
इन्जिनियरङ अध्ययन संस्थान विद्यार्थीलाई जिम्मा लगाउने पुल्चोक क्याम्पसका विभागीय प्रमुखहरूको कदमप्रति अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले कडा आपत्ति जनाएका छन् ।
मंगलबार पुल्चोक क्याम्पसका ६ जना विभागीय प्रमुखले विज्ञप्ति निकाल्दै विद्यार्थी संगठनहरूलाई क्याम्पस चलाऊ भनेकोमा मैनालीले प्रतिवाद गरेका हुन् । मैनालीले प्राध्यापकहरूको हैसियत र सोचमाथि पनि प्रश्न उठाएका छन् ।
‘इन्जिनियरिङ अध्ययन संस्थान हो कि एकान्तकुनाको यातायात कार्यालय ! बस व्यवसायी संघ सञ्चालक समितिका सदस्यहरूजस्ता किन देखिन थाले पुल्चोक क्याम्पस मुख्यालयमा बडेबडे कुर्सीमा बस्नेहरू ! लाज ढाक्नुस् !!’ उनले भनेका छन्, ‘प्रतिष्ठित अध्ययन संस्थान नै बदनाम हुन थाल्यो ! गैरजिम्मेवारीपनले हद पार गर्न लागेन र !’
हरेक वर्षझैँ प्रवेश परीक्षाका वेला विभिन्न समस्या देखाउँदै समयमा परीक्षा लिन असफल आइओई प्रशासन यसपालि पनि महिनौँदेखि समस्या रुमल्लिएको मैनालीको आरोप छ ।
मैनालीले विभागीय प्रमुखहरूको कदमलाई गैरजिम्मेवारीपनको हद भनेका छन् । लामो समयदेखि शुल्क वृद्धिसँग सम्बन्धित विवादमा अल्झिएको आइओईले यो वर्ष प्रवेश परीक्षा सञ्चालन गर्न नसक्दा अभिभावक र विद्यार्थी चिन्तित छन् ।
मैनालीले भने, ‘मुलुकमा शैक्षिक वातावरण नभएकाले विद्यार्थी विदेशी विश्वविद्यालयमा जाने क्रम तीव्र भएको छ ।’