
अब स्वास्थ्यकर्मी र बिरामीका आफन्तले के कमजोरी गर्दा के कारबाही हुन्छ भन्ने व्यहोरा खुलाएर देशभरका स्वास्थ्य संस्थामा सूचनापाटी राखिने
पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दै गरेको भौतिक आक्रमणको विरोधमा डाक्टरहरू सडकमा उत्रिएका छन् । उपचारका क्रममा बिरामीको मृत्युपछि सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएकोमा डाक्टरहरू आन्दोलित बनेका हुन् ।
२७ भदौमा हेटौँडाको सञ्चो अस्पतालमा दुई डाक्टरमाथि आक्रमण भएको थियो । त्यसको एक हप्ता बित्न नपाउँदै मणिपालमा फेरि डाक्टरमाथि हातपात भएपछि चिकित्सकहरू सडकमा उत्रिएका छन् । उपत्यकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी सेतो एप्रोनसहित मंगलबार विरोधमा उत्रिए । उनीहरूले दिउँसो करिब तीन घन्टा माइतीघर क्षेत्रमा प्रदर्शन गरे । उनीहरूले अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाऊ, डाक्टर कुट्न पाइँदैनजस्ता नारा लेखिएको प्लेकार्ड बोकेर विरोध गरेका थिए । आक्रमणकारीलाई कारबाहीको माग गरेका उनीहरूले नभए थप आन्दोलन गर्ने र उपचार सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।
उपचारका क्रममा लमजुङको सुन्दरबजार नगरपालिका– ६ की ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले मणिपालका डाक्टर अनिल शाहमाथि हातपात गरेका थिए ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले कुनै पनि बहानामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्न नहुने बताउँदै त्यस्तो कार्य गर्नेविरुद्ध कडा कारबाही हुनुपर्ने माग गरे । ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरू कुटिने अवस्थाले स्वास्थ्य क्षेत्रमा काम गर्न कठिन हुन्छ,’ उनले भने, ‘दोषीलाई कारबाही हुनुपर्छ ।’
त्यस्तै, चिकित्सकमाथि भएको आक्रमणको घटनाप्रति नेपाल मेडिकल काउन्सिलले पनि आपत्ति जनाएको छ । मंगलबार विज्ञप्तिमार्फत काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । स्वास्थ्य उपचारका क्रममा चिकित्सकले लापरबाही गरी कुनै घटना भए उजुरी दिन आग्रह गर्दै काउन्सिलले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ । ‘नेपाल मेडिकल काउन्सिलमा उजुरी नगरी चिकित्सकउपर भौतिक आक्रमण गर्ने कार्यले कसैलाई पनि हित नगर्ने हुँदा पीडित पक्षले यस काउन्सिलमा उपस्थित भई वा अन्य माध्यमबाट आफूलाई परेको असरबारे जानकारी गराउन काउन्सिल अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘बिरामीहरूको दुखद निधनको विषयलाई लिएर चिकित्सकहरूमाथि भौतिक रूपमा आक्रमण गर्ने गरी भएको घटनाप्रति नेपाल मेडिकल काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ ।’ त्यस्ता घटनाको छानबिन भइरहेको उल्लेख गर्दै चिकित्सकमाथि कुनै प्रकारको आक्रमण नगर्न तथा स्वास्थ्य उपचार गर्ने स्थललाई शान्ति र भयरहित बनाउन काउन्सिलले अपिल गरेको छ ।
आक्रमणकारीलाई कारबाही गर्ने गृह र स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
गृह र स्वास्थ्य मन्त्रालयले मणिपालका डाक्टरमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण जनाउँदै संलग्नलाई कारबाही गर्ने जनाएका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका हुन् ।
‘चिकित्सकको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।’
उनले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह गरे । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शारीरिक आक्रमणको घटनामा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही अगाडि बढने उनको भनाइ छ ।
स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि दुव्र्यवहार र आक्रमणको घटना बढ्दै जाँदा अराजक स्थिति सिर्जना हुने भएकाले वेलैमा सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा सरोकारवालासँग छलफल गरिएको बताए । ‘स्वास्थ्यकर्मीमाथि भएको घटनाका दोषीलाई कारबाही हुन्छ,’ उनले भने, ‘यसमा गृहसँग मिलेर कदम चालिसकेका छौँ ।’
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले सरकारले चिकित्सकको अभिभावकत्व ग्रहण गर्दै ढुक्क भएर काम गर्ने वातावरण बनाइदिनुपर्ने माग गरे । ‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई चिकित्सक तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्नुपर्छ,’ उनले भने, ‘यदि सुरक्षित वातावरण भएन भने कसरी काम गर्ने ?’
अब देशभरका स्वास्थ्य संस्थामा सूचनापाटी
अब देशभरका सबै स्वास्थ्य संस्थामा जानकारीमूलक सूचनापाटी राखिने भएको छ । गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सरोकारवाला पक्षको मंगलबार बसेको बैठकले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा भौतिक आक्रमण गरेको अवस्था तथा चिकित्सक र स्वास्थ्यकर्मीबाट उपचारका क्रममा कमजोरी गरेको भए कारबाही गर्ने ऐनको प्रावधानबारे जानकारीमूलक सूचनापाटी राख्ने निर्णय गरेको हो ।
सूचनापाटी स्वास्थ्य तथा जनसंख्या मन्त्रचालयले राख्नेछ । त्यसमा स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गर्दा के कारबाही हुन्छ भन्नेबारे पनि सचेतनामूलक जानकारी राखिनेछ । ‘कुनै उपचाररत बिरामीको पक्षलाई ठीक ढंगले उपचार नभएको वा कमजोरी भएको भन्ने लाग्यो भने त्यसबारेमा अनुसन्धान गर्ने ठाउँ छ, बिरामी पक्षका तर्फबाट उजुरी गर्यो भने अनुसन्धान हुन्छ, चिकित्सक तथा स्वास्थ्यकर्मीबाट गल्ती भएमा कारबाही हुने प्रावधान सोही ऐनमा छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण वा स्वास्थ्य संस्थामाथि आक्रमण गर्यो भने त्यही ऐनको प्रावधानअनुसार कारबाही र सजाय हुन सक्नेछ भन्ने व्यहोराको जानकारी छिट्टै स्वास्थ्य मन्त्रालयले राख्नेछ ।’