तत्कालै युद्धस्तरमा काम गर्नुपर्ने बताए । पछिल्लो घटनाक्रम कुन खाले विकसित भइरहेको छ र कति नेपाली विस्थापित छन् भन्ने विवरण सरकारले संसदमा पेस गर्नुपर्ने उनको माग थियो । सांसद अञ्जनी श्रेष्ठले इजरायल घटनामा मृत्यु भएकाहरूको परिवारलाई मलमपट्टी लगाउने, घाइते उद्धार र अन्य नागरिकलाई पनि यथाशक्य स्वदेश फर्काउन माग गरिन् ।
एमाले सांसद गोकुल बाँस्कोटाले इजरायलसँग दक्षिण एसियामै नेपालको पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै अहिलेको घटनामा सरकारको कूटनीतिक कमजोरी छताछुल्ल भएको बताए । बाँस्कोटाले दक्षिणी क्षेत्र मात्र होइन अन्य क्षेत्रमा पनि लडाइँ सुरु भएको भन्दै उनले सुरक्षित रूपमा नेपाल फर्काउने प्रबन्ध गर्न माग गरे । सांसद अमरबहादुर रायमाझीले अलपत्र परेका नेपालीको तुरुन्त उद्धारको व्यवस्था गर्न माग गरे । सांसद अमृतलाल राजवंशीले घटनास्थलमा अलपत्र परेका नेपालीको उद्धार गरी स्वदेश फर्काउन माग गरे ।
सांसद आश्माकुमारी चौधरीले बेपत्ता नागरिकको यथाशीघ्र खोजी, घाइतेको उपचार र स्वदेश फर्काउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् । ईश्वरबहादुर रिजालले नेपालीहरू इजरायलमा बंकरभित्र उद्धार र मृत्यु पर्खेर बसेको भन्दै मृत्युको मुखमा पुगेका नेपालीलाई राज्य छ भन्ने अनुभूति गराउन माग गरे । ईश्वरी घर्तीले उद्धारमा भइरहेको ढिलाइले सरकार र नेपाली राजदूत कूटनीतिक रूपमा कमजोर देखिएको टिप्पणी गरिन् । उर्मिला थेबेले हराएका व्यक्तिको खोजी, त्यहाँ रहेका विद्यार्थी र अन्य नेपालीको उद्धार कार्यमा सरकारले ढिलाइ गरेकोमा भत्र्सना गरिन् । बंकरमा लुकेर बस्न बाध्य नेपालीहरूको उद्धारमा तत्काल लाग्न उनले सरकारको ध्यानाकर्षण गराइन् ।
ऋषिकेश पोखरेलले घाइते र बेपत्तासहित सबै नेपालीको सुरक्षाको प्रबन्ध मिलाउन अनुरोध गरे । एकनाथ ढकालले युद्ध घोषणा भइसकेको र नेपाली आतंकित बनेको भन्दै सरकारले तदारुकता नदेखाएको टिप्पणी गरे । प्रभावकारी ढंगबाट नेपालीको उद्धार गर्न उनले माग गरे ।
माओवादी उपमहासचिव जनार्दन शर्माले बेपत्ताको खोजी र घाइतेको शीघ्र उपचारका लागि सरकारसँग माग गरे । युद्धको घोषणा भइसकेपछि संकटमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि विशेष पहल गर्न अनुरोध गरे । अप्ठेरोमा जीवन बिताइरहेकालाई सम्पर्कमा ल्याएर कूटनीतिक पहलमार्फत यथाशीघ्र कार्य अगाडि बढाउन र मृतकको शव नेपाल ल्याउन उनले माग गरे । युद्धरत क्षेत्रमा शान्ति स्थापनाका लागि नेपालको तर्फबाट आफ्नो भूमिका निभाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद अमनलाल मोदीले बेपत्ता विद्यार्थीको खोजी र कूटनीतिक पहलबाट उद्धार गर्न माग गरे । उर्मिला माझीले इजरायलमा जारी युद्ध लम्बिन सक्ने भएकाले प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको उद्धार गर्न प्रभावकारी कूटनीतिक समन्वय र पहल गरी नेपालीहरूलाई स्वदेश फिर्ता गराउन वा सुरक्षित स्थानमा स्थानान्तरण गर्न, घाइतेको सहज उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरिन् ।
छिरिङल्हामु लामा तामाङले मृतकको शव तत्काल नेपाल ल्याउने प्रबन्ध मिलाउन सरकारसँग माग गरिन् । घाइतेको उद्धार र उपचारका लागि इजरायली सरकारसँग समन्वय गर्न र जोखिममा रहेका अन्य विद्यार्थीलाई स्वदेश फर्काउन उनले सुझाइन् । एकढिक्का भएर सबैले सरकारलाई साथ दिनुपर्ने उनको भनाइ थियो ।
रास्वपाका असिम शाहले इजरायलमा १० जना नेपाली मारिनुमा देशभित्रका हमासहरू पनि जिम्मेवार रहेको टिप्पणी गरे । ‘देशमा सीमित मान्छेको रजगज छ । देशको स्रोत–साधनमा यिनै हमासको हालीमुहाली छ । देशको कानुन यिनै हमासका लागि छ । देशभित्रका हमासको अत्याचार सहन नसकेर युवा विदेश जान्छन् । उता अर्काे हमासले ज्यान लिन्छ,’ उनले भने ।