
१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)बाट नेपालले सोमबारसम्म कुनै पनि पदक जितेको छैन । आशा गरिएका खेलहरूमा क्रमिक रूपले बाहिरिँदा एसियाडमा नेपालको पदक जित्ने आशा झिनो देखिएको थियो । सोमबार एकाएक नेपाली महिला कबड्डी टोलीले पदकको आशा देखाएको छ । तेक्वान्दो र बक्सिङजस्ता पदकको उच्च आशा गरिएका खेल खाली हात फर्कँदा आशा नै नगरिएको कबड्डीले नेपालले पदक जित्ने सम्भावना देखाएको हो ।
नेपालले सोमबार बंगलादेशलाई ३७–२४ ले पराजित गरेसँगै नेपालको पदक सम्भावना बढेको हो । चीनको हाङझाउ जिआओसान गुआली स्पोर्टस् सेन्टरको कोर्ट–२ मा भएको भिडन्तको नेपालले पहिलो हाफको १५ मिनेटमा २१–१६ को दरिलो अग्रता लिएको थियो । दोस्रो हाफमा समेत नेपालले उत्कृष्ट प्रदर्शन गरी बंगलादेशलाई १३ स्कोरको अन्तरले हराउँदै समूह ‘बी’मा पहिलो जित दर्ता गर्यो ।
नेपालले बंगलादेशलाई सन् २०१९ को १३औँ दक्षिण एसियाली खेलकुदमा ३६–२५ ले हराएको थियो । नेपाल सागमा फाइनलमा भारतसँग पराजित हुँदै रजतमा सीमित भएको थियो । एसियाडमा सात टोलीकाे मात्र सहभागिता छ । तीन टोली रहेको समूहमा पर्दा नेपालको एक खेल जिते मात्र सेमिफाइनलमा पुग्ने सम्भावना छ । नेपालको समूहको इरान बलियो छ । अब नेपालले इरानसँग मंगलबार खेल्नेछ । यो खेल हारे पनि नेपालको सेमिफाइनल सम्भावना हुनेछ । त्यसका लागि पर्सि इरानले बंगलादेशलाई पराजित गर्नुपर्नेछ ।
महिला कबड्डीको समूह ‘बी’मा नेपाल, इरान र बंगलादेश छन् । समूह ‘ए’मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्। एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनलमा पराजित हुने टोलीलाई पनि कांस्य पदक दिने व्यवस्था छ । नेपाल अन्तिम चारमा पुग्दा स्वतः पदक प्राप्त गर्नेछ । यो कम्तीमा कांस्य पदक हुनेछ । एसियाली खेलकुदमा नेपाली महिला टिम तथा कबड्डीबाट पहिलो पदक हुँदै इतिहास बन्नेछ ।
इरान लगातार स्वर्ण जित्ने सुरमा छ । १९औँ एसियाली खेलकुदमा सहभागी ४५ मध्ये ३६ खेलले पदक जितिसकेका छन् । नेपालसहित नाै राष्ट्र पदकविहीन रहेका छन् । मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली कबड्डी टोलीले १९औँ एसियाडमा भाग लिनुअघि भारतमा एक महिना प्रशिक्षण लिएको थियो । नेपाली टोलीको तयारीमा प्रशिक्षकको भूमिकामा पार्वती राई र विष्णुदत्त भट्ट रहेका थिए ।
नेपाली टोली :
मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडू, गंगा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जनाकुमारी थारू, कलावती पन्त, इशा राई, सुनिता थापा, नितु गुरुङ, मनमती विष्ट