१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १८:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बचत फिर्ता र दोषीलाई कारबाहीको माग गर्दै लालुपाते सहकारीका बचतकर्ताद्वारा धर्ना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १८:३१:oo

दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले बचत डुबाउने दोषीलाई कारबाही र बचत फिर्ताकाे माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत खोटाङमा धर्ना दिएका छन्।

सहकारीको बचत अपचलनमा मुछिएका आठजनामध्ये तीनजना पक्राउ परेपछि बचतकर्ताले शुक्रबार दिउँसो दिक्तेल बजारमा विरोध प्रदर्शन गर्दै दोषीलाई कानुनी कारबाही गर्न तथा आफ्नो बचत सुरक्षित साथ फिर्ता दिलाइदिन जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत पुगेर धर्ना दिएका हुन्।

पक्राउ परेका दोषीलाई उन्मुक्ति नदिन, अन्य दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र डुबेको बचत रकमको साँवा–ब्याज फिर्ता गर्ने वातावरण निर्माणका लागि प्रदर्शन गरिएको बचतकर्ताले बताएका छन्। बचत अपचलनमा मुछिएकामध्ये पक्राउ परेका तीनजनाको नाम प्रहरीले गोप्य राखेको छ। 

पक्राउ परेका व्यक्तिलाई अदालतले तारिखमा छाड्न लागेको सूचना आएका कारण कानुनी कारबाही तथा आफूहरूको बचत फिर्ताका लागि दबाबमूलक प्रदर्शन गरिएको बचतकर्ता धनीराम नछुङले बताए। सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता यसअघिदेखि नै चरणबद्ध आन्दोलन गरिरहेका छन्।

बचत डुबाएको भन्दै बचतकर्ताले ०७९ फागुन २ गते नै सहकारीका तत्कालीन अध्यक्ष जोशी परिवारका पाँचजनासहित आठजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। सहकारीको नाममा खरिद गरिएको जग्गा अनिलको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष ०७७/७८ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।

०७२ मंसिर १० गतेदेखि दिक्तेल बजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो। जोशीको कोभिड–१९ को संक्रमणका कारण ०७८ वैशाख १५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

जोशीको निधनपछि ०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ। सहकारीमा जिल्लाका चार हजार पाँच सय बचतकर्ताको लगानी रहेको लेखापरीक्षण प्रतिवेदनमा देखिएको छ।

सहकारीमा एकैजनाले रु. ४५ लाखसम्म बचत गरेका छन् भने ७४ जना ऋणी रहेका छन्। ऋणीहरूले न्यूनतम रु. ३० हजारदेखि रु. ७५ लाखसम्म ऋण लगेको देखिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ। सहकारीको जग्गाबाहेक साँवा–ब्याजसहित करिब रु. १० करोड ऋण लगानी रहेको जनाइएको छ। बचतकर्तालाई साँवा–ब्याजसहित करिब रु. सात करोड फिर्ता दिनुपर्ने लेखापरीक्षण प्रतिवेदनमा भनिएको छ।

सहकारीका तत्कालीन अध्यक्ष जोशीको मृत्युपछि ऋण उठाउन कठिन भइरहेको सञ्चालक समिति सदस्य तुलसी आचार्यले बताए। ‘सहकारीका कतिपय ऋणीले पटकपटक भाका राख्ने, तत्कालीन अध्यक्ष जोशीलाई दिइसकेको भन्दै पन्छिने र कतिपयले अदालत जान भनेर घुर्क्याउने गरेका छन्,’ उनले भने, ‘बचतकर्ताले सहकारीमा जम्मा गरेको आफ्नो बचत रकम फिर्ता माग्दै कार्यालय घेर्न थालेपछि ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ।’

जिल्लामा सञ्चालित अन्य केही सहकारी संस्थाले पनि बचत फिर्ता नदिएको बचतकर्ताहरूले गुनासो गर्न थालेका छन्। १० स्थानीय तह रहेको जिल्लामा एक सय ८१ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन्।

ad
ad