१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o६:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:२६:oo

एसियाली खेलकुदमा सहभागी हुन भारोत्तोलन टोली आज चीनको हाङझाउ सहर जाँदै छ । नेपालले भारोत्तोलनमा पहिलो खेल ३० तारिखमा खेल्नेछ । यस दिन नेपाल प्रहरीकी टीकामाया गुरुङले महिलातर्फ ५५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । नेपालबाट भारोत्तोलनमा पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

पुरुषतर्फ ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट र १ सय ९ केजी प्लसमा सागर भण्डारीले प्रतिस्पर्धा गर्दै छन् । त्यस्तै, महिलातर्फ ५५ केजीमा नेपाल प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरीले प्रतिस्पर्धा गर्दै छन् । उनीहरूले केही समयअघि मात्रै साउदी अरेबियाको रियादमा भएको विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । रियादमै प्रशिक्षण गरेका खेलाडीहरू विश्व च्याम्पियनसिपको अनुभव आफ्ना लागि महत्वपूर्ण रहेको बताउँछन् । 

उक्त प्रतियोगितामा कञ्चनपुरका विकास र सागरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । पुरुष ८१ केजीमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीनवटा रेकर्ड राखे । उनले स्न्याचमा १ सय २४ केजी, क्लिन एन्ड जर्कमा १ सय ४८ केजी र समग्रमा २ सय ७२ केजी तौल उचालेका थिए । यसपटक आफ्नो पुरानो प्रदर्शन सुधारेर नयाँ कीर्तिमान बनाउने उनको लक्ष्य छ ।

सागरले पनि स्न्याचतर्फ १ सय २८ केजी, क्लिन एन्ड जर्कमा १ सय ६३ र समग्रमा २ सय ९१ केजी भार वहन गरेका थिए । यो पनि राष्ट्रिय कीर्तिमान थियो । यसलाई सुधार गर्दै एसियाडमा ३ सय केजी तौल भार वहन गर्ने उनको लक्ष्य छ । अन्य खेलाडीले पनि आफ्नो प्रदर्शन सुधार गर्दै राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यसहित कडा अभ्यास गरेका छन् ।

‘विश्व च्याम्पियनसिपमा खेलाडीहरूले गरेको प्रदर्शनले हामीलाई आशावादी बनाएको छ । आयोजक चीन, इजिप्ट, इरान, उत्तर कोरिया, दक्षिण कोरिया, जापानलगायत पावरहाउस देशहरू समावेश प्रतियोगितामा पदक जित्न सहज हुँदैन । तर, हाम्रा खेलाडी आफ्नो प्रदर्शन सुधारेर नयाँ राष्ट्रिय कीर्तिमान बनाउन केन्द्रित छन् । त्यसका लागि कडा मिहिनेत गरिरहेका छन् र मलाई उनीहरूको मिहिनेतमा विश्वास छ,’ प्रशिक्षक जीवन गौतमले भने । नेपाली टोलीको व्यवस्थापकमा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ छन् । 

ad
ad