१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२५:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१९औँ एसियाड : भारोत्तोलनमा ७२ घन्टामै नयाँ राष्ट्रिय कीर्तिमान

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२५:oo

सागर भण्डारीले १०९ केजी तौल समूहमा कुल ३०३ किलो भार उठाउँदै बनाए राष्ट्रिय कीर्तिमान, विशालसिंह विष्टको ३०१ केजीको कीर्तिमान ७२ घन्टा पनि टिके

भारोत्तोलनका सागर भण्डारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । १०९ केजी तौल समूहमा सागरले स्न्याचमा १३३ किलो, क्लिन एन्ड जर्कमा १७० किलो गरी कुल ३०३ किलो भार उठाएर राष्ट्रिय कीर्तिमान बनाएका हुन् । सागरले यसअघि आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका छन् । तीन हप्ताअघि साउदी अरबमा भएको आइडब्लुए वल्र्ड च्याम्पियनसिपमा सागरले स्न्याचतर्फ १२८ केजी, क्लिन एन्ड जर्कमा १६३ केजी र समग्रमा २९१ केजी भार वहन गरेका थिए । एसियाडमा उनले त्योभन्दा १२ किलो बढी भार उठाए ।
ल ७२ घन्टामै विशालको कीर्तिमान भंग

सागर नेपालको भारोत्तोलन इतिहासमै कुनै पनि तौल समूहमा ३०३ किलो तौल उठाउने पहिलो नेपाली खेलाडी बनेका छन् । एसियाली खेलकुदकै ९६ किलो तौल समूहमा विशालसिंह विष्टले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार बहन गरेका थिए । विशालसिंहले बिहीबार १९औँ एसियाली खेलकुदतर्फ भारोत्तोलनमा तीन राष्ट्रिय कीर्तिमान बनाएका थिए । हाङझाउको चियोसन स्पोर्टस् सेन्टर जिम्न्यासियममा पुरुष ९६ केजी तौल समूहमा विशालले तीन राष्ट्रिय कीर्तिमानसहित समग्रमा ३०१ केजी वजन उठाउने पहिलो नेपाली खेलाडी बनेका थिए । तर, त्यही कीर्तिमान तीन दिनपछि नै सागरले भंग गरेका छन् । विशालले कीर्तिमान रच्नुअघि कुनै पनि नेपाली भारोत्तोलकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोतिगामा समग्रमा तीन सय केजीसम्मको भार पनि बहन गरेका थिएनन् ।  

महिला भलिबललाई ११औँ स्थान 
१९औँ एसियाडमा महिला टोलीले ११औँ स्थान हासिल गरेको छ । मंगोलियाविरुद्ध रोमाञ्चक ३–२ को सेटमा जित निकाल्दै नेपालले सान्त्वना जित निकालेको हो । अरुणा शाहीको कप्तानीमा २६ मिनेटसम्म चलेको पहिलो सेट नेपालले १७–२५ ले गुमाएको थियो । २४ मिनेट चलेको दोस्रो सेट नेपालले २५–१८ ले जित्न सफल भयो । २५ मिनेट चलेको तेस्रो सेटमा २५–२१ ले जित्दै नेपालले २–१ को अग्रता बनयो । २४ मिनेटसम्म चलेको चौथो सेट नेपालले १८–२५ ले गुमायो । पाँचौँ तथा अन्तिम सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै नेपालले पहिलो जित निकालेको हो । यसअघि समूह चरणमा नेपाल भियतनाम र दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको थियो । प्ले अफमा भारतसँग ३–१ र हङकङसँग ३–० को सेटमा स्तब्ध भएको थियो । 

क्यानोइङका गणेश आठौँ
क्यानोइङअन्तर्गत पुरुष कायाकमा नेपालका गणेश गुरुङले आठौँ स्थान हासिल गरेका छन् । फुयाङ वाटर स्पोर्टस् सेन्टरमा भएको फाइनल चरणमा १० खेलाडीले प्रतिस्पर्धा गरेकामा गणेश आठौँ भएका हुन् । क्यानोइङमा नेपालबाट गणेशले मात्र सहभागिता जनाएका थिए । शनिबार बिहान भएको सेमिफाइनल चरण पार गर्दै गणेश फाइनल चरणका लागि छनोट भएका थिए । सेमिफाइनलमा १६ खेलाडीले प्रतिस्पर्धा गरेकामा १० खेलाडीले फाइनल चरणमा स्थान बनाएका हुन् । यस स्पर्धामा चीनका क्वान सिनले स्वर्ण, जापानका तानाका युकीले रजत र चाइनिज ताइपेईका उ साओ हसुअनले कांस्य पदक जितेका छन् ।

कुस्तीमा सबै हार
हाङझाउस्थित लिनान स्पोर्टस् एन्ड कल्चर एक्जिबिसन सेन्टरमा भएको कुस्तीमा नेपालका राज यादव र सुरेश चुनारा पहिलो खेलमै पराजित भए । पुरुष फ्रिस्टाइल ८१ केजी तौलसमूहको प्रिक्वार्टरफाइनलमा राज कम्बोडियाका बाली सोउसँग १०–० ले पराजित भए । पुरुष ७४ केजी फ्रिस्टाइलको प्रिक्वाटरफाइनलमा सुरेश चुनारा तुर्कमेनिस्तानका परमान होम्मादोभसँग ११–० ले पछि परे । महिलातर्फ शिवांगी दुवे र सुशीला चन्द पहिलो खेलमै पराजित भएका थिए ।

महिला कबड्डीमा भारतलाई स्वर्ण, नेपाललाई कांस्य

भारतीय महिला कबड्डी टोलीले शनिबार १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा स्वर्ण पदक जितेको छ । हाङझाउमा सम्पन्न स्वर्ण भिडन्तमा भारतले चाइनिज ताइपेईलाई प्रतिस्पर्धात्मक खेलमा २६–२५ ले हराएको हो । भारतले पहिलो तथा दोस्रो हाफमा समान आठ अंक बोनस पाएको थियो । ताइपेईले दुवै हाफमा समान दुई बोनस पायो । भारतले ताइपेईलाई चारपटक अलआउट गर्‍यो । भारतले दोस्रो हाफमा निकै चलाखीपूर्ण खेल खेलेको थियो । खेलाडीहरूले ताइपेईलाई अंक बटुल्ने मौका नै दिएनन् । ताइपेईका खेलाडीको एक गल्तीमा भारतले स्वर्णमाथि कब्जा जमाएको हो । भारतले पहिलो सेमिफाइनलमा नेपाललाई ६१–१६ ले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । चाइनिज ताइपेईले प्रतियोगिताकै साबिक स्वर्ण विजेता इरानमाथि ३५–२४ ले स्तब्ध पार्दै फाइनल स्थान सुरक्षित गरेको थियो । नेपालले समूह चरणमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो । डेब्यु खेलमै एक मात्र जितले नेपालको एसियाडमा कांस्य सुरक्षित भएको हो । 

प्रतियोगिताको नियमअनुसार इरान र नेपाल सेमिफाइनलिस्टले संयुक्त रूपमा कांस्य पदक जितेका छन् । नेपाललाई १९औँ एसियाडमा पहिलो कांस्य पदक दिलाउनेमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडू, सुनिता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, ईशा राई, अर्पणा चौधरी, सिर्जना थारू र कलावती पन्त रहेका छन् । नेपालले डेब्युमै पदक जितेको हो । 

पदक आशा नगरिएको कबड्डी
राष्ट्रिय खेलकुद परिषद्ले महिला कबड्डीलाई अन्य खेलका रूपमा राखेको थियो । यस खेलबाट पदक जित्ने सम्भावना नरहेका कारण राखेपले खासै वास्ता गरेको थिएन । केवल अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न एसियाडमा सहभागी गराइएको हो । राखेपले बक्सिङ, कराँते, र तेक्वान्दोलाई विशेष प्राथमिकतामा राखेको थियो । तीन खेलबाट पदक आउने राखेपको दाबी थियो । उसु, जुडो, क्रिकेट, र पब्जीबाट पदकको आशा गरेको थियो । कराँतेले ऐतिहासिक रूपमा रजत जित्न सफल भएको छ । अन्य मार्सल आर्ट खेलहरूलाई विशेष प्रशिक्षण प्रदान गरिएको थियो । 

अनपेक्षित रूपमा महिला कबड्डी खेलले नेपाललाई सुरुमा पदकविहीन हुनबाट जोगाएको थियो । नेपालले प्रतियोगिताको १४औँ दिन पदक पक्का गर्दा १५औँ दिन पदक तालिकामा समावेश भएको थियो । नेपाल एसियाडको १०औँ संस्करणदेखि पदक जित्ने अभियानलाई निरन्तरता दियो । सन् २०१० को बेइजिङ एसियाडदेखि नेपाल एउटा पदकमा मात्र सीमित भइरहेको छ । सन् २००६ को दोहा एसियाडमा नेपालले तेक्वान्दोमा तीनवटा कांस्य जितेको थियो ।  

पदक विजेताले कति पाउँछन् ?
सरकारले ओलम्पिक, एसियाड र साग खेलकुद प्रतियोगितामा पदक विजेतालाई नगदसहित पुरस्कृत गर्छन् । खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिअनुसार खेलाडीलाई सरकारले पुरस्कृत गर्छ । अहिलेसम्म ओलम्पिकमा नेपालले पदक जितेको छैन । यसबाहेक नेपालले एसियाड र सागमा पदक हात पारेको छ । नेपालले चालू एसियाडमा एक रजत र कांस्य हात पारेको छ । एसियाडमा कांस्य जितेको कबड्डी खेलाडीले सरकारबाट कति पुरस्कार पाउँछन् ? नेपाल सरकारले एसियाडमा दुई पदक जितेका खेलाडी, प्रशिक्षक र सम्बन्धित संघलाई गरी ६६ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नेछ । 

२०७६ को संशोधनअनुसार एसियाली खेलकुदमा टिम गेमले जनही ३ लाख रुपैयाँ दिने उल्लेख छ । व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १५ लाख रुपैयाँ प्राप्त गर्ने प्रावधान छ । नेपाली महिला कबड्डी टोलीले सरकारबाट जनही ३ लाख रुपैयाँ पाउनेछ । एसियाडमा एरिकाले रजत पदक जितेपछि १५ लाख रुपैयाँ पाउनेछिन् । यसैगरी, मुख्य प्रशिक्षकले ३ लाख र सहायक प्रशिक्षकले १ लाख ५० हजार तथा सम्बन्धित संघले ५ लाख रुपैयाँ पाउँछन् । कराँतेको मुख्य प्रशिक्षक कुशल र सहायक प्रशिक्षकमा छोरी डंगोल छन् । यसैगरी, संघले पाँच लाख पाउनेछ । सामूहिक खेलको मुख्य प्रशिक्षकले २ लाख र सहायक प्रशिक्षकले एक लाख तथा संघले तीन लाख रुपैयाँ पाउनेछन् ।

 

ad
ad