मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज १३ शनिबार १८:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ : उदय शमशेर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज १३ शनिबार १८:१७:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले कांग्रेसले आफ्नो कार्यशैली र कार्यनीति सच्याएर अगाडि बढ्नुपर्ने बताएका छन्। पछिल्लो समय पुराना राजनीतिक दलहरूप्रति युवाहरूमा मोह घटेको उल्लेख गर्दै उनले युवालाई केन्द्रमा राखेर कांग्रेसले आफ्नो नीति तथा कार्यक्रम बनाउनुपर्ने बताए।

शनिबार सिन्धुली कांग्रेसको दुधौली नगरपालिकाको नगर सम्मेलनको उद्घाटन कार्यक्रममा उनले भने, ‘कांग्रेसको आफ्नो कार्यशैली र सोच बदल्ने वेला आएको छ। युवाहरूलाई पार्टी संगठनमा जोड्ने र उनीहरूमा आशा जगाउने कार्यक्रमहरू ल्याउनुपर्छ।’

उनले पछिल्लो समय कांग्रेस सकियो भनेर अफवाह फैलाउन खोजिएको बताए। नयाँ राजनीतिक दलहरूको उदयले परम्परागत दलहरूको भविष्यलाई लिएर टीकाटिप्पणी हुने गरेक‍ो उल्लेख गर्दै उनले कांग्रेसभित्र निराशा देखिए पनि आत्तिने अवस्था नरहेको प्रस्ट पारे।

‘२०६४ सालको चुनावपछि पनि कांग्रेस सकियो भन्थे, तर हामी २०७० मा हामी फर्कियौँ। अहिले फेरि त्यही भाष्य निर्माण गर्न खोजिँदै छ। तर, आत्तिनुपर्ने वेला छैन। हामी संयमित भएर आफ्नो कार्यशैली सच्याएर अगाडि बढ्यौँ भने अर्को चुनावमा बहुमत ल्याउन सक्छौँ। हामी निराश होइन, संगठित भएर गाउँगाउँमा क्रियाशील हुनुपर्छ,’ उनले भने।

पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता राणाले लोकप्रिय कुरा गरेर चर्चामा आउने, तर काम नगर्ने प्रवृत्तिको अन्त्य गरेर कांग्रेसले सरकार सञ्चालनको स्पष्ट दृष्टिकोण अगाडि ल्याउन सके आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने दाबी गरे।

‘यो भएन, त्यो भएन भनेर मात्रै हुँदैन। अब हामी विकल्प दिएर अगाडि बढ्ने हो। कांग्रेस एक्लै चुनावमा जाने सामर्थ्य राख्छ। त्यसका लागि हामी सुध्रिन र सच्चिन जरुरी छ,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि पार्टीले एकल बहुमत ल्याउँदैन। त्यसैले यसमा पुनर्विचार गर्नुपर्छ। समानुपातिक व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ।’