
समाजवादी जागरण अभियानको आवश्यकता किन पर्यो ?
हामीले एमालेबाट विद्रोह गरेर पार्टी बनाएपछि एजेन्डा जनताबीच पुर्याउन सकेका थिएनौँ । पार्टी गठनलगत्तै राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो । गठबन्धनका कारण जनतासामु हाम्रो एजेन्डा पुर्याउन सकिएन । त्यसैले, तत्काल कृषिमार्फत रोजगारी सिर्जना, राष्ट्रिय उद्योगको संरक्षण, संस्कृतिमाथि भएको अतिक्रमणको विरोध, सीमा सुुरक्षा, राष्ट्रिय एकताको पैरवी, खर्चिलो निर्वाचन प्रणालीको विकल्प, भ्रष्टाचार निवारण, सुशासनलगायत एजेन्डा जनतासामु पुर्याउने उद्देश्यले काँकडभिट्टादेखि महेन्द्रनगरसम्म यही १४ देखि २९ असोजमा समाजवादी जागरण अभियान गर्दै छौँ ।
रोजगारी, समृद्धि र सुशासनको नारा व्यवहारमा उतार्न सहज छ त ?
इमानदार प्रयास गर्दा सम्भव छ । पक्कै पनि ‘इन्ड्रस्टी’ बनाउन समय लाग्छ । कृषि यस्तो क्षेत्र हो, तीन महिनामै आलु, गोलभेडा, मकै फल्छ । न्यूनतम मुनाफासहित कृषि उत्पादन बिक्रीको ग्यारेन्टी सरकारले गर्ने हो भने मानिस कृषिप्रति आकर्षित हुन्छन् । तुरुन्तै रोजगार भइन्छ । अहिले कृषि उत्पादन नबिक्ने अवस्थाले ठूलो मात्रामा बेरोजगारी समस्या छ । सोही कारण न्यून ज्यालाकै लागि पनि मानिस बिदेसिने गरेका छन् ।
तपाईंहरूको जागरण अभियान आगामी चुनावको तयारी हो ?
स्वाभाविक हिसाबले २०८३ को स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्तरमा गठबन्धन नगरी हामी एक्लै लड्छौँ । स्थानीय स्तरमा भने आवश्यकताअनुसार गठबन्धन हुन सक्छ । तर, यो अभियान आगामी निर्वाचन तयारीका लागि होइन । हाम्रा एजेन्डा जनतासम्म पु¥याउन मात्र अभियान सञ्चालन गर्न लागेका हौँ ।