१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २३ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज २३ मंगलबार o६:२८:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

के भयो सर्वदलीय बैठकमा ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २३ मंगलबार o६:२८:oo

राजनीतिक दलहरूले इजरायलमा युद्धक्षेत्रमा फसेका नेपालीको तत्काल उद्धार गर्न तथा युद्धबारे सन्तुलित भएर प्रस्तुत हुन सरकारलाई सुझाव दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा नेताहरूले अप्ठ्यारोमा रहेका नेपालीलाई सुरक्षित स्थानमा ल्याउन र स्वदेश फर्कन चाहनेलाई तत्काल जहाजको प्रबन्ध गर्न सुझाव दिएका हुन् । 

बैठकको सुरुवातमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले इजरायल घटनालाई लिएर सरकारले गरेका ११ निर्णयबारे दलहरूलाई जानकारी गराएका थिए । उनले इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत उपलब्ध गराउनेदेखि घटनामा बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने, घाइतेहरूको तत्काल उपचारका लागि समन्वय र सहजीकरण गर्नेलगायतका निर्णयबारे अवगत गराएका थिए । 

प्रधानमन्त्री प्रचण्डले उद्धार र राहत कार्यलाई कसरी छिटो गर्न सकिन्छ भन्ने विषयमा सम्पूर्ण दलसँग राय मागेका थिए । जवाफमा अधिकांश दलका शीर्ष नेताले इजरायल सरकारसँग समन्वय गरी तत्काल उद्धार गर्न र फर्किन चाहने नेपालीका लागि विमान चार्टर गरेर पठाउन सुझाएका हुन् । यसैगरी नेताहरूले शव जतिसक्दो चाँडो नेपाल ल्याउन र परिवारमा पुर्‍याउन सुझाव दिएका छन् । 

सरकारले पनि तदारुकताका साथ काम गर्ने प्रतिबद्धता जनाएको छ । ‘इजरायल घटनाबारे बोलाएको सर्वदलीय बैठकमा दलका नेताहरूले दुःख र संकटको समयमा सरकारसँग सहकार्य गर्ने जुन धारणा राख्नुभएको छ, त्यसले सरकारलाई अघि बढ्न मद्दत मिलेको छ,’ बैठकपछि प्रधानमन्त्री प्रचण्डले भने । त्यसअघि उनले र परराष्ट्रमन्त्रीले इजरायलमा रहेका नेपालीसँग भिडियोमा कुराकानी गर्दै सरकारले उद्धारका लागि प्रयास थालिसकेको जानकारी गराएका थिए । 

माओवादी प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठकमा दलहरूले सरकारको पहलकदमीको प्रशंसा गर्दै यसको कार्यान्वयनमा जोड दिएको बताए । ‘यो दुःखद घटनामा राष्ट्र नै एक ठाउँमा उभिनुपर्ने हुन्छ र समग्र पार्टीहरूले एउटै अवधारणा बनाउनुपर्ने हुन्छ भनेर प्रधानमन्त्रीले दलहरूको सुझाव माग्नुभयो,’ पाण्डेले भने, ‘त्यसपछि सबै दलका तर्फबाट नेताहरूले आफ्नो भनाइ राख्नुभयो । सरकारले जे पहलकदमी लिइरहेको छ, त्यो ठीकै छ, तर यसलाई अझ कार्यान्वयनमा लगोस् भन्ने सुझाव आयो । त्यसका साथसाथै आधिकारिक ठाउँबाट जनतालाई सही सूचना सम्प्रेषण गराउने विषयचाहिँ सरकारले गरोस् भन्ने सुझाव छ ।’

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा अप्ठ्यारोमा परेकाको तत्काल उद्धार र मृत्यु भएकाको शव जतिसक्दो चाँडो नेपाल झिकाउने विषयमा छलफल भएको बताए । ‘मूलतः बंकरमा बस्नुपरेको, असुरक्षित ठाउँमा रहनुभएका नेपालीलाई सुरक्षित ठाउँमा राख्ने, तुरुन्त उद्धार गर्ने र सुरक्षित ठाउँमा राख्न सरकारले पहलकदमी गर्ने भन्ने निष्कर्ष छ । मृत्यु भएका युवाको शव जतिसक्दो चाँडो नेपाल ल्याउने र परिवारमा पुर्‍याउन सुझाव दिएका छौँ,’ लेखकले भने, ‘डर–त्रासका कारण थप घटना हुन सक्ने अवस्थालाई मध्यनजर गरेर सरकारले तदारुकताका साथ नेपालीको सुरक्षामा काम गर्न बैठकमा सुझाएका छन् ।’ 

इजरायल र प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासबीच भइरहेको द्वन्द्वबारे नेपाल सरकारले संवेदनशील भएर धारणा बनाउनुपर्ने दलहरूको सुझाव छ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता ईश्वर पोखरेलले द्वन्द्वबारे सरकार सन्तुलित ढंगले प्रस्तुत हुनुपर्ने सुझाव दिएको बताए । ‘इजरायलको विषयमा सरकारले के गर्दै छ भन्ने विषयमा सबै दललाई जानकारी दिने उद्देश्यले बोलाइएको बैठकमा प्रधानमन्त्रीले तत्कालको अवस्था र सरकारको निर्णयबारे जानकारी दिनुभयो,’ पोखरेलले भने, ‘हामीले सरकारले सन्तुलित ढंगले प्रस्तुत हुनुपर्छ, हाम्रो देशको भूराजनीतिक संवेदनशीलतालाई हेरेर चल्नुपर्छ भन्ने हिसाबले कुरा राख्यौँ । बंकरमा रहेकाको उद्धार गर्नुपर्ने कुरामा अविलम्ब गर्नुपर्‍यो । यसमा सरकारले समन्वयात्मक ढंगले काम गरोस् भन्ने हाम्रो सुझाव थियो ।’

बैठकमा सहभागी जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले कूटनीतिप्रति संवेदनशील भएर द्वन्द्वबारे बोल्न दलहरूले सुझाव दिएको बताए । ‘सबै दलका शीर्ष नेताकोे डिप्लोमेसी सन्तुलित रहने गरी प्रस्तुत हुन सुझाव थियो,’ खानले भने, ‘दुई देशको युद्धको विषयका बोल्नभन्दा पनि त्यहाँ भएको मानवीय क्षति र फसेका नेपालीको उद्धारमा तदारुकता देखाउन सबैको सुझाव थियो ।’

बैठकमा जनमतका पार्टी अध्यक्ष सिके राउतले इजरायलमा नेपालीको अवस्था र उद्धारकार्यबारे सूचना प्रवाहमा कमी नराख्न सुझाव दिए । ‘सरकारले त्यहाँको अवस्थाबारे पीडित परिवारलाई सूचना दिइरहनुपर्‍यो । साम्प्रदायिक द्वन्द्व फैलने खालका सूचना प्रवाह सामाजिक सञ्जालमा हुन दिनुभएन । उद्धारकार्य छिटोभन्दा छिटो हुनुपर्‍यो,’ राउतको सुझाव थियो ।