१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
भूकम्पको त्रासले जिल्ला अस्पताल बझाङको प्रांगणमै रातभर बिरामीको उपचार हुँदै ।
नवराज पनेरू डडेल्धुरा
२o८१ बैशाख १८ मंगलबार o७:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भूकम्पको त्रासमा बझाङवासी : ७६ निजी घरमा पूर्ण क्षति, बझाङमा मात्र ६४ घर ध्वस्त

Read Time : > 2 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:५७:oo

भूकम्पका कारण तीन सय ७८ घरपरिवारका एक हजार नौ सय जनसंख्या घरबाहिर 

बझाङ भूकम्पले सुदूरपश्चिम प्रदेशमा ७६ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संकलन गरेको प्रारम्भिक विवरणअनुसार ६.३ म्याग्निच्युड र त्यसपछिका भूकम्पले बझाङमा ६४, बाजुरामा नौ, बैतडीमा दुई र अछाममा एक निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्  । 

भूकम्पले सात पहाडी जिल्लाका तीन सय दुई घरमा आंशिक क्षति पुगेको छ । जसमध्ये सबैभन्दा धेरै बझाङमा दुई सय ७७ घर छन् । प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का अनुसार निजी घरबाहेक सातवटा विद्यालय भवन, एउटा स्वास्थ्य चौकी र २५ वटा सरकारी भवनमा पनि आंशिक क्षति पुगेको छ । भूकम्पका कारण तीन सय ७८ घरपरिवारका एक हजार नौ सय जनसंख्या घरबाहिर पुगेका छन् । भूकम्पपीडितलाई बस्न तीन सय ७८ सेल्टर बनाइएको छ, जसमध्ये सबैभन्दा बढी बझाङमा तीन सय ४१ छन् । भूकम्पमा परी एक महिलाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् । 

भूकम्पपीडितलाई अस्थायी आवासका लागि राहत बाँड्न तत्काल दुई करोड चाहिने भएको छ ।  विपत्बाट घर गुमाएकालाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार दिने व्यवस्था छ । त्यसबाहेक बझाङ भूकम्पबाट प्रभावित भएकालाई पाँच हजार ३७ टेन्ट, २० हजार एक सय ८५ ब्ल्यांकेट र पाँच हजार ३७ टेन्ट आवश्यक पर्ने आकलन प्राधिकरणले गरेको छ ।

रातभर बिरामीको उपचार खुला आकाशमा 
भूकम्पले बझाङको जयपृथ्वी नगरपालिका– ४ गोलाईका कविराज जोशीको घर भत्कियो । मंगलबारको भूकम्पपछि पटक–पटक गइरहने परकम्पका कारण जोशीले घरभित्रको सामान पनि निकाल्न पाएका छैनन् । जोशी भन्छन्, ‘मंगलबार त खुला आकाशमै रात कटायौँ । पटक–पटक गइरहने परकम्पले बुधबार पनि त्यस्तै होला जस्तो छ ।’ बुधबार पनि बझाङ सदरमुकाम चैनपुर र आसपासका क्षेत्रमा पटक–पटक भूकम्पको धक्का महसुस गरिएको छ । गोलाईका केही घर भूकम्पले भत्किएका छन् भने बाँकी रहेका घरमा पनि चिरा परेको छ । 

जयपृथ्वी नगरपालिकाकै पूर्णप्रसाद उपाध्यायको पीडा पनि उस्तै छ । ‘चिसो बढ्दै गएकाले खुला आकाशमा रात कटाउन निकै मुस्किल छ,’ उनले भने, ‘वेलावेला हल्लाइरहेको छ । मंगलबारको भूकम्पले असुरक्षित बनेको घरभित्र जान सक्ने अवस्था छैन ।’ उनले भूकम्प प्रभावित क्षेत्रमा विभिन्न निकायबाट निरीक्षण भए पनि कतैबाट सहयोग नपाएको गुनासो गरे । 

भूकम्पले बझाङवासीलाई मात्रै होइन, जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, भर्ना भएका बिरामी र कुरुवा पनि खुला आकाशमा रात बिताउन बाध्य छन् । अस्पतालका डा. इन्द्र शाहका अनुसार ६.३ रेक्टरको भूकम्प गएपछि बिरामी र कुरुवा अस्पतालभित्र जान मानेका छैनन् । ‘बिरामीले नै अस्पतालभित्र जान नमानेपछि हामीले पनि उपचार अस्पताल प्रांगणमै गरिरहेका छौँ,’ शाहले भने, ‘मंगलबार रातभर अस्पतालको प्रांगणबाटै सेवा दियौँ । बुधबार पनि वेलावेला भूकम्पको धक्का महसुस भइरहेको छ ।’ डा. शाहका अनुसार भूकम्पका कारण घाइते भएका ११ जना जिल्ला अस्पतालमा भर्ना भएका थिए । ‘११ मध्ये जयपृथ्वी नगरपालिका– ११ की सलिना जोशी र प्रमिला जोशीलाई थप उपचारका लागि धनगढी रेफर गरेका छौँ,’ उनले भने, ‘बाँकी नौजना जिल्ला अस्पतालमै उपचारपछि घर फर्किएका छन् ।’

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्पका कारण एकजनाको मृत्यु भएको छ । जिल्लामा २० जना घाइते भएका छन् । ‘जयपृथ्वी नगरपालिका– ११ ओखलकी ४० वर्षीया गुणमति धामीको भूकम्पपछि आएको सुक्खा पहिरोमा परेर मृत्यु भएको हो,’ उनले भने, ‘घाइते २० मध्ये १३ जना उपचारपछि घर फर्किएका छन् भने पाँचजनालाई थप उपचारका लागि रेफर गरिएको छ । दुईजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’ पाण्डेयले प्रभावित क्षेत्रमा राहत व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउने निर्णय भएको बताए ।  

घाइतेको उपचार प्रदेश सरकारले गर्ने, एकद्वार प्रणालीमा राहत वितरण
भूकम्पका कारण घाइते भएकाको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको हो । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा घाइतेको उपचार प्रदेश सरकारले गर्ने, उद्धार, खोज र प्रभावितलाई आवश्यक राहत सामग्री एकद्वार प्रणालीमा वितरण गर्ने निष्कर्ष निकालिएको हो । 

खोज, उद्धार र राहत वितरणको सम्पूर्ण जिम्मेवार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको समन्वयमा गर्नेछ । बैठकमा मुख्यमन्त्री शाहले बझाङलगायत प्रदेशका विभिन्न जिल्लाका भूकम्प प्रभावितलाई तत्काल उचित राहतको व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । घाइतेको तदारुकताका साथ उपचार गर्न र क्षति भएको भौतिक संरचनाको यकिन विवरण संकलन गर्न उनले भनेका थिए । मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु बनाएर दुईपटक भूकम्प गएको थियो । पहिलोपटक २ः४० मा तलकोट केन्द्रविन्दु बनाएर ५.३ र दोस्रोपटक चैनपुरआसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको हो । 

ad
ad