
अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेशको राजधानी जनकपुर आर्थिक रूपले पुनर्उदय हुँदै गएको बताएका छन् । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६औँ वार्षिक साधारणसभामालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा परिचित जनकपुर अब आर्थिक केन्द्रका रूपमा विकसित हुँदै गएको आधार देखिन थालेको छ ।’
जनकपुरमा धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको औँल्याउँदै मन्त्री डा. महतले भने, ‘धार्मिक पर्यटनमार्फत नै यो क्षेत्रको उत्थान हुन्छ । केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर यो कामलाई अगाडि बढाउन प्रतिबद्ध छ ।’ मधेश प्रदेशमा विकासको ठूलो सम्भावना रहेको मन्त्री डा. महतले औँल्याए । उनले भने, ‘यो सम्भावना पूरिपूर्ति गर्न सरकार सक्रिय रहन्छ । मधेशमा भौतिक पूर्वाधारमा सरकारले ठूलै लगानी गरेको छ । सरकारले आउँदा दिनमा अझ बढी लगानी गर्नेछ । पूर्व–पश्चिम राजमार्ग ६ लेन हुँदैन, त्यसले पनि आर्थिक गतिविधिलाई मद्दत गर्छ । हुलाकी राजमार्ग छिट्टै सम्पन्न गर्ने योजनामा सरकार छ ।’
जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व युवा शक्तिले नेतृत्व लिएकोमा मन्त्री डा. महतले खुसी व्यक्त गरे । उनले भने, ‘अहिलेको नेतृत्व केही गरौँ भन्ने भावनाले ओतप्रोत हुनुहुन्छ । साथीहरूले थोरै सहज अवस्था भयो भने यहाँ उद्योग–व्यवसाय फस्टाउँछ भन्नुभयो, यसले मलाई उत्साहित बनाएको छ ।’