१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Sunday, 11 May, 2025
२o८o असोज १५ सोमबार १५:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खराब मौसमले उद्घाटनमा ओली आउन सकेनन्, अध्यक्षका दाबेदार नौजना  

एमाले गण्डकी अधिवेशन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार १५:२६:oo

नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु भएको छ।

अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने भनिएको भए पनि मौसकका कारण ओली पोखरा आउन सकेनन्। अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ, तर ओली नआउने भनेर उपस्थित कार्यकर्तालाई जानकारी भने दिइएको छैन। 

अधिवेशन उद्घाटन पूर्वहस्पिटलचोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित बसपार्क गरी चार स्थानमा जम्मा भएर र्‍याली निकालिएको थियो। चार स्थानबाट निकालिएको र्‍याली पोखराको अमरसिंचौरमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो।

पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेश इन्चाज गोकर्ण विष्ट, पार्टी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, स्थायी कमिटी सदस्य थममाया थापा, गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मीलगायतका नेताले सम्बोधन गरिसकेका छन्। 

नेताहरूको सम्बोधनपछि हाल सभास्थलमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत भइरहेका छन्। उद्घाटन समारोहपछि आजै बन्दसत्र सुरु हुने र मंगलबारदेखि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ।  

नाै सय सात प्रतिनिधि

अधिवेशनका लागि एक सय पार्टी सदस्यबराबर एकजना र हरेक एक सयपछि एकजना थप, हरेक सातौँ नम्बरमा ४० वर्षमुनिको युवा छनोट गरिएको थियो। 

उत्पीडित क्षेत्रबाट ६० पार्टी सदस्यबराबर एकजना, हरेक ६० पछि थप एकजना, मजदुर क्षेत्रमा ५० सदस्यबराबर एकजना, प्रत्येक जनसंगठनबाट तीनजनाका दरले गरी नाै सय सातजना प्रतिनिधि छनाेट गरिएका एमाले गण्डकीका उपसचिव एवं प्रचारप्रसार उपसमिति संयोजक रश्मी आचार्यले बताए।

उनका अनुसार छनोट भएका प्रतिनिधिमध्ये खुला महिला एक सय ९३, खुला तीन सय ९०, दलित एक सय १५, दलित महिला ५४, युवा ५४ र मजदुर १५ जना छन्। जिल्लागत रूपमा स्याङ्जाबाट एक सय १३, गोरखाबाट ५३, कास्कीबाट एक सय ४६, बागलुङबाट ७२, पर्वतबाट एक सय १०, नवलपुरबाट एक सय नाै, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना छन्।
 
एक सय ६५ जना निर्वाचित हुने

अधिवेशनले निर्वाचन प्रक्रियामार्फत पदाधिकारी र सदस्य गरी एक सय ६५ जना निर्वाचित गर्नेछ भने निर्वाचनपछि १० प्रतिशत मनोनीत गरिनेछ । प्रदेश कमिटीको संख्या एक सय ८० को हाराहारीमा रहनेछ। हाल कमिटीको संख्या पाँच सय ५९ छ। 

प्यानल बनाएर निर्वाचनमा जान नपाइने 

एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने जानकारी दिए। उनले निर्वाचन भइहालेको आस्थामा एक्लाएक्लै प्रतिस्पर्धा गर्न पाइने, तर प्यानल बनाएर लड्न नपाइने बताए।

प्रदेश अधिवेशनको निर्वाचनमा पार्टीका उपमहासचिव लमजुङका पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य कास्कीका खगराज अधिकारी पक्षबीच प्रतिस्पर्धा हुने लगभग पक्का छ। दुवैजना पाटी अध्यक्ष ओलीनिकट हुन्। 

अध्यक्षका नौ दाबेदार

प्रदेशका अध्यक्षका लागि हाल नौजना दाबेदार देखिएका छन्। हालका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मी आचार्यसँगै केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, रामशरण बस्नेत र कृष्ण थापाले अध्यक्ष बन्नका लागि दौडधुप सुरु गरेका छन्। उनीहरूसँगै स्याङ्जाका सोभियत ढकालसमेतले आफूलाई अघि सारेका छन्।