मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
२०८० असोज १७ बुधबार १३:०८:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

४९ वर्षपछि सिंगापुरलाई स्वर्ण

Read Time : > 1 मिनेट
२०८० असोज १७ बुधबार १३:०८:००

एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा सिंगापुरले ४९ वर्षपछि स्वर्ण पदक जितेको छ। दुई सय मिटर महिला फाइनलमा शान्ति पेरेरियाले २३ः०९ सेकेन्डमा दौड पूरा गरी सिंगापुरलाई स्वर्ण पदक दिलाएकी हुन्। 

२७ वर्षीया शान्तिले एक दिनअघि पनि सिंगापुरलाई सय मिटर दौडमा रजत दिलाएकी थिइन्। शान्तिले स्वर्ण जितेको स्पर्धामा चीनकी ली युटिन दोस्रो र बहराइनकी ओडिओङ तेस्रो भएका थिए। शान्तिले दुई सय मिटरको अन्तिम क्षणमा पदक जितेको पक्का भएको थाहा पाएको बताएकी छिन्।

‘जब मैले लास्ट ल्याप लिएँ, त्यसवेला देशका लागि स्वर्ण पदक पक्का भएको थाहा पाइसकेकी थिएँ,’ उनले भनिन्, ‘यो क्षणको बयान गर्न शब्द नै छैन ।’ उनले अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई भनिन् ‘सिंगापुरको एथलेटिक्स इतिहासमा मेरो नाममा अब स्वर्ण पदक रह्यो, एसियाडमा हामीले स्वर्ण जित्न ४९ वर्ष लाग्यो।’ 

सन् १९७४ मा ची स्वी लिले महिला चार सय मिटर दौडमा सिंगापुरलाई पहिलो स्वर्ण दिलाएकी थिइन्। यो इरानको तेहरानमा भएको थियो। त्यसपछि सिंगापुरले दोस्रो स्वर्ण हात पारेको १९औँ एसियाड नै हो। 

शान्तिले म्याराथनमा भविष्य देखेपछि यसैमा लागेको बताएकी छिन्। तर, उनले कहिले पनि एसियाडमा स्वर्ण पदक नै जित्छ भनी कल्पना गरेकी थिइनन्। उनी भन्छिन्, ‘मैले कहिले पनि एसियाडमा यस्तो इतिहास रचिने सोचेकी थिइनँ, एकै संस्करणमा स्वर्ण र रजत हात पार्नु कल्पनाभन्दा बाहिर हो,’ हर्षित हुँदै उनी भन्छिन्। रमाइलो पक्ष के रह्यो भने शान्तिले दौड सुरु गरेको धेरै वर्ष भएको छैन। 

दुई वर्षअघिसम्म उनी सिंगापुरको एक चर्चित पत्रिकाको ‘कपी राइटर’ थिइन्। एक वर्षअघि उनले म्याराथनलाई भविष्य बनाउने योजनासहित अगाडि बढिन्। 

एक वर्षभित्रको मिहिनेतले उनलाई पूर्ण रूपमा एथलेटिक्स खेलाडी बनाएको छ। शान्तिलाई एक कुशल धावक बनाउने काम सिंगापुर स्पोर्टस् एक्लेलेन्सको स्कलरसिपले गरेको हो। 

‘कामसँगै प्रशिक्षण पनि गरिरहेकी थिएँ, त्यसवेला समय मिलाउन निकै गाह्रो परेको थियो, काम र प्रशिक्षणले मैले आफ्नो गति लिन सकिरहेकी थिइनँ,’ समस्याबारे उनी भन्छिन्, ‘कम्पनीले मलाई यस विधामा लाग्न सल्लाह दिएको थियो, त्यसपछि मैले स्कलरसिप पाएँ र आज म यो अवस्थामा छु।’ हाङझाउमा उनले समर्थकबाट राम्रो साथ पाएकी छिन्।