१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०८० असोज ११ बिहीबार ०६:१७:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१९औँ एसियाड : बक्सिङ र तेक्वान्दोमा पनि निराशा

एसियाली खेलकुदमा तेक्वान्दोको गर्विलो इतिहास बिस्तारै धमिलो हुँदै

Read Time : > 3 मिनेट
२०८० असोज ११ बिहीबार ०६:१७:००

एसियाडको इतिहास हेर्दा तेक्वान्दो मात्र नेपाल सहभागीमध्ये सर्वाधिक सफल खेल हो । यस खेलले नेपाललाई अहिलेसम्म एक रजतसँगै १५ पदक दिलाएको छ । अहिले तेक्वान्दोले एसियाडमा राखेको गर्विलो इतिहास बिस्तारै धमिलो हुँदै गइहेको छ । चीनको हाङझाउमा चलिरहेको १९औँ एसियाडमा तेक्वान्दोबाट लगातार खराब नतिजा निस्किरहेको छ । सधैँको जस्तो नेपाली अधिकारीहरूले तेक्वान्दोबाट पदकको अपेक्षा राख्दै आइरहेका छन् । यसपटक पनि चीनको भूमिमा सम्बन्धित निकायका पदाधिकारीले तेक्वान्दोलाई पदक जित्न सक्ने खेलकै रूपमा राखे । यस खेलका खेलाडीलाई हाई परफर्मेन्स विधामा राखी तयारी गरिएको थियो । 

बुधबारसम्म तेक्वान्दोका १० खेलाडी बाहिरिइसकेका छन् । यी १० खेलाडी कुनै पनि क्वार्टरफाइनलभन्दा माथि पुग्न सकेनन् । प्रतियोगिताको पाँचौँ दिन तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरू पहिलो चरणबाटै बाहिरिए । वीरबहादुर महरा, इन्दिरा बस्नेत र अभिषेक बराल आ–आफ्नो स्पर्धामा बाहिरिए । पुरुष ८० केजी तौलसमूहमा अभिषेक अन्तिम ३२ मा अफगानिस्तानका ओमिद साहाकसँग २–० ले पराजित भए । उनले साहकविरुद्ध पहिलो चरणमा ११–१ को प्रदर्शन गरेका थिए । दोस्रो चरणमा उनी १५–२ ले पछि परे । 

सागसँगै अन्तर्राष्ट्रिय खेलको अनुभव प्राप्त वीरबहादुर पुरुष ६८ केजीमुनि प्रिक्वार्टरफाइनलबाटै बाहिरिए । उनी अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउबाट २–० ले नै पराजित भए । वीरबहादुर यी जुईविरुद्ध पहिलो चरणमा १०–० ले पछि परे । दोस्रो चरणमा केही सुधारिएको खेल प्रदर्शन गरेका उनी १२–८ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।

महिला ६७ केजीमुनिको तौलसमूहमा इन्दिरा अन्तिम १६ मा इरानका मेलिका मिरहोसेनी भाकिलीबाट २–० ले पराजित भइन् । उनले दुवै चरणमा इरानका खेलाडीविरुद्ध गतिलो प्रदर्शन गर्न नसक्दा १४–१ र ९–० ले हारेकी थिइन् । अब तेक्वान्दोमा नेपालबाट पुरुष ८० केजीमा ज्याकी यादवको मात्र खेल बाँकी छ । उनले बिहीबार जोर्डनी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।पुम्सेका प्रेमबहादुर लिम्बू, ग्योरोगीका अन्जली तामाङ र गोविन्दबहादुर आलेले चालू प्रतियोगितामा एक–एक खेल जितेका थिए । अन्य खेलाडीले एक खेल पनि आफ्नो पक्षमा पार्न सकेनन् । 

पदक आशा गरेका सुष्मा र भूपेन्द्र पराजित
परिषद्को हाई परफर्मेन्स खेलको तयारीमा बक्सिङ पनि थियो । एसियाडमा बक्सिङबाट पदक जित्न सक्ने सम्भावना भएका कारणलाई यस खेललाई विशेष प्राथमिकतामा राखिएको थियो । विशेषगरी, महिला खेलाडीमा सुष्मा तामाङबाट ठूलो अपेक्षा थियो । नेपालको बक्सिङ इतिहासमा सुष्माले एसियन लेभलमा रजत पदक जितेकी छिन् । गत माघमा थाइल्यान्डको बैंककमा भएको एसियन बक्सिङ कन्फेडरेसनको आयोजनामा भएको एएसबिसी यू–२२ पुरुष र महिला च्याम्पियनसिपमा उनले ऐतिहासिक प्रदर्शन गरी रजत पदक जितेकी थिइन् । 

नेपालले एसियनस्तरको बक्सिङमा प्राप्त गरेको यो रजत नै अहिलेसम्मकै सर्वाधिक बृहत् हो । त्यसयता उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय बक्सिङमा सहभागिता जनाइन् । यसैक्रममा उनले विश्व च्याम्पियसिपमा समेत भाग लिइन् । यिनै सफलताका कारण सुष्माबाट १९औँ एसियाडमा पदकको आशा गरिएको हो । तर, बुधबार सुष्मा आफूभन्दा अनुभवी खेलाडीसँग प्रतिस्पर्धा गर्न पुगिन् । ड्र निकालिँदा उनले महिला ५० केजीको अन्तिम १६ को भिडन्तमा कजाखस्थानकी नाजम काइजाईविरुद्ध खेल्ने तय भयो । सो स्पर्धामा उनी ५–० ले पराजित भइन् । बक्सिङका पाँचै जुरी अफिसियलले पहिलो र दोस्रो बाउटमा नाजमलाई समान ३० स्कोर प्रदान गरेका थिए । 

सुष्माले अपेक्षित रूपमा स्कोर प्राप्त गर्न सकिनन् । सुरुवातमा आक्रामक खेल प्रस्तुत गरेकी सुष्मा दोस्रो चरणमा थाकेकी देखिइन् । अन्तिमतिर उनी डिफेन्समा देखिइन् । १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता भूपेन्द्र थापा पुरुष ६३.५ केजीको प्रिक्वार्टरफाइनल खेलमा ताइपेईका एन चु लाईसँग ४–० ले पराजित भए । पहिलो चरणमा बाई पाएर भूपेन्द्र सोझै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका थिए ।

 जुडोको चुनौती समाप्त

एसियाडमा निरन्तर रूपमा सहभागिता जनाइरहेको जुडो यसपटक पनि खाली हात फर्केको छ । बुधबारको खेलसँगै जुडोका सबै खेलाडी पराजित हुँदै घर फर्र्किएका छन् । प्रतियोगितामा नेपाली जुडो मिक्स टिमले जापानसँग अन्तिम खेल खेल्यो । जिओसान लिन्पु जिम्न्यासियममा नेपाल क्वार्टरफाइनलमा जापानसँग ४–० ले पराजित भयो । टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारू जापानका गोकी ताजिमासँग पराजित भए । आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग सहजै पाखा लागे । मिक्स टिमको पराजित टिमहरूबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४–० ले नै पछि पर्‍यो ।

 ह्यान्डबलमा जापानसँग पराजित
महिला ह्यान्डबलमा नेपाल जापानसँग पराजित भएको छ । समूह ‘बी’अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओसान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२–१० ले पराजित भएको हो । एकपक्षीय खेलमा नेपालले मध्यान्तरअघि ६ गोल गरेको थियो । दोस्रो हाफमा नेपालले चार गोल मात्र गर्न सक्यो । समूह चरणको पहिलो खेलमा नेपाल आयोजक चीनसँग ५७–१० ले पराजित भएको थियो । एसियाडको महिला ह्यान्डबलमा नेपालको यो पहिलो सहभागिता हो ।

 ई–स्पोर्टस् : दुवै खेलमा हार
१९औँ एसियाडअन्तर्गत ई–स्पोर्टस्को ड्रिम थ्री किङडम्स २ (डिटिके)मा नेपाल दुवै खेलमा पराजित भएको छ । ड्रिम्स थ्री किङडम्स २ को समूह ‘सी’मा नेपाल किर्गिस्तान र भियतनामसँग समान १–० ले पराजित भयो । यसपटक ई–स्पोर्टस्मा पाँच फरक इभेन्ट्समा नेपालका २३ खेलाडीले भाग लिएका छन् । जसमा फिफा अनलाइन फोरमा समीर गुरुङ पराजित भइसकेका छन् । एरिना अफ भेलोर (एओभी) एसियन गेम्स भर्सनमा पनि नेपाल पराजित भइसकेको छ ।

 उसुमा नेपालको यात्रा समाप्त 

एसियाडको उसुमा नेपालको यात्रा समाप्त भएको छ । साओसन गुआली स्पोर्टस् सेन्टरमा कविता थापाले थाउलोको महिला जिआनसुमा आठौँ स्थान हासिल गरेसँगै नेपालका सम्पूर्ण खेल सकिएको हो । ११ खेलाडी सम्मिलित यो स्पर्धामा कविताले ९.६३३ अंक जोडिन् । नानछ्वानमा पुरुषतर्फ मंगलबार नेपालका दीपक हमालले १३औँ स्थान हासिल गरेका थिए । दीपकले ९.६३३ स्कोर गरेका थिए । यो स्पर्धामा २० खेलाडीको सहभागिता थियो ।

महिला नानाछ्वानमा निमा घर्तीमगर पुछारमा रहिन् । १० खेलाडी सहभागी यो स्पर्धामा निमाले ९.१४० स्कोर गरेकी हुन् । महिला नानदाओमा भने निमाले आठौँ स्थान हासिल गरिन् । १० खेलाडी सहभागी यो स्पर्धामा निमाले ९.५६६ स्कोर गरेकी थिइन् । यसैगरी सोमबार महिला छाङछ्वानमा सुस्मिता तामाङ आठौँ स्थानमा रहिन् । ११ खेलाडी सहभागी यो स्पार्धामा उनले ९.४१० स्कोर गरेकी थिइन् ।

पौडीमा डुवाना र नासिर हिट चरणबाटै बाहिर
नेपालका दुई स्विमर डुवाना लामा र नासिर हुसैन हिट चरणबाटै बाहिरिएका छन् । महिला सय मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौँ स्थानमा रहिन् । उनले निर्धारित दूरी एक मिनेट २०.१५ सेकेन्ड समयमा पूरा गरेकी थिइन् । डुवानाको स्पर्धामा सात खेलाडी मात्रै थिए । डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलको हिट चरणबाटै बाहिरिएकी थिइन् । यसैगरी, पुरुष दुई सय मिटर फ्रिस्टाइलको दोस्रो हिटमा नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे । उनको स्पर्धामा आठ खेलाडी समावेश थिए । उनी हिटमा सातौँ भएका छन् ।

 बास्केटबलमा लगातार दोस्रो हार
महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा हारको सामना गरेको छ । प्रतियोतिगाको समूह ‘बी’को लिग खेलमा नेपाल कजाखस्थानसँग १७–१० ले हारेको हो । नेपालका लागि कप्तान श्रेया खड्का र मीना गुरुङले समान चार स्कोर गरेका थिए । नेपालको स्कोरबोर्डमा गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान एक स्कोर गर्न सफल भए । समूह चरणको पहिलो खेलमा जापानले नेपाललाई २२–४ ले हराएको थियो । नेपालले समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेईको सामना गर्नेछ ।