मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
२०८० असोज १० बुधबार ०७:१९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डेंगुबाट एकै दिन तनहुँका दुई बालबालिकाको मृत्यु 

Read Time : > 1 मिनेट
२०८० असोज १० बुधबार ०७:१९:००

दमौली बजार डेंगुको हटस्पट, असारयता मात्र तनहुँमा चारजनाको मृत्यु

डेंगु संक्रमणबाट एकै दिन तनहुँका दुई बालबालिकाको पोखरामा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार ज्यान गुमाउनेमा व्यास नगरपालिका– २ की १४ वर्षीया बालिका र भानु नगरपालिका– १२ का पाँच वर्षीय बालक रहेका छन् । पाँच वर्षीय बालकलाई ज्वरो आएपछि दुई दिन दमौलीको रत्नहरि अस्पतालमा उपचार गरिएको थियो ।

तर, निको नभएपछि पोखरास्थित गण्डकी अस्पतालमा लगिएकोमा उपचारका क्रममा ज्यान गएको हो । १४ वर्षीया बालिकाको पनि दमौलीको निजी क्लिनिकमा उपचार गरिएकोमा थप उपचारका लागि पोखराको चरक मेमोरियल अस्पतालमा लगिएको थियो । डेंगुका कारण तनहुँमा असारयता मात्र चारजनाको ज्यान गइसकेको छ । यसअघि १६ असारमा व्यास– १० का ३५ वर्षीय पुरुष र २ असोजमा व्यास– ११ का १५ वर्षीय किशोरको ज्यान गएको थियो । 

तनहुँमा डेंगु संक्रमितको संख्या एक हजार नौ सय ९४ पुगेको छ । जसमध्ये व्यास नगरपालिकामा एक हजार ६ सय ५० रहेको जिल्ला स्वास्थ प्रमुख शंकरबाबु अधिकारीले बताए । पछिल्लो समय दमौली बजार डेंगुको हटस्पट बन्दै गएको छ । तनहुँमा ५ भदौदेखि डेंगु संक्रमण अझ बढी फैलिएको हो । दमौली बजार र आसपासका क्षेत्रमा संक्रमण बढी छ,’ उनले भने । अस्पतालमा आउने बिरामीको परीक्षण गराउँदा अधिकांशमा डेंगु पजिटिभ भेटिएको दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले बताए ।

स्वास्थ्यकर्मीको टोली दमौली आउँदै
डेंगु संक्रमण फैलिएपछि काठमाडौं र पोखराबाट दमौलीमा चिकित्सकसहित स्वास्थ्यकर्मीकोे टोली आज आउने भएका छन् । दमौलीमा लार्भा खोजेर नष्ट गर्ने अभियान चलाए पनि प्रभावकारी बन्न सकेको छैन । एकै दिन दुई बालबालिकाको ज्यान गएपछि मंगलबार जिल्ला समन्वय समितिको आह्वानमा सर्वदलीय बैठक बसेको छ । सहभागीले तत्कालै समस्या समाधानमा जुट्न सबैलाई आग्रह गरेका छन् ।