१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
समाचार डिजिटल संस्करण

समाचार प्रभाव : छात्रा निष्कासन गर्ने  निर्णय  सच्याउँदै छौँ : अध्यक्ष रोकाया

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o३:oo

चन्दननाथ माध्यमिक विद्यालयले फाइनल खेलेका १२ छात्रालाई स्कुलको निर्देशन नमानेको भन्दै निष्कासन गरेको थियो। यो विषयमा धेरै आलाेचना भएपछि छात्रा निष्कासनकाे निर्णय सच्याउन थालिएको छ । 

निर्णय व्यवस्थापन समितिको रायविनै गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण रोकायाले बताए। ‘हिजो सबै निर्णय आवेगमा भएको हुँदा हामीले उपस्थिति जनाएनौँ,’ उनले भने, ‘कम्तीमा एक दिन ढिलो भयो भने परिस्थिति केही शान्त होला भन्ने लागेको थियो। माहोल शान्त हुँदै छ पनि।’

जुम्ला जिल्ला फुटबल संघ जुम्लाको आयोजनामा भएको अन्तरविद्यालयस्तरीय अन्डर-१६ प्रतियोगिताको फाइनल खेलेको भन्दै छात्रालाई विद्यालयले निकालेको थियो।

अध्यक्ष रोकायाका अनुसार सोमबार निष्कासनमा परेका विद्यार्थी, उनीहरूका अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच बैठक बसेर आइतबारको निर्णय सच्याइने भएकाे छ।

‘निष्कासनमा परेका छात्राहरूलाई पुन: स्कुलमा पढ्न पाउने व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘अलि आवेगमा निर्णय भयो। यो सबै सच्याउनेछौँ र आगामी दिनमा अझ संयम हुनेछौँ।’

अन्तरविद्यालयस्तरीय छात्र र छात्रा दुवैमा सहभागिता जनाएको चन्दननाथ माध्यमिक विद्यालयले असोज १७ गते भैरव माध्यमिक विद्यालयका छात्रहरूविरुद्धको सेमिफाइनल खेलको थियो। उक्त खेलमा विवाद भएपछि स्कुलले सहभागिता नजनाउने भनी खेलाडीहरू मैदान छोडेर हिँडेका थिए। 

पछि विद्यालयले विज्ञप्ति निकालेर एन्फाबाट अन्यायमा पारिएको भन्दै छात्राहरूसमेतलाई फाइनल खेलमा नपठाउने निर्णय गरेको थियो। विद्यालयको निर्णयविपरीत छात्रा विद्यार्थीले फाइनल खेलेपछि निष्कासन गरिएको थियो।

तर, छात्राहरू भने त्यसअगाडि नै विनाविवाद फाइनलमा पुगिसकेका थिए। फाइनलमा पुगेको हुनाले पनि खेल्ने चाहना बढेको सहभागी छात्रा खेलाडीको सामूहिक स्वर थियो।

यो विषयमा समाचार प्रकाशन भएपछि सामाजिक सञ्जालमा विद्यालयको निर्णयविरुद्ध व्यापक विरोध भएको थियो। यस विषयमा विभिन्न विद्यार्थी संगठनले निर्णयको विरोध गर्दै आन्दोलनको चेतावनी दिएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकलाई कार्यालयमा बोलाएर छलफल गराई निर्णय सच्याउन अनुरोध गर्ने तयारी थालेको शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए। 

‘उहाँहरूसँग फोनमा कुरा पनि भएको छ। सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘मैले चिठी पनि काटिसकेको छु। सानो गल्तीका कारण विद्यार्थीको भविष्य बिगार्न नहुने विषयमा उहाँहरू सचेत हुनुहुन्छ।’ 

निष्कासन गरिएका विद्यार्थीलाई स्कुलमा फर्काउने विषयमा सकारात्मक तवरले छलफल चलिरहेको चन्दननाथ नगरपालिका– ४ का वडााध्यक्ष नवराज देवकोटाले बताए। ‘विव्यस, अभिभावकहरूसहितको बैठकमा हामी पनि जाँदै छौँ,’ उनले भने, ‘हामीले अनौपचारिक रूपमा चलाएको छलफल निकै सकारात्मक रूपमा अगाडि बढेको छ।’
 

ad
ad