१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नेपालकी निमा घर्तीमगर
२o८१ बैशाख २२ शनिबार o७:४८:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

१९औँ एसियाड : उसुमा निमा र दीपक बाहिरिए

चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले चौथो दिनको यात्रा तय गर्दा निराशाजनक प्रदर्शन, आशा गरिएका उसु र तेक्वान्दोका खेलाडी पनि पदकविहीन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:४८:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा अफिसियलतर्फ उसु खेलले पदक जित्ने आशा गरेको थियो । राखेपले उसुलगायत अन्य विभिन्न पदक जित्ने खेललाई ‘हाई परफर्मेन्स’ तयारीका रूपमा राख्यो । तर, एसियाडमा नेपालले चौथो दिनको यात्रा तय गर्दा निराशाजनक प्रदर्शन गरेको छ । उसु र तेक्वान्दोबाट यसपटक पदक जित्ने आशा गरिएको थियो । उसुबाट निमा घर्तीमगर सम्भावित पदक जित्ने खेलाडीमा थिइन् । तर, उसुको नान क्वानतर्फ उनी आफ्नो समूहको १०औँ स्थानमा रहिन् । 

प्रतियोगिताको मंगलबार भएको खेलमा १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेतासमेत रहेकी निमाले समग्रमा १८.८४ स्कोर गरिन् । उनले नान क्वानमा ९.३९ र नान्डोमा ९.४५ स्कोर गरेकी थिइन् । यस इभेन्ट्समा चीनकी चेन हुइयिनले स्वर्ण जित्दा सर्वाधिक १९.५९ अंक बटुलेकी थिइन् । यसैगरी, पुरुषतर्फ दीपक हमाल आफ्नो समूहमा १३औँ स्थानमा छन् ।

उनले सन् २०१९ को काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । १९औँ एसियाडमा उनले समग्रमा १९.१७ स्कोर गरेका थिए । दीपकले नान क्वानमा ९.६३ र नानगुनमा ९.४५ स्कोर गरेका थिए । यस समूहमा इन्डोनेसियाका ह्यारिसले स्वर्ण पदक जिते । उनले मकाउका हाङ जुहानुलाई झिनो अन्तरले पछि पार्दै स्वर्ण जिते । हाङले रजत जित्दा ९.७४ स्कोर गरे । तेस्रो स्थान (कांस्य पदक) दक्षिण कोरियाका योगमानले जिते । उनले ९.३६ अंक जोडे । दीपकले प्रतिस्पर्धा गरेको इभेन्ट्समा २० खेलाडी थिए । 

 गोविन्दको मिश्रित प्रदर्शन
एसियाडको इतिहासमा नेपालको उत्कृष्ट नतिजा निकालेको खेल तेक्वान्दो हो । सन् १९९८ सविता राजभण्डारीले नेपाललाई ऐतिहासिक रूपमा रजत पदक दिलाएकी थिइन् । दीपक विष्टले सन् २००२ र २००६ मा ब्याक टु ब्याक कांस्य दिलाएका थिए । दीपकपछि नेपाली तेक्वान्दो खेलाडीले नेपाललाई पदक दिलाउन सकेका छैनन् । यद्यपि, पछिल्ला तीन संस्करणमा तेक्वान्दोबाट पदक आशा गरिएको थियो । चीनको हाङझाउमा सञ्चालन भइरहेको एसियाडमा पनि पदक जित्ने खेलका रूपमा तेक्वान्दो पनि थियो । तर, प्रतियोगिताको चौथो दिन नेपाली खेलाडीले लगातार खराब प्रदर्शन गरिरहेका छन् । 

गोविन्दबहादुर आलेले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रिक्वार्टरफाइनलसम्म पुगे । उनी अन्तिम १६ को स्पर्धामा थाइल्यान्डका बानलुङसँग २–० ले पराजित भए । पहिलो चरणमा उनले बानलुङविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । उनी पहिलो राउन्डमा १४–१२ ले पछि परे । पहिलो चरणमा उनले हल्का गल्ती गर्दा अंक गुमाए । पहिलो चरणको अन्तिम सेकेन्डमा उनी डिफेन्समा जाँदा अंक गुमाए । आक्रामक खेल प्रस्तुत गरेका थाइल्यान्डका खेलाडीले आलेलाई कुनै मौका दिएनन् । 
दोस्रो चरण पनि प्रतिस्पर्धात्मक बन्यो । यस राउन्डमा उनी एक अंकले पछि पर्दा प्रतियोगिताबाट बाहिरिए । दोस्रो चरणमा आले ८–७ ले पछि परेका थिए । यसअघि उनले अन्तिम ३२ मा टिमोर लिस्टेका जोस दा कोस्टा सिल्भालाई रेफ्री स्टप कन्टेस्टका आधारमा पराजित गर्दै प्रिक्वार्टरफाइनल स्थान पक्का गरेका थिए ।

महिला ५३ केजीमुनिको अन्तिम १६ को खेलमा नेपालकी आयषा लामा दक्षिण कोरियाकी हाएजिन पार्कसँग २–० ले पराजित भइन् । आयषा पहिलो राउन्डमा १७–५ स्कोर गरेकी थिइन् । अन्तर्राष्ट्रिय खेलकी अनुभवी खेलाडी पार्कले आयषालाई दोस्रो राउन्डमा अंक बटुल्ने मौका नै दिइनन् । यो चरणमा पार्कले एकपक्षीय रूपमै खेल जित्न सफल भइन् । दोस्रो राउन्डमा पार्कले १३–० ले जित्दै आयषालाई बाहिर पठाइन् । महिला ५७ केजीमुनि प्रिक्वार्टरफाइनलमा सन्ध्याकुमारी सिंह विपक्षी खेलाडी आउनसँग २–० ले पराजित भइन् । सन्ध्या पहिलो राउन्डमा १४–० र दोस्रो राउन्डमा १७–३ ले पछि परिन् ।

यसअघि नै तेक्वान्दोका चार खेलाडी बाहिरिइसकेका छन् । पुरुष पुम्सेमा प्रेमबहादुर लिम्बू र महिला ग्योरोगीतर्फ अन्जली तामाङले एक–एक खेल जिते पनि त्यहाँबाट अगाडि बढ्न सकेनन् । अन्य खेलाडी भने पहिलो राउन्डमै पराजित भएका थिए । तेक्वान्दोबाट यसपटक नेपालका कुल ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा ७ खेलाडीको प्रतिस्पर्धा सकिइसकेको छ । अब तेक्वान्दोमा तीन पुरुष र एक महिला गरी चार खेलाडीको प्रतिस्पर्धा बाँकी छ ।

 जुडोका आठै खेलाडी बाहिरिए
एसियाडमा सहभागी नेपालका आठै जुडोका खेलाडीको यात्रा समाप्त भएको छ । नेपालबाट सहभागी खेलाडीमध्ये विकास विकले मात्र एक खेल जितेका थिए । यसबाहेक अन्य सात खेलाडी दोस्रो चरणसम्मै पुग्न सकेनन् । विकासबाहेक अन्य खेलाडीले विपक्षीविरुद्ध दुई मिनेटसम्म पनि चुनौती दिएनन् । प्रतियोगिताको मंगलबार जुडोका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जियोसन लिन्पु जिम्न्याजियममा पुरुष सय केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए ।

उनले काजाकिस्तानका गालिमजानसँग एक मिनेट सात सेकेन्डसम्म रिङमा प्रतिस्पर्धा गर्न सके । यसैगरी, महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा हारिन् । नेपाली खेलाडीमध्ये रिङमा सबैभन्दा कम समयमा आउट हुने आकृति रहिन् । उनी विपिक्षी रिनिताविरुद्ध २७ सेकेन्ड मात्र खेलिन् । जुडोबाट चार महिला र चारै पुरुष खेलाडीले भाग लिएका थिए । जुडोका सात खेलाडी पहिलो चरणबाट बाहिरिएका हुन् । 

 पौडीमा अनुसिया हिटबाटै बाहिर
पौडीको महिला सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिएकी छिन् । हाङझाउ स्पोर्टस् सेन्टरस्थित पौडीपोखरीमा तण्डुकार आफ्नो हिटमा तेस्रो भएकी थिइन् । हिट १ मा अनुसियाले निर्धारित दूरी एक मिनेट ०३.१७ सेकेन्डमा पूरा गरिन् । कुल ३० खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी २५औँ स्थानमा रहिन् ।

 टेनिसमा दोस्रो चरणसम्म
एसियाडअन्तर्गत नेपालले सहभागिता जनाएको अर्को खेल टेनिस हो । नेपालका सुनिरा थापा र प्रनभ खनालको जोडीले फिलिपिन्सका एलेक्स र फ्रान्सिस कासेविरुद्ध खेल्दा २–० को सीधा सेटमा पराजित भएका छन् । फिलिपिन्सका खेलाडीले नेपालका जोडीलाई केवल ३८ मिनेटमै पराजित गरे । पहिलो र दोस्रो सेट समान ६–० ले नेपाली टोली पराजित भयो । पहिलो सेट २१ मिनेट र दोस्रो सेट १७ मिनेटसम्म प्रनभको जोडीले कोर्टमा खेल्यो । 

 स्क्वासमा लगातार हार
प्रतियोगितामा स्क्वासमा नेपाली टोली स्वर्णपदक दाबेदार पाकिस्तानसँग एकपक्षीय रूपमा पराजित भएको छ । हाङझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा नेपाल पाकिस्तानसँग ३–० ले पराजित भयो । यसैगरी, पुरुष टिम पोल ‘ए’मा पाकिस्तानबाट ३–० ले हार्‍यो । यसैगरी, महिलातर्फ नेपाल मकाउबाट पनि ३–० ले पराजित भएको छ । 

ad
ad